घटाल मन्दिरमा ‘बिशु जाँत’

चित्रांग थापा

डडेलधुरा — डोटीखोलाको पुछारमा रहेको घटाल थान क्षेत्रमा आइतवार विहानै देखि दर्शनार्थीको घुँइचो लागेको थियो । नदी किनारको घटाल बाबाको घट र मुर्ति रहेको ठाउँमा भक्तजनको ठूलो भिड थियो ।

आइतवार डडेलधुराको घटाल मन्दिरमा बिशु जाँतका बेला धामीहरु काम्ने महत्वपूर्ण कार्यक्रम हेर्न भेला भएका झक्तजनहरु । तस्विर: चित्रांग थापा/कान्तिपुर

उता नजिकै घटालका धामी काम्ने स्थानमा पनि बाजा गाजाको रमाइलो वातावरणमा धामीहरु काम्न थालेपछि जाँत ( मेला ) मा पुगेकाहरु उतै जान हतारिएका देखिन्थे।

बर्षेनी नयाँबर्षको दोस्रो दिन घटालथानमा बिशु जात धुमधाम संग धार्मिक आस्थाका साथ मनाइने गरेकोछ। डोटीखोला आसपासका गाउँबस्ती संगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरु बिशु जाँतका बेला घटाल बाबाको पुजा आजा संगै यो बिशेष अवसरमा काम्ने घटालका धामीबाट आशिष सहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन।

‘बिशु जाँतको अघिल्लो दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्‍याइन्छ’ स्थानिय दामोदर अवस्थीले भने, ‘दोस्रोदिन विहानै अशिग्राम मन्दिरबाट देउरो घटालस्थानमा आएपछि बिशुजात सुरु हुन्छ।’ उनका अनुसार देउरो सहित बाजागाजा बजाएर एक बिशेष ठाउँमा सवै भेला भएपछि घटालका धामी कामेर जिल्लाको र देश कै बर्षदिनभरीको अवस्था बताएर भक्तजनहरुका पीरमर्का सुनेर भाका दिने गर्छन। ‘धामीले दिएको भाका पुग्ने आमजनतामा बिश्वास छ’ अवस्थीले भने, ‘त्यसैले बिशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भएपनि घर फर्कने गरेका छन।’

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ। लडाइ मैदान मै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाइ कलियुगमा ख्यातिप्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेकोछ। ‘सदियौ.देखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका हुन’ डोटी चम्सालका पदम बोहरा बताउँछन।

घटाल बाबालाइ अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रुपमा पनि लिइन्छ। विगतमा जव जव खडेरी परेर अनिकालको अवस्था आयो, त्यतिवेला पानी माग्न खलंगा समेत बिभिन्न गाउँबस्तीका किसान यहि घटाल थानमा भेला हुन्थे’ दामोदर अवस्थी भन्छन, ‘घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात खेतिपातीलाइ पुग्ने बर्षा हुन्थ्यो।’ उनका अनुसार यो चलन अझैपनि कायमै छ।

सूर्यग्रणका बखत उपयुक्त तिथि र अनुकुल समय मिलाएर घटाल बाबाको स्नान गर्ने समारोह आयोजना हुने गरेकोछ। स्नान कार्यक्रम डडेलधुराको भित्रिमधेश क्षेत्रमा पर्ने महाकाली किनारको परशुराम धाममा हुने गरेकोछ। ‘घटालका सम्पूर्ण सुनचाँदीबाट बनाइएका बिभिन्न बस्तु र गहना तथा भक्तजनले चढाएका बहुमुल्य बस्तुहरु घटाल थान नजिकै चमसालमा रहेको देवघरमा राखिएकोछ’ अवस्थीले भने, ‘स्नानका बखत ति सवै बस्तु सहित स्थानियवासी, धामीहरुको लर्को सहित पैदले चुरे पहाड पार गरि परशुराम धाम पगेर स्नान पछि फर्किेने गरिएकोछ।’ उनका अनुसार यो स्नान यात्रा करिव १ साताको हुन्छ। ‘स्नान समारोहमा घटाल थान आसपासका गाउँहरुका महिलाहरु समेत सहभागी हुन्छन, यो लश्कर परापूर्वकालदेखि चल्दै आएकोछ’ उनले भने।

बिशुजाँतको अर्को आकर्षण आफन्तजनहरु संगको भेटघाट केहि समयका लागि भएपनि एकै थलोमा बसेर सुख दुख साँटासाँट गर्न पाउनु पनि हो। हालका बर्षमा बैदेशिक रोजगारी तिर जानेहरुको संख्या बर्षेनी बढन थालेकोछ। त्यसैले विगतमा जस्तो पुरुष भन्दा मेलामा महिलाहरुको उपस्थिति बढदै गएको देखिन्छ। ‘रोजगारीका लागि जानेहरुले मात्र होइन, बसाइ सरेर तराइ झर्नेहरु पनि बढे’ अवस्थीले भने, ‘तर जहाँ पुगेको भए पनि आफ्ना देवी देउता र थातथलोको मायाँले यस्तो जाँत मेलामा घर फर्केकै हुन्छन।’

प्रकाशित : वैशाख ३, २०७५ २१:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दूल्लुमा संग्रालय बनाइदै

दूल्लुमा नेपाली भाषाको पहिलो शिलालेख, सिंजा साम्राज्यको  नागवंशी र पाल वंशि राजाको कृति स्तम्भ  छ
कान्तिपुर संवाददाता

दैलेख — संरक्षण अभावले जीर्ण बनेका दुल्लुका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक धरोहरुको पुन:निर्माण गरिने भएको छ । दुल्लु नगरपालिकाको दोस्रो नगरसभाले दुल्लुमा सांस्कृतिक संग्रालय बनाउने निर्णय गरेको छ । 

पुन:निर्माणको पखाईमा रहेको दैलेखको दुल्लू दरबार । तस्बिर : कान्तिपुर       

सिंजा साम्राज्य र वाईसे राज्यको वेला दुल्लु राज्यको रुपमा रहेको ऐतिहासिक महत्वको क्षेत्रलाई संरक्षण र प्रचार प्रसार गरी पर्यकीय गन्तव्यको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ।

दुल्लुमा एक हजार ३८ वर्ष पुरानो साउपाल अढाई शाक्यद्वारा निर्मित पहिलो शिलालेख, ऐतिहासिक कोतगढी, अखण्ड ज्वाला र पुरातात्विक ढुंगेधारा लगायतका सम्पदा छन्। संरक्षण अभावमा जीर्ण बन्दै गएपछि नगरपालिकाले संग्रालय बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालेको हो। दुल्लुका सम्पदाको संरक्षण गर्नका लागि योजना बनाएको नगरप्रमुख घनश्याम भण्डारीले बताए। दूल्लुमा नेपाली भाषाको पहिलो शिलालेख, सिंजा साम्राज्यको नागवंशी र पाल वंशि राजाको कृति स्तम्भ छ।

त्यस्तै, जंगबहादुर राणाको बाबु बालनरसिंह कँुवरको समाधिस्थल बालेश्वर, काजी जसपाउ थापाले निर्माण गरेको पौवा, दुल्लु दरबार, धर्मगाधी, पंचदेवल लगायतका सम्पदा छन्। बिभिन्न मठमन्दिर, पार्टी, पौवाले पनि यहाँको धार्मिक महत्व दर्शाएको छ। देउडा, धमारी, रत्तेवली, नेउले भाका, कर्काे आशिका जस्ता लोक संस्कृतिका लागि समेत दूल्लु क्षेत्र महत्वपूर्ण मानिन्छ।

यहाँ रहेका पञ्चकोशी तिर्थस्थल, श्रीस्थान, निभिस्थान, पादुका र धरलेश्वर जस्ता सम्पदाको जीर्णद्वार गर्न थालिएको हो। कर्णाली खस सभ्यताको उद्गम थलोका रुपमा दुल्लु क्षेत्रलाई लिइन्छ। सिंजा साम्राज्य कालमा दूल्लुलाई हिउँदे राजधानी बनाइएको थियो।

ऐतिहासिक दुल्लु क्षेत्रको कला, संस्कृतिको जगेर्ना गर्नु नगरपालिकाको दायित्व भएको र संग्रालय निर्माण गर्न लागिएको नगर प्रमुख भण्डारीले बताए। उनले संग्रालय बनेपछि लोप हुन लागेका कला संस्कृतिको संरक्षण हुने जनाए। दुल्लु नगरपालिकाको क्षेत्रभित्र पर्ने पञ्चकोशी क्षेत्रको सम्र्बद्धन र संरक्षणका लागि उपयुक्त योजना बनाइने नगर प्रमुख भण्डारीको भनाइ छ।

प्रकाशित : वैशाख ३, २०७५ २१:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT