कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य बिमा प्रभावकारी बन्दै

मेनुका ढुंगाना

अछाम — आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँँचमा ल्याउने उद्देश्यले सरकारको सामाजिक स्वाथ्यविकास बोर्डमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अछाममा प्रभावकारी बन्दै गएको छ । 

स्वास्थ्य बिमा प्रभावकारी बन्दै

भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तरलगायत चुनौतीका बाबजुद पनि बिमा कार्यक्रममा आमनागरिकको आकर्षण देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्ड अछामका दर्ता अधिकारी प्रेम बुढाले बताए ।

०७३ पुस महिनादेखि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत अछाममा हालसम्म४ सय ७८ घरपरिवारका २ हजार ४ सय ७८जनाले स्वास्थ्य बिमा गराएका छन् । उनीहरूबाट बिमा गराएबापतको १२ लाख रकम संकलन भएको छ । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् ।

प्रत्येक परिवारमा ५ जनासम्मका लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ४ सय २५ रुपैयाँ शुल्क लाग्नेछ । बिमा गरेपछि एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ ।

गरिब असहायका लागि स्वास्थ्य बिमा प्रभावकारी भए पनि आर्थिक अवस्था कमजोर भएको देखाउँदै स्वास्थ्य बिमा गर्न नसकेको दर्ता सहयोगी लक्ष्मी केसीले बताइन् । ‘धेरै सम्झाइबुझाइ गरेर स्वास्थ्य बिमा गराएका छौं,’ उनले भनिन्, ‘जानेबुझेकाहरू नै असहयोग गर्छन् । नराम्रो हल्ला फैलाइदिन्छन् ।’

गरिब नागरिकका लागि स्वास्थ्य बिमा बढी आवश्यक हुने भन्दै जनस्वास्थ्य निरीक्षक झनक ढुंगानाले बिमा गराएर पैसा अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह गरेका छन् । सबै जनतामा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन स्वास्थ्य बिमाले ठूलो सहयोग गर्ने उनले बताए । विपन्न वर्गको स्वास्थ्य सेवामा पहँुच पुर्‍याउन बिमा सुरु गरिएकाले निम्न आयस्रोत भएकाहरूले नछुटाई बिमा गर्नुपर्ने उनको भनाइ छ । ‘स्वास्थ्य बिमा गराउन सबैलाई अनिवार्य गर्नुपर्छ । धेरै स्वास्थ्यकर्मीले पनि गरेका छैनन्,’ ढुंगानाले भने, ‘बृहत् अभियानका रूपमा सरकारको यो कार्यक्रमलाई सफल पार्नुपर्छ ।’

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाका आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा लागू भएको सामाजिक स्वास्थ्य सुरक्षा बोर्ड प्रदेश ७ का संयोजक जनक साउदले बताए । स्वास्थ्य बिमा ऐन २०७४ मा राष्ट्रसेवक कर्मचारी र वैदेशिक रोजगारमा जानेलाई स्वास्थ्य बिमा अनिवार्य गरिएको उनले बताए । बिमित सदस्यहरूले भने सरकारले जसरी बिमा कार्यक्रम ल्यायो, त्यसरी नै प्रत्येक स्वास्थ्यसंस्थामा नागरिकलाई सहज रूपमा उपचार गराउने व्यवस्था गर्नुपर्ने बताएका छन् । अधिकांश स्वास्थ्यसंस्थामा औषधि र उपचारको पूर्ण व्यवस्था भएमा बिमित सदस्यको संख्यासमेत बढ्ने उनीहरूको भनाइ छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?