कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झोलुंगे पुल नहुँदा...

मनोज बडू

दार्चुला — तत्कालिन नेपालका लागि भारतीय राजदूत रन्जित रायले २०७२ मा दार्चुला भ्रमणका बेला सीमा नदी महाकालीमा मोटर पुल निर्माण गर्न चाँडै प्रक्रिया बढाउने आश्वासन दिएका थिए ।

झोलुंगे पुल नहुँदा...

अहिलेसम्म पुल निर्माण बारे प्रक्रिया अगाडी बढ्न नसकेको अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणले स्थानीयमा अव त केहि हुन्छ कि भन्ने आशा पलाएको छ ।

महाकाली नदीको दार्चुलाको सदरमुकाम आसपास र बैतडीको झुलाघाटमा मोटर पुल निर्माण गरिने राजदूत रायले आश्वासन थिए । त्यसपछि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तथा नेपाली प्रधानमन्त्रीहरूको भारत भ्रमणका बेलामा समेत पुल निर्माणबारे चर्चा चल्दै आएको दार्चुला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेशसिंह थापाले बताए ।

‘अझ पनि दार्चुला र बैतडीमा मोटर पुल निर्माणको प्रक्रिया अगाडी बढ्नेमा आफूहरू विश्वस्त छौ’ उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणले पुल निर्माण प्रक्रियामा सहयोग पुग्ने छ ।’ यी दुई ठाउँमा मोटर पुल निर्माण हुने सके भारतसितको व्यापार बढ्नुको साथै आवतजावतमा पनि सहजता आउने उनको भनाइ छ । अहिले पनि यहाँका व्यापारीहरूले भारतीय निर्माण सामग्री लगायत दैनिक उपभोग्य वस्तुहरू धनगढी महेन्द्रनगर लगायतका बजारबाट ल्याउने गरेका छन् । ‘भारतले सीमा क्षेत्रमा सडक निर्माणलाई तीव्रता दिइरहेको बेलामा दार्चुला र बैतडीमा भारत जोड्ने पुल निर्माण भए भारतसितको व्यापारिक सम्बन्ध बढ्नेछ,’ खलंगाका व्यापारी हरकसिंह ठगुन्नाले भने, ‘पुल भएको भए दैनिक उपभोग्य सामान र निर्माण सामग्रीहरू स्थानीय नाकाबाट आयात गरिन्थ्यो ।’ स्थानीय नाकाहरूबाट यस्ता सामग्रीहरू आयात भए स्थानीय सरकारको आम्दानी बढ्नुका साथै जिल्लाले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदान पुग्ने उनको बुझाइ छ ।

केपी शर्मा ओलीले पहिलो प्रधानमन्त्रित्व कालमा तुइनमुक्त अभियानको घोषणा गरेका हुन् । भारतको केन्द्र सरकारले अनुमति नदिँदा महाकाली नदीका विभिन्न ठाउँमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको मालिकार्जुन गाउँपालिका ६ बाँकुका स्थानीय गणेशबहादुर पाल बताउँछन् । भारतीय पक्षले महाकाली नदीमा झोलुंगे पुल निर्माणको अनुमति नदिँदा बाकु, ब्यास गाउँपालिकाका बडूगाउँ, बत्तीघाट र मालमा पुल निर्माण रोकिएका छन् ।

योसंगै गत फागुनबाट दार्चुलाको उत्तरी सीमामा उत्पन्न भएको सीमा विवाद समाधान गर्न यो भ्रमणले टेवा पुग्ने स्थानीयको बुझाइ छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद गणेशसिंह ठगुन्नाको पनि सहभागिता रहेको हुुनाले मोटर र झोलुंगे पुल निर्माण प्रक्रियाका बारेमा दुवै देशका उच्च अधिकारीबीच छलफल भएको हुन सक्ने ब्यास गाउँपालिका २ मालका स्थानीय हरकसिंह धामीको भनाइ छ । ‘ब्यास गाउँपालिकाका अधिकांश मानिसहरू सदरमुकाम आउन ज्यान जोखिममा पारी महाकालीमा तुइन आउने गरेका छन्,’ उनले भने ।

प्रकाशित : चैत्र २६, २०७४ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?