कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसै साता मुख्यमन्त्री, कर्मचारी छैनन्

प्रदेश सरकारका लागि २८७ जनाको दरबन्दी तर मंगलबारसम्म ३५ जना मात्रै
अर्जुन शाह

धनगढी — मुख्यमन्त्रीको नियुक्ति यही साता हुने भए पनि प्रदेश मन्त्रालयमा खटाइएका कर्मचारीहरू हाजिर भएका छैनन् । कर्मचारीहरू तोकिएको स्थानमा समयमै हाजिर नहुँदा विभिन्न मन्त्रालयको स्थापना, स्तरोन्नति तथा अन्य व्यवस्थापनमा बाधा उत्पन्न भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए । 

प्रदेश सरकार सञ्चालनका लागि २ सय ८७ जना कर्मचारीको अन्तरिम दरबन्दी सिर्जना गरे पनि मंगलबारसम्म ३५ जना मात्रै हाजिर भएका प्रमुख सचिव लक्ष्मीराम पौडेलले बताए । सभामुखको निर्वाचनपछि प्रदेशसभाका बैठकहरूसमेत नियमित सञ्चालन हुन थालिसकेका छन् । सभाले आउँदो आइतबार उपसभामुखको निर्वाचन गर्दै छ । सभामुखले सोमबार पदभार ग्रहण गरिसकेका छन् । योसँगै मुख्यमन्त्री तथा मन्त्रीहरूको नियुक्तिसँगै थप कर्मचारी आवश्यक पर्छ ।

वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री हुने यसअघि नै पक्का भइसकेको छ । एमाले सांसद तारालामा तामाङका अनुसार बुधबार बस्न लागेको वाम गठबन्धनको संयुक्त बैठकपछि संवैधानिक प्रक्रियाअनुसार मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नेछ । उनका अनुसार मुख्यमन्त्रीसँगै केही मन्त्रीहरूले समेत सोही दिन पदभार ग्रहण गर्नेछन् । मन्त्रालय बाँडफाँटबारे एमाले र माओवादीबीच टुंगो लागेको छैन ।

दुई मन्त्रालय कर्मचारीविहीन

मुख्यमन्त्रीको कार्यालयसहित ७ वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र संसद् सचिवालयमा हाजिर नभएपछि काममा अलमल भएको प्रमुख सचिव पौडेल बताउँछन् । आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालयमा हालसम्म एक जना कर्मचारीसमेत हाजिर भएका छैनन् । ‘ताकेता गरेको गर्‍यै छु,’ प्रमुख सचिव पौडेलले भने, ‘मन्त्रिमण्डल गठन हुँदासम्म खटाइएका कर्मचारी आइपुग्लान् भन्ने विश्वास छ ।’ अहिलेसम्म भने खासै काम नरोकिएको उनी बताउँछन् । विभिन्न मन्त्रालयअन्तर्गत तोकिएका कर्मचारीहरू मन्त्रिमण्डल गठनका लागि पर्खिरहेको भए पनि त्यो समयसमेत धेरै छैन । ‘अबको तीन दिनभित्र पनि कर्मचारी आएनन् भने काम लथालिंग हुन्छ,’ प्रमुख सचिव पौडेलले भने । ७ वटा मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालयमा हालसम्म एक जना कर्मचारी पनि हाजिर नभएको पौडेलले बताए ।

पदभार ग्रहण गरिसकेका पदाधिकारीहरू भने कर्मचारीहरूले निर्वाह गरिरहेको जिम्मेवारीप्रति असन्तोष व्यक्त गर्न थालिसके । सोमबार शपथ लिएका सभामुख अर्जुनबहादुर थापालाई आवासको बन्दोबस्त नभएर गेस्टहाउसमा राखिएको थियो । ११ जना सुरक्षाकर्मीसहित झन्डै २० जना सभामुखका वरिपरि रहनेछन् । ‘स्रोत हुँदाहुँदै पनि व्यवस्थापन नगर्नु सम्बन्धित निकायको लापरबाही हो,’ सभामुखको पारिवारिक स्रोतले भन्यो ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?