कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा मिलले उखु पाउँदैनन्

मिलको क्षमता प्रतिदिन २० हजार क्विन्टल उखु पेल्ने हो, तर १५/१६ हजार क्विन्टल मात्रै भइरहेको छ – भागेश्वर सुगर एन्ड केमिकल्स प्रालि पुनर्वास 
हामीले एक सिजनमा ८०/९० करोडको कारोबार गरिरहेका छौं । यदि आवश्यकताअनुसार उखु पायौं भने १ सय ५० करोडसम्मको करोबार गर्न सकिन्छ – महाकाली सुगर मिल, बेलौरी
भवानी भट्ट

कञ्चनपुर — राज्य पुन:संरचनासँगै यतिबेला प्रदेश सरकार गठनको प्रक्रियामा छ । हरेक प्रदेशमा समृद्धिका सम्भावनाहरू खोजी र चर्चा भइरहेको छ । विकास निर्माण तथा अन्य विभिन्न कुराले पछाडि रहेको प्रदेश ७ को समृद्धिको प्रमुख आधारका रूपमा कृषिलाई हेरिएको छ ।

कञ्चनपुरमा मिलले उखु पाउँदैनन्

खासगरी तराईका कैलाली र कञ्चनपुरको उर्वर भूमिलाई सदुपयोग गर्दै यस क्षेत्रमा विभिन्न किसिमका कृषि उद्योगहरू स्थापना गरेर कृषिमा आत्मनिर्भरसँगै रोजगारीसमेत सिर्जना गर्न सकिने कृषि प्राविधिकहरू बताउँछन् ।

कञ्चनपुरमा अहिले सञ्चालनमा रहेका २ वटा चिनी मिलबाट मात्रै पनि दक्षिणी क्षेत्रका कृषकहरू आत्मनिर्भरतातिर छन् । दुवै मिलमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १५ हजार बढीले मौसमी रोजगारी पाएका छन् । दुईवटै चिनी मिलको क्षमताअनुसार उखु उत्पादन गर्न सक्ने हो भने अझ बढीले रोजगारी पाउन सक्ने देखिन्छ ।

‘हामीले क्षमताअनुसार कहिल्यै उखु पाउँदैनौं,’ कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको भागेश्वर सुगर एन्ड केमिकल्स प्रालिका प्रशासन अधिकृत डम्मर खड्काले भने, ‘मिलको क्षमता प्रतिदिन २० हजार क्विन्टल उखु पेल्ने हो, तर १५/१६ हजार क्विन्टल मात्रै पाइन्छ ।’ उनका अनुसार मंसिरदेखि उखु क्रसिङको काम सुरु भएर चैतसम्म चल्ने भए पनि कच्चा पदार्थका कारण फागुनमै मिल बन्द हुने गरेको छ । भागेश्वर चिनी मिलले यो सिजनमा २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

कञ्चनपुरकै बेलौरी नगरपालिका क्षेत्रमा रहेको महाकाली सुगर मिलले पनि आवश्यकताअनुसार उखु पाएको छैन । एक दिनमा २५ हजार क्विन्टल क्रसिङ क्षमता भए पनि १९/२० हजार क्विन्टल मात्रै आउने गरेको मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले बताए । मंसिरदेखि चैत अन्तिमसम्म मिल चलाउन सकिने भए पनि उखु अभावका कारण फागुनमै बन्द गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘अहिले हामीले एक सिजनमा ८०/९० करोडको कारोबार गरिरहेका छौं,’ उनले भने, ‘यदि आवश्यकता अनुसार उखु पाउने हो भने १ सय ५० करोड करोबार गर्न सकिन्छ ।’ अहिले कञ्चनपुरमा ६ हजार हेक्टरमा उखु खेती भइरहेको छ । दुवै मिललाई आवश्यक पर्ने उखु उत्पादनका लागि १२ देखि १५ हजार हेक्टरसम्ममा उखु खेती गरिनुपर्ने उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरि ठकुरीले बताए । ‘अहिलेकै क्षेत्रफलमा उत्पादन दोब्बर पार्न सके पनि मिलहरूले आवश्यकता अनुसार उखु पाउँछन्,’ उनले भने, ‘यसका लागि उन्नत जातका बीउ बिजनसँगै मल, सिंचाइ र प्राविधिक सहयोग आवश्यक पर्छ ।’

प्रदेश ७ को कृषिको भण्डार मानिने कैलाली कञ्चनपुरमा उखु मिलसँगै कृषिमा आधुनिकीकरण गरेर उत्पादन वृद्धिसँगै अन्य कृषि उद्योगहरू स्थापना गर्न सकिने कृषि क्षेत्रमा संलग्न बताउँछन् । ‘दुईवटा मिलले मात्रै १५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ,’ भागेश्वरका खड्काले भने, ‘यस्तै ठूलठूला राइस, फ्लोर र तेल पेल्ने उद्योगहरू स्थापना भए अझ बढीले रोजगारी पाउन सक्छन् ।’

कञ्चनपुरमा करिब ३२ हजार हेक्टरमा गहुँ र ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यस्तै हालका वर्षमा तरकारी खेतीमा पनि कृषकको आकर्षण बढेको छ । दलहन तथा तेलहन खेतीमा पनि आकर्षण बढेको छ । ‘कञ्चनपुरमा अहिले चिनी मिलबाहेक कच्चा पदार्थको उपलब्धतालाई हेरेर दुईवटा ठुला राइस मिल र एक फ्लोर मिल सञ्चालन गर्न सकिन्छ,’ धान जोन कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत गोकुल बोहराले भने, ‘कच्चा पदार्थको उत्पादन बढाएर थप उद्योगहरूको सम्भावना पनि त्यत्तिकै छ ।’ यसले कृषकहरूका आयस्तर वृद्धिसँगै रोजगारीसमेत सृजना गर्न सकिनेछ । कृषि र पशुलाई जोडेर दाना उद्योगको सभ्भावना पनि त्यत्तिकै रहेको कृषि प्राविधिकहरू बताउँछन् ।

अहिले यहाँ उत्पादन भएको धान भारतबाटै मसिनो चामलको रूपमा आयात भइरहेको बोहरा बताउँछन् । यहाँ रहेका स–साना राइस मिलले गुणस्तरीय चामल उत्पादन गर्न सकेका छैनन् । यसका साथै ठुला चिउरा मिलसमेत सञ्चालन गर्न सकिने सम्भावना रहेको बोहराले बताए । ‘चैतेधान उत्पादन बढाएर सीधै चिउरा उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘चैतेधान खेती भित्र्याउन मौसमले साथ नदिने हुँदा सीधै चिउरा उद्योगमा बिक्री गर्न सकिने वातावरण मिलाउन सकिन्छ ।’

अहिले कञ्चनपुरमा धान र गहुँको उत्पादकत्व ३ देखि साढे ३ टन प्रतिहेक्टर छ । माटोको उर्वराशक्ति व्यवस्थापन, उन्नत जातका बीउ र प्रविधिको प्रयोगसँगै सिँचाइको व्यवस्थापन गरेर धान र गहुँको उत्पादकत्व बढाउन सकिने कृषि प्राविधिकहरू बताउँछन् । ‘जसरी कृषकलाई प्रोत्साहन गर्न विभिन्न किसिमका अनुदान तथा अन्य कार्यक्रमहरू छन्, त्यसरी नै कृषि उद्योग स्थापनाका लागि पनि अनुदान लगानी मैत्री वातावरण सृजना गरेर उद्योगी व्यवसायीलाई आकर्षित गरिनुपर्छ,’ बोहराको भनाइ छ ।

प्रकाशित : माघ २४, २०७४ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?