कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

गर्भवतीलाई कम्बल र नुन उपहार

सात पोका सम्म आयोडिनयुक्त नुन दिइएको छ
मोहन शाही

डोटी — नियमित रूपमा स्वास्थ्य संस्था पुगेर चेकजाँच गर्ने गर्भवती महिलाहरूको संख्या वृद्धि गर्न र स्वास्थ्य संस्थामै सुत्केरी गराउने महिलालाई यहाँको एक गाउँपालिकाले आयोडिनयुक्त नुन उपहार स्वरूप उपलब्ध गराइरहेको छ ।

गर्भवतीलाई कम्बल र नुन उपहार

न्यानो कम्बल वितरण गरेर महिलाहरूको मन जितेको डोटीको केआईसिंह गाउँपालिकाले पछिल्लो समय गर्भवती महिलाका लागि नयाँ योजना ल्याएको छ । उक्त गाउँपालिकाले पहिलो पटक डोटीमा प्रोत्साहन अभियान थालेको हो ।

गाउँपालिकाले चैत महिनाबाट घरघरमा गएर आयोडिनयुक्त नुन उपलब्ध गराइरहेको केआईसिंह गाउँपालिका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । गाउँपालिकाको ४ दुर्गामाडौंमा गर्भवती महिलालाई वडाध्यक्ष जयसिंह धामीले आयोडिनयुक्त नुन वितरण गरे भने बुधबार तिखात्तरमा वडा नं. २ का वडाध्यक्ष नेत्र रावलले बाँडे । ‘आयोडिनयुक्त नुन बच्चाका लागि सूक्ष्म पोषण हो, यसले आमा र बच्चा दुवैको बुद्धिविवेकको विकासमा सहयोग गर्छ,’ स्वास्थ्य संयोजक बोहराले भने, ‘एकातिर गर्भवतीलाई स्वास्थ्य संस्थामा चेकजाँचका लागि नियमित आउन प्रोत्साहन गरिएको हो भने अर्कोतिर ग्रामीण क्षेत्रमा प्रयोग हुने ढिके नुन विस्थापित गर्ने उद्देश्य पनि हो ।’

नियमित गर्भवती जाँच गर्न आएका महिलालाई ७ पोकासम्म आयोडिनयुक्त नुन उपहारका रूपमा दिने गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । केआईसिंह गाउँपालिकालाई पाँच वर्षभित्र स्वास्थ्य संस्थामा सुत्केरी हुने गाउँपालिकाका रूपमा परिणत गर्न विभिन्न प्रयास भइरहेको बताए ।

डोटीमा अझै २७ प्रतिशत महिलाहरू घरमै प्रसूति हुने गरेको जिल्ला स्वास्थ्यको तथ्यांक छ । साबिकका सबै ५० गाविसमा बर्थिङ सेन्टर स्थापना भएको भए पनि महिलाहरू विभिन्न कारणले अझै स्वास्थ्य संस्थामा आउन सकिरहेका छैनन् । भौगोलिक रूपले स्वास्थ्य संस्था टाढा रहेका ४ ठाउँमा थप बर्थिङ सेन्टर स्थापना भएका छन् ।

निमित्त जिल्ला स्वास्थ्य प्रमुख रामस्वार्थ यादव अन्यत्रको तुलनामा डोटीमा उल्लेख्य प्रगति भएको भए पनि अझै मिहिनेत गर्नुपर्ने बताउँछन् । विगतमा सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन रकम तथा न्यानो झोला दिंदै आएको थियो । न्यानो झोलामा आमा तथा बच्चाका लागि उपयोगी लुगा कपडा हुने गरेको छ । तर यस पटक सो कार्यक्रम एक पटकका लागि जिल्ला स्वास्थ्यले स्थानीय तहहरूलाई हस्तान्तरण गरेको छ । ‘एक पटकका लागि न्यानो झोला सबै स्थानीय तहमा रकम पठाइएको छ, अब स्थानीय तहले आफंै व्यवस्था गर्नुपर्ने हुन सक्छ’ यादवले भने, ‘कतिपयले वितरण गरिसकिसकेका छन्, कतिपयले अरू प्रभावकारी अभियान ल्याइरहेका छन् ।’

प्रकाशित : चैत्र ३०, २०७४ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?