कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवार धान्न अटो रिक्साको भर

भवानी भट्ट

कञ्चनपुर — ३८ वर्षीया गोमादेवी डगौराले करिब एक दशक सीमावर्ती बजार वनबासाबाट साइकलमा मालसामान ढुवानी गरिन् । वनबासादेखि महेन्द्रनगरसम्म मालसामान ढुवानीका क्रममा भारतीय व्यापारी, सुरक्षाकर्मी र सीमावारि पुगेपछि नेपाली सुरक्षाकर्मीको व्यवहार देखेर उनलाई ‘भोलिदेखि त यस्तो काम गर्दैन’ भन्ने लाग्थ्यो । तर विपन्न परिवार भएकाले गुजारा चलाउन उक्त काम गर्नुको विकल्प उनीसँग थिएन ।

परिवार धान्न अटो रिक्साको भर

दिनभरि ढुवानी गरेर साँझ–बिहानको छाकटार्न ठिक्क हुने अवस्था नहटेपछि उनले २ वर्षअघि विद्युतीय रिक्सा चलाउने सोच बनाइन् । तर भरखरै बजारमा आएको र चलाउन नजानेका कारण त्यति सजिलो थिएन । फेरि त्यतिबेलासम्म कुनै पनि महिलाले विद्युतीय रिक्सा चलाउन सुरु गरेका थिएनन् । ‘तैपनि मैले आँट गरेर किने र घरमै सिकें’ गंगाले भनिन्, ‘मैले एक/दुई दिनमै सवारी बोक्न थालें, त्यसपछि त धमाधम महिलाहरू पनि देखिन थाले ।’


महेन्द्रनगरमा विद्युतीय रिक्सा चलाउने उनी पहिलो महिला हुन् । अहिले करिब ७ सय रिक्सामध्ये महिलाले चलाउने २०/२५ जति छन् । विद्युतीय रिक्साबाटै उनले भीमदत्त नगरपालिका–१ भासीमा घडेरीका लागि जमिन किन्नुका साथै किराना पसल थापेकी छन् । ज्याला मजदुरी गर्ने श्रीमान् धनबहादुरलाई पनि स्वरोजगार बनाइन् । ‘मैले सामान ल्याइदिन्छु, श्रीमान् पसलमा बस्नुहुन्छ,’ उनले भनिन्, ‘छोराछोरीको पढाइ र घर खर्च पनि त्यसैबाट चलाएँ ।’ उनका छोराले १२ पास गरेका छन् भने छोरी स्टाफ नर्स भएकी छन् ।


विद्युतीय रिक्सा अलि पुरानो भएपछि उनले पेट्रोलबाट चल्ने अटो रिक्सा किनेकी छन् । बिहानैदेखि साँझ अबेरसम्मै उनी अटो रिक्सामा भीमदत्त नगरपालिकाको झोलुंगेदेखि ब्रह्मदेव हुँदै बजार क्षेत्रमा यात्रु बोक्दै हिँडेकी छन् । दिनमा एक/डेढ हजार आम्दानी पनि गरिरहेकी छन् । ‘विद्युतीय रिक्सा चलाउन थालेपछि आम्दानी बढेको हो,’ गंगाले भनिन्, ‘मालसामान ढुवानी गर्दा त खान लाउन र छोराछोरीको पढाइका लागि समेत पुग्दैनथ्यो ।’ साँझ बिहान घरको कामसंगै दिनमा अटो रिक्सा चलाएर घर परिवारको गुजारा चलिरहेको उनी बताउँछिन् ।


सुरुमा रिक्सा चलाउँदा गंगालाई केही अप्ठेरो भने लागेको थियो । मालसामान ढुवानीका क्रममा छाडा बेल्ने व्यक्तिहरू देखेर त्यस्तै यात्रु पनि पर्छन् कि भन्ने लाग्थ्यो । त्यही डरले उनी ५ नबज्दै घर फर्किन्थिन । तर २ वर्षको अवधिमा मदिरा सेवन गरेका यात्रुहरू बोक्नुपर्दासमेत हालसम्म दुव्र्यवहार खेप्नु नपरेको उनको अनुभव छ ।


‘पुरुषभन्दा महिलाले चलाएको रिक्सामा बढी बस्न खोज्ने पनि भेटिन्छन्,’ उनले भनिन्, ‘महिलाले बढी भाडा लिँदैनन् र भनेको ठाउमै पुर्‍याउँछन् भन्ने बुझाइ छ ।’ उनले इमानदार भएर काम गरे जुनसुकै ठाउँमा पनि स्थापित हुन सक्ने बताइन् । अहिले महेन्द्रनगरमा पुरुषभन्दा महिला रिक्सा चालकहरूले राम्रो आम्दानी गरिरहेको बताइन् ।


घरको कामसंगै रिक्सा चलाउने काम त्यति सजिलो नभएको यस क्षेत्रमा लागेका महिलाहरू बताउँछन् । ‘पुरुषहरू बिहानै झिसमिसेमै निस्किन्छन्, तर हामीले घरको सबै काम गरेर केटोकटी स्कुल पठाएर आउनुपर्छ,’ डेढ वर्षदेखि इरिक्सा चलाइरहेकी विन्दु सुवेदीले भनिन्, ‘तर पनि यात्रुहरू हामीमाथि बढी विश्वास गर्छन् ।’ उनले कतिपय यात्रुहरू फोन गरेर समेत बोलाउने गरेको बताइन् ।


विन्दुले पनि इरिक्साबाटै घर परिवारको गुजारा चलाएकी छन् । दिनमा सात/आठ सयदेखि एक/डेढ हजारसम्म आम्दानी हुने गरेको उनले बताइन् । बिहान अबेरसम्म घरकै काम र साँझ चाँडै फर्किनुपर्ने उनी बताउँछिन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?