कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी योजना अलपत्र

राजबहादुर शाही

मुगु — खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्डबोर्ड) बाट सञ्चालित जिल्लाका एक दर्जन खानेपानी योजना अलपत्र परेका छन् ।

विश्व बैंकको आर्थिक सहयोगमा फन्डबोर्डले जिल्लामा सुरु गरेका खानेपानी योजना सम्पन्न नभएपछि स्थानीयलाई खानेपानी अभाव भएको छ ।


फन्डबोर्डले ग्रामीण सामुदायिक विकास केन्द्र र जनकल्याण ग्रामीण विकास तथा अनुसन्धान केन्द्रसँग २०७३ सालमा साझेदारी गरेर योजना सुरु गरिएको थियो । जनकल्याणद्वारा निर्माण सुरु गरिएका शोभा, कालै, रारा गिलाहा र गम्थाका खानेपानी योजना अलपत्र परेका छन् ।


त्यस्तै ग्रामीण सामुदायिक विकास केन्द्रले सञ्चालन गरेका मुन्दु, बालचौर, कम्फा, मह, खनाया, तलिबाडा, नार्थपु मुसिनमेला र गम्था रास्कोटीबाडाका खानेपानी योजना एक वर्षदेखि अलपत्र छन् । दर्जन योजना अलपत्र परेपछि करिब चार हजार घरधुरी खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।


कार्यान्वयन चरणको सम्झौताअनुसार दोस्रो किस्ताको रकम फन्डबोर्डले निकासा नगर्दा योजना लथालिंग अवस्थामा परेका हुन् । एक वर्षदेखि योजनाको रकम नआएको जनकल्याण ग्रामीण सामुदायिक विकास केन्द्रका अध्यक्ष पदमबहादुर रावलले बताए ।


उनले पटकपटक अधुरा योजनाको रकम निकासा गर्न माग गरे पनि बेवास्ता भइरहेको जनाए । प्रथम किस्ताको रकम निकासा भएपछि आरबीटी ट्यांकी निर्माण र पाइपलाइन विस्तारको काम भइसकेको उनको भनाइ छ । ‘अब घरघरमा धारा विस्तार गर्ने काममात्र अधुरो छ,’ उनले भने, ‘अधिकांश काम सकिए पनि दोस्रो किस्ताको रकम एक वर्षदेखि रोकिएको छ ।’ उनले दोस्रो किस्ताको करिब ४५ लाख रकम निकासा नभएको जनाए ।


रकम अभावमा आठ खानेपानी योजना अलपत्र परेको ग्रामीण सामुदायिक विकास केन्द्रका कार्यप्रबन्धक जर्मन नेपालीले बताए । २०७४ फागुनमै सम्पन्न हुने योजना अहिलेसम्म अधुरै रहेको उनको भनाइ छ । समयमा योजना सम्पन्न हुन नसक्दा लाभान्वित समुदाय समस्यामा परेको उनले जनाए ।


दोस्रो किस्ताको रकम नआउँदा घरघरै धारा विस्तार गर्ने काम अधुरो रहेको रारा गिलाहा खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयबहादुर शाहीले बताए । उनले योजना पूरा नहुँदा उपभोक्ताको कचकच आफूहरूले सुन्नुपरेको गुनासो गरे ।


दोस्रो किस्ताको रकम निकासा नहुँदा साझेदारी संस्थाका करिब दुई दर्जन कर्मचारीले गत फागुन महिनादेखि तलब खान पाएका छैनन् । समयमा तलब नपाउँदा कर्मचारी बेखर्ची बनेको नेपालीको भनाइ छ ।

प्रकाशित : पुस ३, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?