कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूला आयोजनाले देशमै रोजगारी

निर्माणाधिन धनगढी–अत्तरिया ६ लेन सडकमा मिस्त्रीदेखि माटो बोक्ने, खन्ने, ढुंगा फोड्नेलगायतमा करिब ५ हजार कामदार संलग्न छन् 
कालापहाड जाने तयारी गरिरहेकै बेला कामदार खोज्दैं ठेकेदार गाउँमैं आए, कमाइ पनि भारततिर भन्दा राम्रै छ – कामदार 
गाउँगाउँमै पुगेर खोजेर ल्याएका छौं, तैपनि चाहिए जति कामदार पाउन सकेका छैनौं– ठेकेदार
मोहन बुडाऐर

धनगढी — कैलाली बल्चौरका रामबहादुर र रंगा नेपाली श्रीमान/श्रीमती हुन् । दुवैजना अत्तरिया देखि धनगढी सम्म निर्माणाधीन ६ लेन सडकमा मजदुरी गरेर दैनिक हजार कमाउछन् । ‘महिनाभर काम पाएका बेला ३० हजार जति कमाई हुन्छ’ रंगाले भनिन् ‘घरखर्च कटाएर करिब १० हजार बच्छ ।’

ठूला आयोजनाले देशमै रोजगारी

यसअघि रामबहादुर दम्पती भारतको कालापहाडमा मजदुरी गर्न जाने गरेका थिए । यसपाला भने उनीहरू पत्थर फोड्न कालापहाड गएन्न । बर्षायाम सुरु भएसंगै कालापहाडबाट घर फर्केका थिए । ‘मंसिरमा कालापहाडमा कामगर्न जान्थ्यौ’ रामबहादुरले भने, ‘यसपाली कालापहाड जाने तयारी गरि रहेकै बेला कामदार खोज्दैं ठेकेदार गाउँमैं आए । कुराकानी चलेपछि यतैको सडकमा काम गर्न दुबै जना तयार भयौं ।’


खेतीपाती गर्न गाउँमा उनीहरूको आफ्नै जग्गाजमिन छैन् । मजदुरी गरेर छाँक टार्ने परिवार भएकाले कामका लागि भारत पस्दा घरमा केटाकेटी र बुढा आमावुवा छाडेर जानुपथ्र्यो । उनले भने, ‘उता कमाई राम्रो हुने भएपनि बचत भने हुन्थेन ।’ आफ्नै ठाउँमा काम पाउँदा टाढा भारत तिरको आउजाउको खर्च जोगिएको छ ।’ कमाइबाट केहि बचत गर्न सकिने आश जागेको रंगा दम्पतीले खुसी ब्यक्त गरे । ‘आफनै ठाउँमा काम पाउदा घरपरिवारको रेखदेख पनि गर्न पाईयो’ उनले भने, ‘यता र उताको दुई ठाउँको खर्चपनि घटा राम्रै बचत गर्ने विचार गर्दैछौं ।’ उनका १ छोरा र ३ छोरी गरी १५ बर्षमुनिका चार केटाकेटी गाउँकै सरकारी स्कुलमा पढ्छन ।


रंगा दम्पतीसंगै बल्चौरकी २७ बर्षीया कमला नेपाली पनि ज्यालादारी मजदुरीमा काम गरिरहेकि छन । यसअघि कमला पनि ७ बर्ष मुनिका तीन वटा केटाकेटी संगै लिएर श्रीमानसँगै भारतको हिमाञ्चल तिर काम गर्न जाने गरेकि थिइन । घरमा बसेर खान नपुग्ने भएपछि श्रीमानसँग लालावाला संगै लिएर भारत जाने गरेको सम्झदै उनले भनिन्, ‘विवाह भएको वर्षदेखि नै श्रीमानसंग भारतमा मजदुरी गर्न जाने गरेकी हुँ । उता काखमा बच्चा च्यापेर मजदुरी गर्थे ।’


अत्तरिया–धनगढी ६ लेन सडकमा बल्चौरका करिब ६०/७० महिला पुरुषले काम गरिरहेका छन् । बल्चौरकै अर्का मजदुर बिशाल नेपालीले बल्चौरको दलित बस्तीका करिव २ सय घर परिवारका ब्यक्ति भारतको उत्तराखण्ड र हिमाञ्चलका पहाडी क्षेत्रमा सडक खन्न जाने गरेको बताए । ‘यसपाली मजदुर भारततिर लाग्नु अघि नै नेपाली ठेकेदार कामदार खोज्दै गाउँमा आएकोले सबैले आफ्नै ठाउँमा रोजगारी पाउने अवसर मिल्यो’ उनले भने, ‘यतै काम गर्दा सजिलो हुन थालेपछि गाउँका ७५ प्रतिशत बढि यतै काम गर्न थालेका छन् ।’


बल्चौरबाट कामका लागि भारत पस्नेहरू मात्रै हैन्, कैलालीका बिभिन्न गाउँवस्तीबाट कामको खोजीमा भारत जान लर्काे लाग्ने मजदुरलाई अहिले धनगढीमा भईरहेका ६ लेन सडकसहित अन्य ठूला आयोजना समेतको निर्माणले रोजगारी दिएको छ ।


कैलाली भादा गाउँका कामदारको समुह पनि ६ लेन सडकमा काम गरिरहेको छ । भादाका रामलाल चौधरीले भने, ‘गाउँमा मजदुरी गर्दा खासै राम्रो ज्याला पाइदैनथ्यो । यता ज्याला पनि राम्रो र साँझ घर फर्किन पनि पाइएकोले गाउँका महिला पुरुष सबै यतै काममा जुटेका छौ ।’


स्थानिय कामदार अझै अभाव

६ लेन सडक निर्माणको ठेक्का लिएको राजेन्द्र निर्माण सेवा प्रालिका पेटी ठेकेदार दिलबहादुर तामांगले आफुसंग सय जनाले काम पाएको बताए । उनका अनुसार सबै गरी ५ हजार जतिले ६ लेन सडकमा मिस्त्रीदेखि माटो बोक्ने, खन्ने, ढुंगा फोड्ने लागयतका काममा रोजगारी पाएका छन् । यसै क्षेत्रका मजदुरहरू काममा लागेकाले यसअघि जस्तो सुर्खेत, बर्दिया, डडेल्धुरा लगायतका जिल्लामा कामदार खोज्न जानुपर्ने झन्झट यसपटक नभएको उनले बताए । ‘काम गर्नेलाई कामको अभाव छैन’ अर्का पेटी ठेकेदार शेरबहादुर घर्तीले भने, ‘अहिले त कामदार आवश्यकअनुसार पाउन सकिएको छैन् ।’ विभिन्न निर्माण कम्पनीहरू कामदार नपाएर भौतारिनु परेको उनले सुनाए ।


ठेकेदार कम्पनी राजेन्द्र निर्माण सेवाका प्रवन्ध निर्देशक लक्ष्मण साउदका अनुसार छ लेन सडक राजेन्द्र निर्माण सेवा र नागार्जुन निर्माण कम्पनीले लिएको छ । दुई बर्षमा सम्पन्न हुने गरि उक्त सडकको निर्माण कार्य तिव्र गतिमा भईरहेको छ । उनले ६ लेन लगायत अहिले धनगढीमा भईरहेको बिकास निर्माणको काममा दश हजार भन्दा बढीले रोजगारी पाईरहेको बताए ।


साउदले अहिले एक तिहाई काम पनि सम्पन्न गर्न नसकेको बताए । ‘सडक निर्माणको काम अझै धेरै बाकी छ’ उनले भने ‘ दक्ष र अदक्ष दुवै खाले मेनपावर आवश्यक छ ।’ साउदले अदक्ष जनशक्ति (लेवर) को अभावमा निर्माणको कामले गति पाउन नसकेको बताए । उनले भने, ‘जति धेरै हामीले मेनपावर पाउछौ, उति धेरै काम चाडो सम्पन्न हुन्छ ।’ उनले ट्रक, ट्याक्टर, डोजर, टिपर ट्राली , जेसिभि लगायतका सवारी साधन र इक्युपमेण्ट र तिनका चालक तथा लेवर देखी साईट हेर्ने ओभरसियर र ईन्जिनियर आवश्यक रहेको बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?