कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ज्यानमारा’ बन्दै ग्रामीण सडक

यत्रो दुर्घटना हुँदा पनि हचुवाका भरमा योजना बनाएर पहाड चिरा चिरा पार्ने काम दिनहुँ बढेको छ
मोहन शाही

डोटी — चार वर्ष अघि २९ जनाको ज्यान जाने गरी जोरायलमा भएको बस दुर्घटनाको चर्चा हुँदा अझै पनि भक्कानिएर रुने छन् । साँघुरो, त्यसमा पनि ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण जोरायलमा बस दुर्घटना भएको थियो ।

‘ज्यानमारा’ बन्दै ग्रामीण सडक

साँघुरो सडकका कारण दुर्घटना भएको सरकारी निष्कर्षपछि अहिले उक्त सडकलाई चौडा बनाउने क्रम तीव्र छ ।

विशु पर्व मनाउन आइरहेका बेला दुई वर्ष अघि संस्कृतविद् डा. जयराज पन्तसहित ८ जनाको मृत्यु भएको थियो ।

पुख्र्यौली थलो डोटीको उच्चाकोट जाने क्रममा भर्खरै खोलिएको कच्ची सडकको साँघुरो मोड कटाउन नसक्दा संस्कृतविद् पन्तका सपरिवारको घटनास्थलमै मृत्यु भएको थियो । ग्रामीण सडकमा यी दुई दुर्घटनामात्र होइनन् । गत वर्ष साउनमा बोगटान सडकको गगुडा खण्डमा सिमचौरका विपन्न मगर समुदायका ८ जनाको ज्यान गएको थियो । ३ जनाको ज्यान जाने गरी बडीकेदार गाउँपालिकाको अत्तरकाँडामा दुर्घटना भएको थियो । अधिकांश ज्यानमारा ग्रामीण सडकका कारण दुर्घटना हुने गरेका छन् । पछिल्लो समय पहाड चिरेर धमाधम ज्यानमारा ग्रामीण सडक बनाउने क्रम तीव्र छ । गम्भीर दुर्घटना आँखै अगाडि देख्दा पनि हचुवाका भरमा योजना बनाएर पहाड चिराचिरा पार्ने काम दिनहुँ बढेको छ । ‘यी त ज्यानमारा सडक नै हुन्, यसबाट समुदायले केही समयका लागि यातायातको सुविधा बाहेक थप फाइदा लिन सकेका छैनन्’ नेपाल बार एसोसिएसन डोटीका अध्यक्ष गोविन्द जोशीले भने, ‘अधिकांश कानुन सम्मत पनि छैनन्, जसलाई मन लाग्यो, माटो खन्ने काम गरेका छन् ।’

समुदायबीच आपसी प्रतिस्पर्धा, आफ्नो घर गाउँमा जसरी पनि सडक पुर्‍याउनुपर्ने होड, स्थानीय नेताहरूको अदूरदर्शी निर्णय, डोजर तथा स्काभेटर भएका ठेकेदारहरूबीचको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारण धमाधम सडक बन्ने गरेका छन् । ‘चार घरका लागि पनि लाखौं खर्च गरेर सडक लगिएका छन्’ बोगटान गाउँपालिका ६ गगुडाका हरिश चन्दले भने, ‘हिउँदमा सडक खोल्ने वर्षातमा भत्कने, अर्को वर्ष फेरि मर्मत गर्ने काम हुने गरेको छ । यसले दुर्घटना र बाढीपहिरोबाहेक केही निम्त्याउँदैन ।’

जथाभावी खनिएका सडकले दुर्घटनामात्र निम्त्याएको छैन, गर्मीयाममा सडकको धुलोले वातावरण प्रदूषण गरेको छ । वर्षातमा सडकमा आउने पहिरोले मलिलो खेत पूरै पटान गर्ने गरेको छ । डोटीको बानेडुंग्रीसैनबाट जिजौडामाण्डौ लगिएको सडकबाट बग्ने पानीले वर्षायाममा गहनान क्षेत्रको खेतीयोग्य जमिन बर्सेनि माटो र हिलोले पटान हुने गरेको छ ।

डोटीमा ४ वर्षको अवधिमा सवारी दुर्घटनामा ७८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । उनले दुर्घटना भएका मध्ये ७० प्रतिशत दुर्घटना ग्रामीण सडकमा भएको बताए । डडेल्धुरामा पनि अधिकांश दुर्घटना ग्रामीण सडकमा भएका छन् । चार वर्षको अवधिमा डडेल्धुरामा ३३ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबैभन्दा बढी लगानी सडक क्षेत्रमा भएको छ । क्षेत्रीय सडक डिभिजन कार्यालय डोटीका अनुसार डडेल्धुरा र डोटीमा मात्रै स्थानीय तहहरूले साना–ठूला गरी २ सय १३ वटा ग्रामीण सडक खोलेका छन् ।

प्रकाशित : वैशाख ६, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?