कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिलाइकटाइमा महिला आकर्षण 

मेनुका ढुंगाना

अछाम — अछामको चौरपाटी गाउँपालिका ४ की नमिता बोहराले ७ वर्षअघि सिलाइकटाइ सिक्न साँफेबगर जान्छु भन्दा उनको परिवारले सहजै स्वीकार गरेन । तर पनि उनले साँफेबगर पुगेर ३ महिने तालिम लिएरै छोडिन् ।

तालिमपछि आफ्नै लगानीमा व्यवसायसमेत सुरु गरेको उनी बताउँछिन् । ‘त्यो बेला दमाई समुदायले मात्र कपडा सिलाउनुपर्छ भन्ने गलत मान्यताका कारण मलाई जात फालेको भनेर नानाथरी आरोप लाग्यो,’ उनले भनिन्, ‘म अरूको दबाबमा बस्न चाहिनँ, धेरै संघर्ष गरेर यो पेसा अँगालें र अहिले आम्दानी राम्रो छ आफ्नै खुट्टामा उभिन सकेकी छु ।’


त्यसयता यहाँसम्म आइपुग्दा समय बदलिसकेको छ । अहिले भने नमितासँगै अरू धेरै महिला पनि सदरमुकाम मंगलसेन, साँफेबगर र आसपासका बजारमा सिलाइकटाइ व्यवसाय गरेर आर्थिक रूपमा समृद्ध बन्दै गइरहेका छन् । दमाई जाति त्यसमा पनि पुरुषले मात्रै कल चलाउनुपर्छ भन्ने मान्यतालाई नकार्दैर्ै अहिले यो पेसा अछामका धेरै महिलाको आयआर्जनको स्रोत बनेको छ ।


पहिले पुरुषले मात्रै व्यावसायिक रूपमा गर्ने गरेको सिलाइकटाइ व्यवसाय अहिले विभिन्न जाति र थरका महिलाले व्यवसायका रूपमा यो पेसालाई अँगालेपछि धेरै महिला पनि अहिले स्वरोजगारका माध्यमबाट आय आर्जन गरिरहेका छन् । हाल मंगलसेनमा मात्रै झन्डै एक दर्जनभन्दा बढी सिलाइकटाइ र सर्टिङ/सुटिङ सेन्टर नै सञ्चालन गरेर महिलाले व्यवस्थित व्यवसाय गरिहेका छन् । प्रमाणपत्र तहको अध्ययन सकेलगत्तै बिहे भएर मंगलसेन आएकी निर्मला विक अहिले सिलाइकटाइ व्यवसायमा संलग्न छिन् । ‘बिहे भएको ५ वर्षमा २ सन्तान हुँदा उनीहरूको पालनपोषणमा समस्या आउन थाल्यो,’ उनले भनिन्, ‘सीप सिकेर केही गरी खानुपर्छ, कति घरमै थन्केर बस्नु भनेर यो व्यवसाय सुरु गरेकी हुँ ।’ श्रीमान् भारतमा कामको सिलसिलामा छन् भने उनले मंगलसेनमा सिलाइकटाइ व्यवसाय सुरु गरेकी छन् ।


व्यवसाय सुरु गरेको २ वर्षमा राम्रो आम्दानी भएको बताउँदै आगामी दिनमा पनि यही कामलाई निरन्तरता दिने निर्मलाले बताइन् । ‘हाल यस पेसाबाट आफ्नो दैनिकी चलाएर बचेको रकम स्थानीय सहकारी संस्थामा बचत गर्न थालेकी छु,’ उनले भनिन् ।


महिलाले पनि कपडा सिलाइको कामलाई मूल पेसाका रूपमा अँगालेर बस्न सक्छन् भन्ने उदाहरण बनेकी निर्मलाले सदरमुकामको आफ्नो व्यवसायबाट हाल सरदर मासिक १५ देखि २० हजारसम्म बचत गर्ने बताइन् ।


निर्मला, नमिता र सरिता अछामका लागि यस पेसाका प्रतिनिधि पात्र मात्र हुन् । अन्य कतिपय महिला पनि आयमूलक स्वरोजगारका रूपमा व्यवसाय सुरु गर्न उनीहरूको पहिलो रोजाइ नै सिलाइकटाइ बनेको छ । मंगलसेन नगरपालिका ७ की देवसरा सुनार विद्यालयका पोसाक, सर्ट, पाइन्ट सिलाउन निकै दक्ष भइसकेकी छन् । उनले मासिक १० देखि १५ हजारसम्म आम्दानी गरिरहेको बताइन् । ७/८ वर्षको अवधिमा अछाममा यो पेसामा महिलाको आकर्षण बढिरहेको जेडी टेलर्सका सिलाइकटाइ प्रशिक्षक जितेन्द्र भण्डारीले बताए । ‘सिकाइ र कटाइसिलाइका लागि अरू पेसाजस्तो धेरै समय दिनु पर्दैन । घर सम्हाल्दै पेसा गर्न सकिने भएकाले महिलाहरूले यो व्यवसायप्रति बढी चासो दिइरहेका छन्,’ उनले भने ।

प्रकाशित : फाल्गुन १६, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?