कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ करोड लगानीमा सुविधायुक्त होटल

वसन्तप्रताप सिंह

बझाङ — सदरमुकामको चहलपहल स्थानीय तहमा सर्दै गएका बेला धेरैजसो व्यापारी तथा होटल व्यवसायीसमेत स्थानीय तहका केन्द्रतिरै सर्ने सुरसारमा छन् । तर एकजना युवा व्यवसायीले भने बझाङ सदरमुकाम चैनपुरमा करिब ५ करोड लगानीमा भव्य होटल निर्माण गरेर सञ्चालनमा ल्याएका छन् ।

५ करोड लगानीमा सुविधायुक्त होटल

लामो समय जर्मनीमा बसेर होटलसम्बन्धी काम गरेका जयपृथ्वी नगरपालिका ९ का नगेन्द्र खडकाले चैनपुरमा करिब ५ करोड लगानीमा सुविधासम्पन्न होटल स्थापना गरेका हुन् । ‘होटल होलिडे इन’ नाम दिइएको उक्त होटलले मध्यम आय भएकादेखि सम्भ्रान्त वर्गका ग्राहकको चाहनाअनुसार सुविधा दिने सञ्चालक खडकाको दाबी छ ।

सदरमुकाम चैनपुरमा स्तरीय होटलबासको सुविधा नपाएर सास्ती भएको गुनासो गर्ने धेरै छन् । जिल्ला बाहिरबाट आउने पाहुनाले यहाँका होटलमा पाहुनामैत्री व्यवहारसमेत नभएको गुनासो गर्दै फर्किएको पनि सुनिँदै आएको हो । ‘यही अवस्थालाई मध्यनजर गर्दै होटल व्यवसायमा ठूलो लगानी गरेको हुँ,’ खडकाले भने, ‘पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको बझाङमा अहिलेका लगानीले भविष्यमा राम्रै नाफा आउला भन्ने आस गरेको छु ।’ बझाङमै सबैभन्दा ठूलो रहेको उक्त होटलमा वातानुकूलित रेस्टुरेन्ट र सभाहल रहेको होलिडे इनमा १८ वटा सुत्ने कोठा छन् जसमा ४ वटा वातानुकूलित सुपरडिलक्स रुम र ४ वटा वातानुकूलित डिलक्स रुम छन् । अन्य १० वटा कोठामा पनि चौबिसै घण्टा तातोचिसो पानी, टेलिभिजन र तीव्र गतिको इन्टरनेटसहितको सुविधाजनक शयनकक्षको व्यवस्था रहेको प्रबन्धक रोशनी लामाले बताइन् ।

विशिष्ट श्रेणीका पाहुनाका लागि एकवटा वातानुकूलित सुइटसमेत निर्माण गरिएको छ । दुर्गम जिल्लामा यस तहको लगानी र व्यवस्थापन गरिएको होटलमा आउने पाहुनाले फर्किने बेला राजधानीका अत्याधुनिक तारेहोटल बराबर सेवा दिएको सुनाएर फर्किने गरेको प्रबन्धक लामाले बताइन् । होटलले साउनाबाथको सुविधासमेत उपलब्ध गराएको छ । यस होटलमा हाल १५ जनाले विभिन्न पदमा प्रत्यक्ष रोजगार पाएका छन् ।

‘अब सधैं दुर्गमको पहिचान बेचेर मात्र हुँदैन । हामीले केही नयाँ काम पनि गर्नुपर्छ भन्ने सोचले यो लगानी गरेको हुँ,’ होटल सञ्चालक नगेन्द्र खडकाले भने, ‘बझाङमा गतिलो होटल पाइएन भन्ने गुनासो अब कसैले गर्नु पर्दैन ।’ जिल्लामा हाल आइरहेका र भविष्यमा आउने पर्यटकलाई लक्षित गरेर होटल खोलिएको उनले बताए । बझाङमा दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू कार्यरत छन् । यसका अलावा यार्सागुम्बा तथा अन्य जडीबुटी व्यापारको समेत यो जिल्ला केन्द्र भएकाले नेपाल तथा चीनका व्यापारी पनि बझाङ ओहोरदोहोर गरिरहन्छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?