कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीचैमा स्कुल छाड्छन् दलित विद्यार्थी

वसन्तप्रताप सिंह

बझाङ — जयपृथ्वी नगरपालिकाकाको देवल गाउँकी जोग्यानी नेपालीका जेठा छोरा विनोद १७ वर्ष पुगे । विनोदले ५ कक्षासम्म पढेका छन् ।

बीचैमा स्कुल छाड्छन् दलित विद्यार्थी

गरिबीका कारण उनले बीचैमा स्कुल छाडेर रोजगारीका लागि भारत जानुपर्‍यो । त्यतिबेला उनी १४ वर्षका थिए । उनका भाइ विमल १४ वर्षका भए । उनी पनि कक्षा ४ मा अध्ययन गर्दागर्दै दाजुको साथ लागेर मजदुरी गर्न भारत पसे ।

जोग्यानी नेपालीले आफ्ना छोराहरूले पढाइ पूरा नगर्नुको कारणबारे भनिन्, ‘भनेको समयमा कापीकलम, ड्रेस दिन सकेनौं । सधैं अभावमा के पढ्नु आमा बरु कमाउन जान्छौं भने मैले पनि जाओ भन्दिएँ ।’ घरमा बिहान बेलुका खान, लाउनक समस्या भएका कारण छोराहरूको माग पूरा गर्न नसकेको उनले बताइन् । यही गाउँकी बाटु सार्कीकी १४ वर्षकी छोरी सुनीताले पनि ७ कक्षासम्म पढेपछि विद्यालय छोडिन् ।

उनका १२ वर्षका छोरा रूपेशले पनि ५ कक्षा मात्र पढेर स्कुल छाडे । कारण थियो सँगै पढ्ने साथीहरू राम्रा लुगा लगाएर स्कुल जान्थे । भनेको बेला कापीकलम हुन्थ्यो । उनीहरू फाटेको लुगामा स्कुल जान लजाउँथे । बाटुले भनिन्, ‘लाज लाग्छ स्कुल जान्नौं भनेर भन्न थाले । उनीहरूले भनेको बेला सबै कुरा दिन सक्ने अवस्था पनि थिएन । साँवा अक्षर चिन्ने भइहाले । हामी गरिबले पढेर पनि नै हुन्छ र ? भनेर स्कुल छुटाइदियौं ।’

बाटु र जोग्यानीका छोराछोरीको जस्तै हालत बझाङका अधिकांश दलित विद्यार्थीहरूको रहेको छ । जिल्लाका केही गाउँहरूमा गरिएको सर्वेक्षणले पढाइ पूरा नगरी विद्यालय छोड्नेमा गैरदलितभन्दा दलित विद्यार्थीको संख्या निकै बढी रहेको देखिएको छ । बझाङको जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रले जिल्ला शिक्षा कार्यालयका कर्मचारीसहितको टोलीको सहयोगमा ३ वटा स्थानीय तहका ७ वटा दलित बस्तीमा मात्रै यसै वर्ष ९० जनाले बीचैमा विद्यालय छाडेको पत्ता लगाएको हो ।

अध्ययन केन्द्रले गरेको सर्वेक्षणमा केदारस्युँ गाउँपालिकाको सेकु भन्ने दलित बस्तीका मात्र १६ वर्षमुनिका २० जनाले बीचैमै स्कुल छाडेको भेटिएको छ । यसै थलारा गाउँपालिकाको कुच, पिखेत, खानी, बगडगाउँ र गुमै गाउँमा रहेका दलित बस्तीका स्कुल पढ्ने उमेरका ६१ बालबालिकाहरूले यसै वर्ष बीचैमा पढाइ छाडेको भेटिएको अध्ययन केन्द्रका अध्यक्ष जगदीश रोकायाले बताए ।

यस्तै सदरमुकाम नजिकै रहेको जयपृथ्वी नगरपालिकाको देवलमा यस वर्ष विद्यालय छोड्ने दलित विद्यार्थीको संख्या ९ रहेको उनको भनाइ छ । बीचैमा विद्यालय छोड्नेहरूले अधिकांश कक्षा ४ देखि ७ सम्म अध्ययन गरेपछि छोडेको पाइएको उल्लेख गर्दै रोकायाले भने, ‘धेरैले न्यून आर्थिक अवस्थाका कारण विद्यालय छाडेको पाइयो । हामीले अध्ययन गरेका बस्तीहरूमा गैरदलितका विद्यार्थीहरूको ड्रप आउट दलितको तुलनामा नगन्य छ ।’

‘अधिकांश विद्यार्थी पढाइ छाडेर आफ्ना अभिभावकसँगै भारततिर मजदुरीका लागि जाने गरेको पाइयो,’ शिक्षा कार्यालय बझाङका प्रमुख सुरेन्द्र कठायतले भने, ‘१० वर्षदेखि माथि उमेर पुग्नेबित्तिकै धेरैजसोले स्कुल छोड्ने गरेका रहेछन् ।’ दलित समुदायका लागि आयआर्जनका विकल्पहरू सीमित भएका कारण अधिकांश भारत नै जानुपर्ने बाध्यता रहेको उनले बताए । बझाङमा कक्षा १ देखि १० सम्म अध्ययन गरिरहेका दलित विद्यार्थीको संख्या ७ हजारको हाराहारीमा रहेको छ । यस वर्ष मात्र करिब ७ सय विद्यार्थीहरू वार्षिक परीक्षामा सहभागी नभएको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ ।

सरकारले दलित समुदायका विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्न विभिन्न खालका सुविधा दिएको छ । यद्यपि उनीहरूको दैनिक गुजाराको समस्या नै ठूलो रहेको छ । अधिकांश दलित अभिभावक निरक्षर भएका कारण शिक्षाको महत्त्व थाहा नपाउँदा केटाकेटीलाई बीचैमा स्कुल छुटाउने गरेको नमुना निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्र रसाइलीले बताए । उनले दलितभित्रको पनि दलितका रूपमा चिनिएको बादी समुदायका कुनै पनि बालबालिकाले पढाइ पूरा नगर्ने गरेको बताए ।

जिल्लामा दलित समुदायको जनसंख्या कुल २५ हजार छ । जसमा ११ हजार ४ सय दलित मजदुरीका लागि भारत गएको जिल्ला समन्वय समितिको तथ्यांक छ । जसमा महिलाको संख्या ६ हजार ३१ छ । बझाङका अरू समुदायमा रोजगारीका लागि महिला बाहिर जाने चलन छैन । दलितको कुल जनसंख्यामध्ये १२ हजार ४ सय १६ जना अहिलेसम्म पनि निरक्षर रहेको जिल्ला समन्वय समितिले २०७२ सालमा तयार गरेको दलित प्रोफाइलमा उल्लेख छ ।

प्रकाशित : वैशाख ८, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?