कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औषधि खरिद प्राथमिकताबाहिर

तुर्माखाद र ढकारी गाउँपालिकामा औषधि अभाव
कान्तिपुर संवाददाता

अछाम — ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका ७० वर्षीय उज्जिरे साउद औषधि नपाएपछि ढुंगाचाल्ना स्वास्थ्य चौकिबाट निरास भएर घर फर्किए । टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने समस्या भएपछि उनी स्वास्थ्य चौकी गएका थिए । तर स्वास्थ्य चौकीमा सिटामोल समेत नभएको भन्दै स्वास्थ्यकर्मीले उनलाई रित्तै फर्काएपछि उनी निराश भए ।

औषधि खरिद प्राथमिकताबाहिर

आर्थिक वर्षको त्रैमासिक अवधिको औषधि माघ मसान्तभित्र आइपुग्नुपर्ने हो । तर अहिलेसम्म औषधि नआएपछि बिरामीलाई रित्तै फर्काउनुपरेको ढुंगाचाल्ना स्वास्थ्य चौकीका इज्चार्ज झक्कर विक महरले बताए । स्थानीय तहले औषधि खरिद गरेको छैन । ‘स्वास्थ्य चौकीमा अहिले सिटामोल पनि छैन,’ इन्चार्ज महरले भने, ‘सामान्य ज्वरो आएका बिरामीलाई समेत रित्तै फर्काउनुपरेको छ ।’

स्थानीय तहका जनप्रतिनिधिलाई औषधि अभाव भएको कुरा एक महिनाअगाडि जानकारी गराएको महरले बताए । ‘मंसिरदेखि औषधि खरिद गर्न भनिरहेका छौं । तर, कुनै चासो नदेखाएकाले समस्या आयो’ उनले भने, ‘सडक, खानेपानी, बिजुलीलगायतका ठूला योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ । औषधि किन्न भने वास्ता गरेको छैन ।’

ढकारी गाउँपालिकाका ६ वटा स्वास्थ्य चौकीमा औषधि अभाव भएको गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण शाहले बताए । सुत्केरी गर्भवती र बालबालिका औषधिको मारमा परेको बताउँदै उनले तत्कालका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट केही औषधि ल्याउने तयारी रहेको बताए ।

जनप्रतिनिधि आइसकेपछि स्थानीय तहले नै औषधि खरिद गर्नुपर्ने भएकाले ढिलाइ भएको ढकारी गाउँपालिकाका प्रमुख धनबहादुर बुढाले बताए । ‘स्वास्थ्य, शिक्षा, कृषि लगायतका सबै क्षेत्र गाउँपालिकाले हेर्नुपर्ने भएकाले अन्योल भएको छ,’ उनले भने, ‘अहिले गाउँपालिकामा कर्मचारी नभएकाले उनीहरू फर्केपछि बैठक बोलाएर औषधि किन्ने निर्णय गर्छौं ।’

यस्तै सदरमुकामदेखि ७० किलोमिटर टाढा रहेको तुर्माखाद गाउँपालिकाका ८ वटा स्वास्थ्य चौकीमा पनि औषधिको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झनक ढुंगानाले बताए । तुर्माखाद र ढकारी गाउँपालिकामा औषधिको चरम अभाव हुँदा तत्कालका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट अत्यावश्यक औषधि पठाइएको उनले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?