कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव बेचविखनमुक्त प्रदेश बनाउने प्रतिबद्धता

भवानी भट्ट

कञ्चनपुर — मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचविखनमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । उनले मानव बेचविखनजस्तो अपराध रोक्न कडा खालको कानुन बनाएर कार्यान्वयनमा समेत कडाइ गरिने बताए । 

‘प्रदेश ७ मा हुने चेलीबेटी बेचविखनलाई शुन्यमा झार्ने योजनासाथ अघि बढ्ने छौं’ शनिबार माईती नेपालले गरेको मानव बेचविखनविरुद्ध मेची–महाकाली जनचेतना अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै भट्टले भने, ‘यस्तै अपराध रोक्न हामी सबैले प्रण गर्नुपर्छ ।’ उनले प्रदेश सरकार गठनसंगै कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको अवस्थामा मानव बेचविखनविरुद्ध समेत कडा कानुन बनाइने बताए ।

‘कडा कानुन बनाएर त्यसलाई कडाइका साथ लागुसमेत गरिनेछ’ उनले भने, ‘प्रदेश ७ लाई मानव बेचविखन मुक्त नमुना प्रदेश बनाउन हामी लाग्ने छौं ।’ उनले बेरोजगारी, गरिबि र अशिक्षाका कारण समाजमा यस्तो समस्या आईरहेकाले यसतर्फ पनि प्रदेश सरकार केन्द्रीत हुने बताए । रोजगारी सृजना गरेर जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए ।

मुख्यमन्त्री भट्टले मानव बेचविखनका मुद्दामा अपराधी छाडिने तथा प्रमाण नपुगेका आधारमा मुद्दा नै नचलाइने प्रवृत्तिसमेत रहेकाले अब यस्ता कार्यसमेत रोकिने बताए । उनले संघीय सरकारसंग समन्वय गरेर खुल्ला सिमाना व्यवस्थापनका विषयमा समेत प्रदेश सरकारले कदम चाल्ने बताए । ‘सिमामा हुने तस्करी, दुव्र्यवहार र आपराधिक गतिविधि रोक्न हामी केन्द्र सरकारसंग समन्वय गरेर अघि बढ्नेछौं’ उनले भने ।

कार्यक्रममा प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले अब प्रदेश ७ मा चेलीबेटी बेचविखनका घट्ना हुन नदिने बताए । ‘यस्तो कार्य पुर्णरुपमा बन्द गरिनेछ’ उनले भने, ‘सरकार विशेष नीति बनाएर अघि बढ्नेछ ।’ उनले केहि वर्षयता सामाजिक संघ संस्था खुल्ने क्रम बढेकाले यिनिहरूको क्रियाकलाप तथा काम, कर्तव्य र अधिकारका विषयमा समेत अनुगमन गरेर व्यवस्थित बनाइने बताए ।

माईती नेपाल स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मानव बेचविखन विरुद्ध जनचेतना जगाउने उद्देश्यले मेची र महाकालीबाट एक साथ शुभारम्भ भएको अभियान प्रदेश ३ को मुकाम हेटौंडामा पुगेर सम्पन्न हुनेछ ।

काकडभिट्टाबाट सुरु भएको अभियान अन्तरगत इटहरी, राजविराज, लहान, ढल्केबर, लालबन्दी, चन्द्रनिगाहपुर, पथलैया, नेपालगञ्ज र बर्दियामा जनचेतनामुलक कार्यक्रम गरिनेछन् । यसैगरि महेन्द्रनगरबाट सुरु भएको अभियान अन्तरगत धनगढी, बर्दिया, दांग, भालुवाङ, बुटवल, भैरहवा र नवलपरासीमा जनचेतनामुलक कार्यक्रम गरिनेछन् । दुवैतर्फको टोली फागुन १६ मा हेटौडामा पुगेपछि अभियान समापन गरिने आयोजक माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?