कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाह्रसिंगाको अनुगमन र गणना

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताहको अवसर पारी वैशाख ३ देखि सुरु भएको बाह्रसिंगाको अनुगमन तथा गणना शुक्रबार सकिएको छ ।

बाह्रसिंगाको अनुगमन र गणना

निकुञ्ज कार्यालयले सप्ताहको अवसरमा हरेक वर्ष बाह्रसिंगाको अनुगमन तथा गणना गर्दै आएको छ । बाह्रसिंगाको आहारा, बासस्थान र अहिलेको अवस्थाबारे अनुगमनसँगै गणना गरिएको संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रूपमा अनुगमन तथा गणना गरेको हो । ५ हात्तीसँगै २५ बढी प्राविधिक गणना तथा अनुगमनमा खटिएका थिए ।

‘हेड काउन्टिङ विधिबाट गणना गरिएको हो,’ घिमिरेले भने, ‘अब १/२ दिनमा बाह्रसिंगाको अवस्था पनि पत्ता लाग्नेछ ।’ गत वर्ष गरिएको गणनाअनुसार शुक्लामा २ हजार ३ सय बढी बाह्रसिंगा छन् । यो वर्ष पनि अनुगमनका क्रममा राम्रो बथान देखिएकाले संख्या बढ्न सक्ने अनुमान गरिएको राष्ट्रिय प्रकृति संरक्षणको कोषको शुक्लाफाँटा कार्यक्रमका प्रमुख अनिल प्रसाईंले बताए । ‘प्रारम्भिक रूपमा हेर्दा बाह्रसिंगाको संख्या बढेको देखिन्छ,’ उनले भने, ‘तर वास्तविक अवस्था नतिजा आएपछि पत्ता लाग्नेछ ।’

गत र अघिल्लो वर्ष गरी चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा १२ बाह्रसिंगा स्थानान्तरण गरिएका थिए । यसका साथै निकुञ्जमा हालका वर्षमा बाघको संख्या पनि बढ्दै गएका कारण ठूलो मात्रामा वृद्धि नभए पनि अवस्था सन्तोषजनक रहेको प्रसाईंको भनाइ छ ।

शुक्लासँगै जोडिएको भारतको लग्गाबग्गा नेसनल पार्कमा घाँँसे मैदान व्यवस्थापन राम्रो भएका कारण वन्यजन्तु ओहोर दोहोर गर्ने गरेको उनले बताए । वन्यजन्तु सप्ताहको अवसर पारी निकुञ्ज कार्यालयले चरा अवलोकन, सरसफाइ र संरक्षणसम्बन्धी अन्तक्र्रिया पनि गरेको छ । घिमिरेका अनुसार निकुञ्जभित्रका रानीताल, कालीकिचताल, शुक्लाफाँटा ताल र बाबाताललगायत क्षेत्रमा चरा अवलोकन गरिएको छ ।

गैंडाको पनि अनुगमन सुरु
निकुञ्जमा बाह्रसिंगासँगै गैंडाको पनि अनुगमन सुरु गरिएको छ । खासगरी गत वर्ष चितवनबाट स्थानान्तरण गरी ल्याएका गैंडाको अवस्था बुझ्न अनुगमन सुरु गरिएको हो । वैशाख २ देखि सुरु भएको अनुगमन १०/१२ दिनसम्म चल्नेछ । स्थानान्तरण गरिएका गैंडाको बासस्थान, आहारा, चरन क्षेत्र र बच्चा पाए/नपाएको विषयमा भने अनुगमन भइसकेको कोषका प्रमुख प्रसाईंले बताए ।

‘अहिले हात्तीसहितको प्राविधिक टोली गैंडाको बासस्थान र आहाराको अनुगमन गरिरहेको छ,’ उनले भने, ‘यहाँ भएका सबै गैंडा नदेखिएसम्म अनुगमन चल्नेछ ।’ शुक्लामा १२ भालेसहति १७ गैंडा रहेको निकुञ्ज कार्यालयको अनुमान छ ।गत वर्ष चितवनबाट १ भालेसहित ५ गैंडा स्थानान्तरण गरिएको हो । चितवनबाट ४ पोथी ल्याइएकाले बच्चा पाएको हुन सक्ने अनुमान पनि गरिएको छ । स्थानान्तरण गरिएकासँगै यहाँका रैथाने गैंडाको अवस्थाबारे पनि टोलीले आवश्यक अध्ययन गर्ने प्रसाईंले बताए ।

प्रकाशित : वैशाख ८, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?