कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समृद्धिका ३ आधार पानी, पर्यटन र कृषि

धनगढी — एक दशकयता विकासको मुख्य पूर्वाधार यातायात सञ्जालको तीव्र विकास भइरहेको प्रदेश ७ मा समृद्धिका मुख्य तीन आधार रहेको विज्ञहरू औंल्याउँछन् । उनीहरूका अनुसार पानी (जलविद्युत्), कृषि र पर्यटन विकासले यो प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । 

‘पानी नै हाम्रो समृद्धिको प्रमुख आधार हो,’ प्रदेश ७ मा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रबाट सर्वसम्मत सिफरिस भएका डोटीका प्रदेशसभा सदस्य त्रिलोचन भट्ट भन्छन्, ‘पानी मात्र प्रयोग गर्न सके यो प्रदेश सबैभन्दा माथि उठ्न सक्छ ।’ उनले आधा समाज उत्पीडनको चपेटामा रहेको प्रदेशमा अझै सरकारको अनुभूति गर्न नपाएको अवस्थामा परिवर्तन ल्याउनुपर्ने बताए  यो प्रदेशमा महाकाली, कर्णाली, सेती, बूढीगंगा, सुर्नाया, बाहुलीगाडसहित दर्जनभन्दा बढी सानाठूला नदीबाट २० हजारभन्दा बढी मेगावाट बिजुली उत्पादन हुन सक्ने देखिन्छ ।

यो सम्भावना पहिल्याएको दशकौं भइसकेको छ । अहिलेसम्म २० मेगावाट बिजुली पनि उत्पादन हुन सकेको छैन । स्थानीय लगानीमा ठूला जलविद्युत् आयोजना निर्माण गर्न नसकिए पनि साना–साना जलविद्युत् योजनाबाट मात्रै ५ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता प्रदेश ७ सँग छ ।

त्यसैले यो प्रदेशको समृद्धिको पहिलो आधार जलविद्युत्लाई मान्ने गरिएको छ । पर्यटन र कृषिको अवस्था पनि भिन्न छैन । पञ्चेश्वर र पश्चिम सेती आयोजना अघि बढे मुलुककै ऊर्जा संकट अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा यो प्रदेश पुग्न सक्छ ।

मध्यपहाडबाट तीव्र बसाइँसराइ हुँदा ठूलो खेतीयोग्य भूभाग बाँझै छन् भने तराईका कैलाली, कञ्चनपुरमा खेतीयोग्य जमिन प्लटिङ गरी धमाधम बिक्री भइरहेको छ । खेती गरिएको कुल क्षेत्रफलमा उत्पादन हुने अन्नले मात्र यो क्षेत्रको पूर्ति हुन सक्ने स्थिति देखिँदैन । क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांकमा प्रदेश ७ को उत्पादन यस क्षेत्रका लागि पर्याप्त देखाइए पनि व्यवहारमा हरेक वर्ष १७ देखि २८ प्रतिशतसम्म खाद्यान्न आयात गरिन्छ ।

सुदूरपश्चिमको कुल उब्जाउ जमिन ३ लाख ३७ हजार हेक्टरमध्ये मध्यपहाडी क्षेत्रमा पर्ने ३४ प्रतिशत जमिनमा उत्पादन निकै कम हुन थालेको विज्ञहरू बताउँछन् । संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका एक अधिकारीले भने, ‘मध्यपहाडमा रहेको ३४ प्रतिशत खेतीयोग्य जमिनमध्ये २० प्रतिशत उब्जाउ फाँट एक दशकयता जंगलमा परिणत हुँदै गएको छ’ । ‘यो प्रदेशमा ५४ प्रतिशत सिँचाइ हुने जमिनमध्ये आधाभन्दा बढी बाँझै रहेको उनले सुनाए । ‘बसाइँसराइ बढेको र रोजगारका लागि जनशक्ति तेस्रो मुलुक जान थालेपछि कुनै समय खाद्यान्नमा आत्मनिर्भर यो प्रदेशमा विस्तारै खाद्य संकट बढेको छ,’ ती अधिकारीले भने ।

कृषिसँगै समृद्धिको अर्को प्रमुख आधार मानिएको पर्यटन क्षेत्रमा पनि यो प्रदेशमा अहिलेसम्म कुनै उल्लेख्य काम हुन सकेको छैन । कञ्चनपुरको शुक्लाफाँटा र कैलालीको विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल क्षेत्रबाहेक विदेशी पर्यटकलाई अन्य पर्यटकीय क्षेत्रमा लैजाने कुनै योजना अहिलेसम्म बन्न सकेको छैन । विदेशी पर्यटक भित्र्याउन सकिने खप्तड क्षेत्र र अपी हिमालजस्ता दुर्लभ पर्यटकीय क्षेत्रको विकासमा राज्यले अहिलेसम्म ध्यान दिएको छैन । यातायात दृष्टिले ठूलो पूर्वाधार तयार भइसक्दा पनि पर्यटक तान्न नसक्नु राज्यको यस क्षेत्रप्रतिको उदासीनता हो । आन्तरिक पर्यटक र भारतीय पर्यटक तान्न सकिने धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना यस प्रदेशमा छ । पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने विज्ञहरूले बताएका छन् ।

प्रकाशित : माघ २३, २०७४ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?