कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलामाथि शृंखलाबद्ध हिंसा

०७४/०७५ को चैत पहिलो सातासम्म घरेलु हिंसाका ३ सय ३ घटना र सोही अवधिमा लैङ्गिक हिंसाका १ सय २५ घटना दर्ता भएका छन्
डीआर पन्त

धनगढी — कैलालीको गोदावारी नगरपालिका अत्तरिया बस्ने कविता जोशी पटक–पटक प्रहरी कार्यालयमा पुगिन् ।

महिलामाथि शृंखलाबद्ध हिंसा

छोरा नभएका कारण लोग्नेले दैनिकजसो मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि उनी प्रहरी कार्यालयमा जाँदा पहिलो पटक प्रहरीले मिलापत्र गरायो । दोस्रो पटक लोग्नेले आफ्नो साथीसँग शारीरिक सम्बन्ध राख्न दिएको दबाब अस्वीकार गर्दा यातना दिन खोजेको भन्दै उनी प्रहरीकै शरणमा पुगिन् । तर प्रहरीले दोस्रो पटक पनि उनको कुरा सुनेन् । तेस्रो पटक पनि उनी प्रहरी कार्यालय पुगिन्, त्यसबेला त प्रहरीले उल्टै उल्टै ‘पटक–पटक आउँछ’ भन्दै हप्काएर फर्काए ।

‘म ५ पटक प्रहरीमा उजुरी दिन गएँ, तर मेरो उजुरी लिइएन,’ पीडित कविताले भनिन्, ‘कतैबाट न्याय नपाएपछि मैले सञ्चारकर्मीलाई गुहारेकी हुँ।’ कविताले भनिन्, ‘प्रेम विवाह भए पनि हालसम्म विवाह दर्ता भने गरेको छैन ।’ उनी पतिको हिंसा सहन नसकेर घर छोडेर अत्तरियाको एक सामुदायिक अस्पतालमा काम गरेर २ छोरीको पालनपोषण गरिरहेकी छन् ।

आफूलाई कुटपिट गर्ने श्रीमान् धनञ्जय जोशीबाट भागेर पनि उनले सुख पाएकी छैनन् । अस्पतालमा नै आएर समेत कुटपिट गर्न खोज्ने गरेको उनले बताइन । ‘निरन्तर ४ वर्षसम्म लोग्नेबाट यातना खेप्नुपर्दा सहन नसकेर घर छोडेर हिंँड्दा पनि उसले पछ्याउन छोडेको छैन,’ उनले भनिन् ।

यो घटनासँगै पछिल्लो साता कैलालीको देवकलियामा बोक्सी आरोपमा किशोरीलाई दिएको अमानवीय यातना र कञ्चनपुरमा विवाह गर्न नमान्दा युवतीको आंँखा फुट्ने गरी भएको आक्रमण सुदूरमा महिलामाथि दिनहुंँजसो हुने शृंखलाबद्ध हिंसाका प्रतिनिधि घटना मात्र हुन् । सार्वजनिक भएका यस्ता घटनाबाहेक हरेक दिन सुदूरमा शृंखलाबद्ध रूपमा महिलामाथि हुने हिंसाका घटना भने सार्वजनिक हुंँदैनन् । धेरैजसो हिंसाका घटना गाउँं समाजमा जवरजस्ती मिलापत्र गरिन्छ भने प्रहरी कहाँं पुगेका ८० प्रतिशतभन्दा बढी घटना पनि मिलापत्रमा टुंगिने गरेका छन् ।

कैलालीमा मात्र महिला हिंसाको डरलाग्दो संख्या देखिएको छ । बलात्कार, बलात्कार प्रयास, बेचविखन, बहुविवाह, महिला बेपत्ता, लैंगिक हिंसा, बेवारिसे महिलामाथिका हिंसालगायतका शीर्षकमा प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा समेत महिलामाथि सुदूरमा शृंखलाबद्ध हिँंसा बढ्दै गएको देखिएको छ । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/०७५ को चैत पहिलो सातासम्म घरेलु हिंसाका ३ सय ३ घटना र सोही अवधिमा लैंगिक हिंसाका १ सय २५ घटना प्रहरीमा दर्ता भएका छन् ।

यी घटनामध्ये अधिकांश मिलापत्रमा टुंगिएका छन् । महिला सेलको तथ्यांकअनुसार यस अवधिमा घरेलु हिंसाका १ सय ९४ मुद्दा मिलापत्रमा टुंगिएका छन् । बांँकी ३७ मुद्दा सम्बन्धित निकायमा गएका छन् भने ७२ वटाको टुङ्गो लागेको छैन । त्यसैगरी लैंगिक हिंसाका ८० वटा मुद्दा मिलापत्रमा टुंगिएका छन् । ७ वटा मुद्दा सम्बन्धित निकायमा गएका छन् । ३८ वटाको टुंगो नलागेको तथ्यांक रहेको छ ।

‘यी बाहिर आएका घटना मात्र हुन्,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘हिंसा सहेर बस्नेको यो तथ्यांकभन्दा निकै बढी संख्या छ ।’ कैलालीमा महिलामाथि लैंगिक र घरेलु हिंसा निकै बढी देखिएको पनि प्रहरी उपरीक्षक घिमिरे बताउँछन् । उनले भने, ‘जति घटना बाहिर आएका छन्, यी पनि सञ्चारको सहज पहुँचका कारण बाहिर आएका हुन् ।’

हिंसा न्यूनीकरणका लागि समाजिक अगुवाहरूको भूमिका महत्त्वपूर्ण रहेकाले यस बिषयमा सवैले गम्भीर हुनुपर्नेमा पनि प्रहरी प्रमुख घिमिरेल जोड दिए । ‘यो गम्भीर चिन्ताको विषय भएको छ,’ प्रदेश सांसद चुनकुमारी चौधरीले भनिन्, ‘हिंसाका घटना न्यूनीकरणका महिला सांसदहरूले अभियान नै सञ्चालन गर्ने तयारी भइरहेको छ ।’ बोक्सी आरोपमा यातना पाएकी राधा चौधरीलाई ३६ हजार रकम सहयोग गर्दै सांसद चौधरीले भनिन्, ‘प्रदेशभर जागरण अभियान सञ्चालन गर्न विशेष तयारी गरिरहेका छौं ।’

सांस्कृतिक, सामाजिक कुप्रथा र कुरीतिका कारण मात्र हिंसामा वृद्धि भएको छैन, प्रदेश उपसभामुख निर्मला जोशी कडा कानुनको अभाव, न्याय दिने निकायको उदासीनताले पनि हिंसामा वृद्धि भइरहेको बताइन । उपसभामुख जोशीले भनिन्, ‘महिला हिंसासम्बन्धी कस्तो कानुन निर्माण गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल चलिरहेको र चाँडै कडा कानुन निर्माण गर्ने तयारी गरिरहेका छौं ।’

कैलालीमा मात्र महिला हिंसासम्बन्धी काम गर्ने संघसंस्थाको संख्या एक दर्जनभन्दा बढी छ । प्रदेशभर जोड्दा डेढ सय संघसंस्थाले महिला हिंसा न्यूनीकरणमा काम गरिरहेका छन् । एक गैरसरकारी तथ्यांकअनुसार प्रदेशमा महिला हिंसाका क्षेत्रमा बर्सेनि डेढ अर्बभन्दा बढी रकम सरकारी तथा गैरसरकारी क्षेत्रबाट खर्च भइरहेको छ ।

प्रकाशित : चैत्र ७, २०७४ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?