कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुविधासम्पन्न अस्पताल भवन बन्दै

मुगु — २५ शय्याको जिल्ला अस्पतालको सुविधासम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोइकाको ४३ करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माणाधीन भवनको करिब ७० प्रतिशत काम पूरा भएको जिल्ला अस्पतालले जनाएको छ । 

भवन निर्माणको काम सम्पन्न भएपछि स्थानीयले सुविधासम्पन्न भवनबाट उपचार सेवा पाउनेछन् । साउन २८ गतेदेखि निर्माणको काम थालिएको थियो । लुम्बिनी बिल्डर्सले गरिरहेको निर्माणको काममा अब फिनिसिङको काम मात्र बाँकी छ ।


भवनको स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ भने भित्री भागको फिनिसिङ, रंगरोगन, पर्खाल, पानी ट्यांकीलगायत काम धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ । १० महिनाको अवधिमा ७० प्रतिशत काम सकिएको कोइकाका इन्जिनियर मक्रबहादुर स्वाँरले बताए ।


उनका अनुसार २०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भइरहेको हो । तीनतले अस्पताल भवनमा ६० कोठा निर्माण गरिने उनको भनाइ छ । उनले अपाङ्गमैत्री, पर्याप्त शौचालय, बगैंचा र पर्याप्त पार्किङ सुविधासहितको भवन निर्माणको काम भइरहेको जनाए । भवन निर्माणमा २३ करोड र २० करोड रुपैयाँ उपकरणमा खर्च हुने उनले जानकारी दिए ।


शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्न कोइकाले अस्पताल निर्माण थालेको जिल्ला अस्पतालका डा. डबल मल्लले बताए । कोइकाका अनुसार अस्पताल भवन भूकम्पप्रतिरोधी हुनेछ । अस्पतालको चारैतिर पर्खाल, विद्युत्, सञ्चार र पानीको भरपर्दो व्यवस्था मिलाइने कोइकाले जनाएको छ ।

प्रकाशित : पुस ३, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?