कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतले गाउँमै रोजगारी

वसन्तप्रताप सिंह

बझाङ — तल्कोट गाउँपालिकाको दाँतोलाका विण्णु जेठारा ४ वर्ष अघी ६ महिना भारतको अल्मोडा जान्थे । हिउँदमा ३ महिना र बर्खाका ३ महिना उनी भारतको सिमला, अल्मोडा र रानिखेततिर खोटो संकलन गर्ने, स्याउ टिप्ने, भारी बोक्ने सडक खन्ने लगायत काम गर्थे ।

विद्युतले गाउँमै रोजगारी

घर फर्कदा उनको साथमा परिवारका सदस्यलाई एक जोर लुगाफाटो र केही नगद हुन्थ्यो । ३ महिना घरमा खेतीपातीको काम सकाएपछि उनको त्यही प्रक्रिया दोहोरिन्थ्यो । आमाबुवा, श्रीमती र केटाकेटीलाई रुवाउँदै उनी फेरि कालापहाडतिरै हान्निन्थे । ३२ वर्षीय उनको जीवनका धेरैजसो ऊर्जाशील दिनहरू यसरी नै बिते । ‘न काम गरेअनुसारको कमाइ हुन्थ्यो । न त घर परिवारसँग बसेर सुखदु:ख साट्न नै पाइन्थ्यो’ विगत कोटयाउँदै उनले भने, ‘गाउँमा काम नपाएपछि कालापहाड जानुको विकल्प पनि केही हुँदैनथ्यो ।’ त्यसबेला घरमा कोही दु:खबिरामी हुँदा र मर्दापर्दा पनि थाहा नहुने गरेको बताउँदै उनले गाउँमा आएको विद्युत्ले आफ्नो जीवन उज्यालो बनाएको सुनाए ।

उनले अहिले गाउँमा फर्निचर उद्योग खोलेका छन् । उनको उद्योगमा काम भ्याइ नभ्याई छ । उद्योगसंगै खोलेको कुटानीपिसानी मिल पनि उस्तै चलेको छ । परिवारका सदस्य सहित ४ जना अरुले पनि रोजगारी पाएका छन् । आम्दानी पनि राम्रै छ । गाउँमा विद्युत् पुगेपछि धेरै युवा रोजगार भएको सुनाउँदै उनले भने, ‘हातेकागज उद्योगमा ७ जनाले काम पाएका छन्, फोटो स्टुडियो, मोबाइल मर्मत केन्द्र, कम्युटर तालिम केन्द्र, मसला उद्योगजस्ता व्यवसाय गरेर पहिला भारत जाने युवाहरू अहिले गाउँमै रोजगार भएका छन् । बिजुली आएपछि यहाँको धेरै कुरा परिर्वतन भएको छ ।’

दाँतोला मात्र हैन, लद्यु जलविद्युत् आयोजनाहरू मार्फत गाउँमा विद्युत् सेवा पुगेपछि जिल्लाका सयौं युवा गाउँमै स्वरोजगार बनेका छन् । ९ वटा लद्यु जलविद्युत् आयोजना रहेको खप्तड छान्ना गाउँपालिकाका शैलेन्द्र रोकायाले छान्नामा मात्र २ सयभन्दा बढी विद्युत्सँग सम्बन्धित उद्योगहरू खुलेको र यी उद्योगहरूले १ हजारभन्दा बढी युवालाई रोजगारी दिएको बताए । उनले भने, ‘विद्युत् पुगेपछि धेरै सम्भावनाका ढोका खुलेका छन् । एकअर्काको देखासिकी गरेर युवाबीच गाउँमै स्वरोजगार हुने प्रतिस्पर्धा चलेको छ,’ उनले छान्ना क्षेत्रबाट रोजगारीको लागि भारत जाने चलन बिस्तारै हराउन थालेको बताए । विद्युत पुगेपछि आफ्नो गाउँपालिकामा पनि आर्थिक गतिविधिहरू निकै बढेको र धेरै मानिसहरू रोजगार भएको बताउँदै बित्थड चिर गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले भने, ‘३/४ सय युवाहरू प्रत्येक्ष रोजगारीमा छन् । विद्युत आएपछि वेल्डिङ, फर्निचर, कुखुरापालन उद्योग, इलेक्ट्रोनिक पसल, फोटो स्टुडियो, कुटानी पिसानी मिलजस्ता धेरै उद्योग गाउँमै खुलेका छन् । स्थानीयलाई पनि धेरै सुविधा भएको छ ।’

जिल्ला समन्वय समितिको ऊर्जा तथा जलवायु परिर्वतन शाखाको तथ्यांकअनुसार २०६३ साल यता जिल्लाका विभिन्न गाउँहरूमा ५९ वटा लघु जलविद्युत् योजना निमार्ण सम्पन्न भइसकेको छ । ३८ वटा योजना निमार्णाधीन अवस्थामा रहेका छन् । उर्जा शाखाका अनुसार पछिल्लो समयमा बझाङ जिल्लाका २० हजार २ सय ९१ घरधुरीमा जल विद्युत सेवा पुगी सकेको छ । धेरै योजनाहरू निर्माण सम्पन्न हुने चरणमा रहेकोले दुई तीन वर्षभित्रै जिल्ला भरीका सबै घरधुरीमा जलविद्युत सेवा पुग्ने अनुमान छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार बझाङ जिल्लामा ३३ हजार घरधुरी छन् ।

प्रकाशित : वैशाख १०, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?