कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढ्ने उमेरमा घरधन्दा

विपन्न बालबालिकाको पीडा
मोहन शाही

डोटी — बोगटान ६, गगुडाकी ९ वर्षीया कृष्णा चन्द बिहान ओछ्यानबाट उठेलगत्तै घरायसी काममा व्यस्त हुन्छिन् । पानीपँधेरो, घरआँगन सरसफाइ, लिपपोत जस्ता काम उनले दिनहुँ गर्नुपर्छ ।

पढ्ने उमेरमा घरधन्दा

वनबाट घाँस, दाउरा, स्याउला, सोत्तर ल्याएर मात्र उनलाई विद्यालय जाने समय मिल्छ । विद्यालयबाट फर्केपछि ३ वर्षको भाइको स्याहार गर्ने, खाना पकाउने, भाँडा माझ्ने जिम्मेवारी उनकै काँधमा आउँछ । कृष्णाका हरेक दिन यसरी नै बित्ने गरेको उनकी आमा सरस्वती चन्द बताउँछिन् ।


यस्तो दैनिकी कृष्णाको मात्र होइन । ग्रामीण भेकका अधिकांश बालबालिकाको हो । केआई सिंह गाउँपालिका–१ की पूणे खातीकी १२ वर्षीया शारदा भूल स्कुलबाट पढेर आएपछि कोठामा राखिएको किताब भोलिपल्ट स्कुल जाँदा मात्र छुन पाउने बताउँछिन् । ‘समय नपाएकाले पढ्न मन मरिसक्यो, कहिल्यै कामबाट फुर्सद हुन्न,’ उनले भनिन् ।


घरायसी कामको बोझले पढ्ने, लेख्ने वातावरण नपाउने गरेको गुनासो बालबालिकाहरूको छ । यद्यपि अभिभावकहरूले घरायसी कामका कारण छोराछोरीहरूको पढाइमा असर परिरहेको महसुस गर्न सकेका छैनन् । ‘वनमा गएर सोत्तर स्याउला ल्याउने कृष्णा मात्र हो र ?’ उनकी आमा घरायसी काम सामान्य रूपमा लिनुपर्ने तर्क राख्दै भन्छिन्, ‘हामीले पनि त्यसै गरी सानैबाट काम गरेर गृहस्थी सम्हालेका हौं ।’ कृष्णाले भने घरायसी कामका कारण पढाइ लेखाइका लागि खासै फुर्सद नहुँदा पढ्ने मोह पनि घट्दै गएको बताइन् ।


‘पढ्ने फुर्सद हुन्न अनि पढाइ कमजोर हुन्छ,’ उनले भनिन्, ‘स्कुलकै भरमा कति पढाइ हुन्छ र ? कमजोर पढाइले गर्दा पढ्ने रहर पनि पलाउँदैन ।’ ग्रामीण क्षेत्रमा सानै उमेरबाट बालिकाहरूलाई क्षमताभन्दा बढी घरायसी काममा लगाउने चलन छ । पढाइ–लेखाइ तथा शिक्षा दिक्षा दिने जिम्मेवारी विद्यालय र शिक्षकको हो भन्ने बुझाइ आम अभिभावकहरूको छ ।


तर सो बुझाइ गलत रहेको जिल्ला शिक्षा अधिकारी अनन्तराम पौडेल बताउँछन् । ‘सैद्धान्तिक रूपमा विद्यार्थीको सिकाइ उपलब्धिका ३ चरण ज्ञान, अपेक्षा र सुदृढीकरण भन्ने हुन्छन्,’ पौडेलले सैद्धान्तिक कुरा राख्दै प्रस्टाए, ‘ज्ञान र अपेक्षाका चरणहरूमा विद्यार्थीका इच्छा, आकांक्षा, पढाउने विधि, तरिका, व्यवहार, विद्यालयको व्यवस्थापन कुराहरू आउँछन् भने सुदृढीकरणमा घरमा गरिने गृहकार्य, पढ्ने, अभिभावकहरूको माया ममता, परामर्श पाउने कार्य हुन्छ । तीमध्ये सुदृढीकरणको चरण ग्रामीण क्षेत्रमा प्राय: ग्याप छ ।’


घरायसी कामको बोझले विद्यार्थीहरू नियमित विद्यालयमा नआउने, कक्षाकोठामा पढाइभन्दा घरायसी कामको चिन्ता बढी लिने गरेको मष्टेश्वर मावि गगुडाका शिक्षक चक्रबहादुर चन्द बताउँछन् । उनले ग्रामीण क्षेत्रको चेतनाको कमी, घरमा काम गर्ने जनशक्तिको अभाव र गरिबीका कारण बालबालिकाले घरायसी काममा बढी समय दिनुपर्ने बाध्यता रहेको बताए ।


नवज्योति आधारभूत विद्यालयकी शिक्षिका रेखा रावल पनि विद्यार्थीहरूलाई घरायसी कामले पढ्ने फुर्सद नभएको स्विकार्छिन् । ‘केटाभन्दा केटीहरूलाई फुर्सद कम हुन्छ,’ उनले भनिन्, ‘अभिभावकहरू पढ त भन्छन् तर पढ्ने समय कति बेला दिने, आराम गर्ने समय कति बेला तोक्ने भन्ने योजना नहुँदा बालबालिका घरायसी काममै अलमलिएका हुन्छन् ।’


जंगलबाट घाँस, दाउरा, स्याउला सोत्तर ल्याउने, खाना पकाउने, कुटानी, पिसानी गर्ने जस्ता घरायसी काममा बालिकाहरूलाई लगाइन्छ । बालकहरूलाई भने गाईबस्तु हेर्ने, दाउरा खोज्ने, चिर्ने, किनमेल गर्ने र हलो जोत्ने जस्ता काम दिइन्छ । निजीमा भन्दा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरूलाई घरायसी काममा लगाउने गरिन्छ ।

प्रकाशित : चैत्र ८, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?