कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ड्राइभिङ छोडेर भैंसीपालन

करिश्मा चौधरी

वीरेन्द्रनगर — वीरेन्द्रनगर–१४, राम्रीकाँडाका डिलबहादुर खत्रीले ११ वर्षसम्म गाडी चलाए । अरूको काम गरेर सन्तुष्टि र मनग्गे आम्दानी नभएपछि उनले अहिले भैंसीपालन व्यवसाय सुरु गरेका छन् ।

ड्राइभिङ छोडेर भैंसीपालन

भैंसीपालनबाट राम्रो कमाइ भएपछि करिव डेढ वर्षदेखि उनी आफ्नै व्यवसायमा रमाइरहेका छन् ।


भैंसीपालनमार्फत मासिक ६० देखि ७५ हजारसम्म कमाइ गरिरहेको उनको भनाइ छ । ४२ वर्षीय खत्रीले भैंसी पाल्न सुरु गरेको १६ महिनामात्रै भयो । ११ वर्षसम्म अरूको काम गर्दा पाउन नसकेको सन्तुष्टि छोटो समयमै आफ्नो व्यवसायबाट पाएको उनले बताए ।


‘अरूको भनाइ खाएर काम गर्दागर्दै थाकेर आफ्नै व्यवसाय सुरु गरेँ, अहिले यसैमा खुसी छु,’ उनले भने, ‘दिन–रात काम गर्दा पनि घरखर्च धान्न मुस्किल हुन्थ्यो ।’ घरमा पहिलेदेखि नै एउटा भैंसी पाल्ने गरेकोमा भैंसीको संख्या थपेर व्यावसायिक बनाएको उनको भनाइ छ ।


उनको फार्मबाट दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । दूधका लागि बजारको समस्या नभएपछि उनी थप उत्साही छन् । दूध, दही र घिउबाट मासिक एक लाख आम्दानी गर्न सफल भएको उनी बताउँछन् ।


खत्री आफ्नो ईश्वर भैंसी फार्ममा पत्नी गंगासँगै दिनभरजसो व्यस्त हुन्छन् । व्यवसायबाट राम्रो आम्दानी भइरहेको गंगाले बताइन् । ‘आफूले एउटा भैंसी पाल्ने र पतिले गाडी चलाउँदा दु:ख अहिलेको जस्तै भए पनि यसअघि घर चलाउन गाह्रो थियो,’ उनले भनिन्, ‘अहिले सन्तुष्टि पनि छ र कमाइ पनि ।’ खत्री दम्पती बिहान सबेरैदेखि राति अबेरसम्म भैंसी फार्ममा व्यस्त देखिन्छन् ।


खत्री दम्पतीले भैंसीपालन सुरु गरेपछि विभिन्न कार्यालयबाट अनुदान पाए । जिल्ला पशु सेवा कार्यालयबाट भकारो सुधारका लागि ३० हजार, वडा कार्यालयबाट घाँस–पराल काट्ने मेसिनका लागि ३० हजार र घरेलु तथा साना उद्योग विकास समितिबाट ३० हजार रुपैयाँ अनुदान पाएको उनले बताए ।


किडार्क नेपालबाट भैंसी खरिदका लागि ८० हजार अनुदान र भैंसीपालनको तालिम पाएपछि उनलाई व्यावसाय गर्न थप बल मिलेको छ । आफ्नो व्यवसायबाट सन्तुष्ट रहे पनि विभिन्न समस्या झेल्नुपरेको डिलबहादुरले बताए । पानी, यातायात तथा पशु प्राविधिकको समस्या आफ्नो फार्ममा रहेको उनी गुनासो गर्छन् ।

प्रकाशित : पुस १३, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?