कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टाटा सुमोबाट यात्रु पीडित

करिब ९ बजेतिर ‘यो गाडी रिजर्भ जाने भो, तपाईं अर्को गाडी खोज्नुहोस्’ भन्दै चालकले सिंहलाई गाडीबाट झारिदिए
भीमबहादुर सिंह

जाजरकोट — पुस ८ गते कुशे गाउँपालिका ५, का नवीन सिंह नेपालगन्जबाट घर फर्कंदै थिए । पढ्न बसेका उनी घर फर्कनका लागि गाडी खोज्दै बिहान साढे ५ बजे नेपालगन्ज बसपार्क पुगे ।

टाटा सुमोबाट यात्रु पीडित

उनले बसपार्क छेउमा भे१ज ७१५ नम्बरको टाटा सुमो जिप फेला पारे । सिंहले खुसी हुँदै गाडी चालकलाई ‘अघिल्लो सिट छ ?’ भनेर सोधे । चालकले सिंहको मोटोपना देखेर अगाडि छैन, जाने भए पछाडि छ भन्ने जवाफ फर्काए । गाडीको अघिल्लो सिट भने खाली नै थियो । खुट्टा दुख्ने समस्याका सिंहले पछाडि बस्न नसक्ने भन्दै अर्को गाडीको खोजीमा हिँडे ।


उनी बसपार्कको काउन्टरमा पुगे । काउन्टरमा ठीक ६ बजे भे१ज ७३३ नम्बरको खाली टाटा सुमो जिप आइपुग्यो । सिंहले ‘जाजरकोट जान्छ ?’ भनेर सोध्न नपाउँदै चालकले जान्छ जान्छ बस्नुहोस् भन्दै ढोका खोले र सिंह उक्त गाडीको पहिलो सिटमा बसे । चालकले साढे ६ बजे नेपालगन्जबाट हिँड्ने सुनाए । तर गाडी दुई घण्टा बित्दासमेत हिँडेन । करिब ९ बजेतिर ‘यो गाडी रिजर्भ जाने भो, तपाईं अर्को गाडी खोज्नुहोस्’ भन्दै चालकले सिंहलाई गाडीबाट झारिदिए ।


सनराइज यातायात समितिबाट जाजरकोटका लागि सञ्चालित टाटा सुमो जिपमा यो प्रतिनिधि घटना हो । जाजरकोट–नेपालगन्ज आवतजावत गर्ने सिलसिलामा सनराइज गाडीबाट यात्रु पीडित बन्दै गएका छन् । मनोमानी भाडा लिने, क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई बीचमै अलपत्र पार्ने, रिजर्भमात्र जान खोज्ने, १० जना यात्रु नपुगे गन्तव्यतर्फ नजाने, तीव्र गतिमा गुडाउनेलगायतका चालकका व्यवहारले यात्रु् पीडित बनेका हुन् ।


सनराइज समितिका जिपले यात्रुलाई सास्ती दिने गरेको स्थानीय प्रकाश शाहीले बताए । भाडा मनोमानी उठाउने, रिजर्भमा मात्र जाने, पूरा यात्रु नभए नहिँड्नेलगायत कारण यात्रुलाई मर्का पारेको उनले बताए । जाजरकोट खलंगादेखि सल्लीबजार, छिन्चु र नेपालगन्जसम्मको भाडा ६ सय नै लिने गरी अन्याय गरेको उनले बताए । गाडी खाली भए पनि बीच बाटोमा अलपत्र परेका यात्रुलाई नचढाउने गर्दा थप समस्या भएको उनको भनाइ छ ।


एक जना क्षमताको अघिल्लो सिटमा जबर्जस्ती दुई जना राखेर ल्याउनका लागि मोटो मान्छेलाई अगाडिको सिट खाली छैन भन्दै टार्ने गरेको उनले बताए । सनराइजको टाटा सुमोले दूरीको हिसाबले होइन, सिटको आधारमा भाडा लिने गरेको शाही बताउँछन् । ‘यात्रुहरू छिटो पुग्ने निहुँमा टाटा सुमो चढ्न खोज्छन्,’ उनले भने, ‘तर तीव्र गतिमा कुद्ने टाटा सुमोको यात्रा जोखिम पनि उत्तिकै छ ।’


टाटा सुमोका चालकको व्यवहारका कारण साना गाडी चढ्न छाडेको खलंगाका प्रेम नेपालीले बताए । भाडा पनि महँगो, गति पनि तीव्र, बिरामी, वृद्धवृद्धा र अपांगको बेवास्तालगायत कारण ठूलो बस चढेरै जानु ठीक भएको उनले बताए । तीव्र गति र चालकको हेलचेक्र्याइँको कारण छिन्चु–जाजरकोट सडकमा डेढ/दुई वर्षको अवधिमा दर्जन टाटा सुमो दुर्घटनामा परेको उनले बताए ।


टाटा सुमोले भाडा मनोमानी लिँदा, तीव्र गति गुडाउँदा र क्षमताभन्दा बढी यात्रु राख्दासमेत सम्बन्धित पक्ष कानमा तेल हालेर बसेको उनले बताए । जाजरकोटदेखि नेपालगन्ज, सुर्खेतलगायत स्थानतर्फ काँक्रेविहार, मध्यपश्चिम, सनराइज, भेरी गंगा, भेरी राप्ती, जाजरकोट प्रालि, नमस्तेलगायत व्यवसायी समितिका गाडी सञ्चालन हुने गरेका छन् ।

प्रकाशित : पुस १५, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?