कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी आयोजना अलपत्र

मेनुका ढुंगाना

अछाम — मंगलसेन नगरपालिका–५ ठूलासैन क्षेत्रका स्थानीय गाउँमै खानेपानी आयोजना निर्माण सुरु भएपछि खुसी भएका थिए । तर, निर्माण कार्य सुरु भएको ८ महिनामै उक्त आयोजना अलपत्र परपछि उनीहरूको आशा निराशामा परिणत हुन पुगेको छ । 

खानेपानी आयोजना अलपत्र

खानेपानी नभएर सास्ती बेहोर्दै आएका ठूलासैन क्षेत्रका स्थानीय बासिन्दा र व्यापार व्यवसायी सुक्खायाममा राति सुत्न पाउँदैनन् । पानी भर्नका लागि जंगलमा रहेको धारामा रातभर लाइन बस्छन् । ठूलासैन बजार व्यवसाय रहेको क्षेत्र पनि भएकाले पानीको माग अझ बढी छ । कतिपय त पानी भर्ने पालै नपाएर रित्तै फर्किन्छन् ।


‘ट्युबवेलबाट पानी निकाल्ने अयोजना बन्न लागेको सुन्दा खुसी लागेको थियो,’ ठूलासैनमा होटल व्यवसाय गर्दै आएकी नामसरा भण्डारीले भनिन्, ‘काम सम्पन्न नहुँदै आयोजना अलपत्र भएपछि हामी निराश छौं ।’ पानी नभएकाले धेरै पटक ग्राहकलाई फर्काएको उनले गुनासो गरिन् । रातिमा केटाकेटी च्यापेर कुवाको पानी भर्न जाँदा जंगली जनावरको समेत उत्तिकै डर हुने गरेको ठूलासैनकै तुलसा संज्यालले बताइन् । ‘३०/३५ परिवारले पानी ल्याउन बजारभन्दा तलको जंगलमा जानुपर्छ । सबै गाउँले त्यही जंगलको पानीमा निर्भर भएकाले मध्यरातदेखि नै लाइन बस्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ‘पानी भर्न नपाएर धेरै पटक रित्तै घर फर्केकी छु,’ उनले भनिन् । ६० लाखको लागतमा गएको साउनमा सुरु भएको निर्माणाधीन खानेपानी आयोजनाको काम अलपत्र भएपछि स्थानीयले पानी पाउने आस मारेका छन् ।


अहिलेसम्मको काममा करिब ३० लाख खर्च भइसकेको उपभोक्ता समितिका अध्यक्ष हेमराज भण्डारी बताउँछन् । उच्च भागमा रहेको ठूलासैन डाँडामा मेसिनद्वारा जमिनमा खनेर ‘ट्युबवेल सिस्टम’ बाट पानी निकाल्ने प्रयास गरिएको भए पनि काम अघि बढ्न सकेन ।


आयोजनास्थलमै पानी निकाल्ने मेसिन छोडेर ठेकेदार रमेश तिरुवा घर जाने बेला दुर्घटनामा परेपछि काम अघि बढ्न नसकेको अध्यक्ष भण्डारीले बताए । ‘केही दिनभित्रै ठेकेदारले काम सुरु गर्ने वचन दिएको छ । सम्भवत: अब चाँडै काम सुरु गर्ने तयारीमा छौं,’ भण्डारीले भने । पानी अभावकै कारण संकटमा परेका ठूलासैनका होटल व्यवसायी २० लिटर पानीको ५० रुपैयाँ तिर्न बाध्य छन् । ‘टाढा रहेका धाराबाट भरिया लगाएर पानी बोकाउने गरेका छौं,’ अर्की होटल व्यवसायी गोरीकला भण्डारीले भनिन् । स्थानीय तहको पर्यटक गन्तव्य बन्दै गएको ठूलासैन क्षेत्र दूध, दही, घ्यू, मह, गेडागुडीका लागि प्रख्यात छ । तर पानी अभावका कारण व्यापारी व्यवसायी भने अप्ठ्यारोमा छन् ।


जिल्लाका उच्च भेगमा रहेका कमलबजार, विनायक, जयगढ, मंगलसैनमा खानेपानीको संकट छ । यी क्षेत्रका बासिन्दाले दूषित पानी खानुपर्दा झाडापखालालगायतका रोगहरू फैलिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन २२, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?