कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सौका समुदायको बसाइ सुरु

नेपालतर्फ पैदल बाटोसमेत छैन
भारतमा अनुमतिपत्र बनाउन झन्झटिलो
मनोज बडू

दार्चुला — दार्चुलामा मात्र बसोवास गर्ने हिमाली भेगका सौका समुदायको कुञ्चा (बसाइ सराइ) को तयारी सुरु भएको छ । गर्मीयाम सुरु भएपछि बेंसीबाट हिमाली क्षेत्र फर्कने सौकाहरू यो वर्ष पनि यतिबेला ६ महिनाका लागि दार्चुलाको व्याँसगर्खा बसाइ सर्न थालेका हुन् ।

सौका समुदायको बसाइ सुरु

सौका समुदाय सदरमुकाम खलंगाबाट हिमाली क्षेत्र ब्यासमा बसाइ सर्ने तयारी गरिरहेका भएपनि स्वदेशबाट बाटो नहुँदा समस्या झेल्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।

सौका समुदायको बसाइसराइ वैशाखको पहिलो साताबाट सुरु हुने गर्छ । ब्याँस पुग्न नेपालतर्फ भरपर्दो बाटो नहँुदा सौका समुदायको कुञ्चा सराइका बखर्त भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । अहिले भारतीय मार्गमा सडक निर्माण भइरहेकाले यो वर्षको बसाइसराइ अप्ठ्यारो हुने व्यास १ छाङ्रुका सुरनसिंह बोहराले बताए । ‘मानिस र पशुको प्रवेश अनुमतिपत्र नबनाई भारतीय पक्षले आफ्नो भूमिबाट जान दिंदैन,’ उनले भने, ‘भारतमा नेपालीहरूलाई अनुमतिपत्र बनाउन झन्झटिलो भइरहेको छ ।’

भारतीय पक्षले प्रवेश अनुमति दिए पनि भारतीय क्षेत्रमा सडक निर्माण भइरहेकाले केही ठाउँमा स्वदेशी भूमि भएरै हिँड्नुपर्नेछ । ‘उक्त क्षेत्रमा बाटो अप्ठ्यारो भएकाले यो वर्षको बसाइसराइ असहज हुने देखिन्छ । स्वदेशको घाटीबगड, बुदीको ओकालोलगायत ठाउँमा बाटो भत्केको र अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन,’ बोहराले भने । ब्याँस गाउँपालिकाले दुम्लिङदेखि छाङ्रुसम्मको बाटो निर्माणका लागि एक हप्ताअघि टेन्डर मार्फत ठेकेदार छनोट गरेको भए पनि अहिलेसम्म निर्माण कार्य सुरु नभएको उनले जानकारी दिए ।

ब्याँस गाउँपालिकाले उक्त घोरेटो बाटो निर्माणका लागि २५ लाख बजेट पहिले नै विनियोजन गरिसकेको थियो । ‘कहिलेसम्म बाटो निर्माण भइसक्नुपर्ने हो ?’ बोहराले प्रश्न गर्दै भने, ‘समयमै बाटो निर्माण भइदिएको भए अहिले आफूहरू स्वदेशबाट नै बसाइ सर्ने थियौ ।’ ब्याँस गाउँपालिकाले दुम्लिङदेखि दोपखेसम्म घोरेटो बाटो निर्माणका लागि दुई चरणमा ठेक्का सम्झौता गरेको भए पनि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । एक हप्ताअघि ब्यासी कन्स्ट्रक्सन र नाम्पा निर्माण सेवालाई निर्माणको जिम्मा दिएको जनाएको छ । सौकाहरू वर्षका न्यानो छ महिना हिमाल र बाकी छ महिना बेंसी सदरमुकाम खलंगा बसाइ सर्ने गर्छन् ।

आफ्नो समुदायको बसाइसराइ पशु चौपायासहित बालबच्चा बर्सेनि हिमाल चढ्ने र बेंसी झर्ने परम्परादेखि चलिआएको हुनाले यसलाई कुञ्चा सार्नु भन्ने गरेको मोती महिला संघ प्राविका शिक्षक चमकसिंह तिंकरीले बताए । वैशाखदेखि मंसिरसम्म हिमालमा बस्ने र चिसोको समयमा आफूहरू विगतदेखि नै सदरमुकामै बस्दै आएको उनको भनाइ छ ।

भारतीय बाटो प्रयोग गर्न अनुमतिपत्र लिनुपर्ने हुँदा सौका समुुदायको कुञ्चा सराइ झन्झटिलो हुने ब्याँस गाउँपालिका १ तिंकरका मोहनसिंह तिंकरीले बताए । मानिसको भन्दा पशुको प्रवेश अनुमतिपत्र बनाउन झन्झटिलो हुने उनको भनाइ छ । ‘भारतको धार्चुलामा पशु क्यारान्टाइन नभएकाले बाहिर जानुपर्ने हँुदा साह्रै अप्ठ्यारो हुने गर्छ,’ तिंकरीले भने, ‘नेपालको क्वारेन्टाइन चेक गरेको भारतले मान्दैन ।’

मानिसहरूका लागि यताको प्रशासनिक प्रक्रिया पूरा गरेपछि अनुमति दिने र पशुको प्रवेश अनुमतिपत्र बनाउन झन्झटिलो हुने उनको भनाइ छ । वैशाखमा सरेको कुञ्चा मंसिरमा बेंसी झर्ने भएकाले अहिलेदेखि मंसिरसम्म पशु चौपाया र मान्छेहरूका लागि आवश्यक रासनसहित बन्दोबस्ती सबै सामान साथै लिएर जाने गरेका छन् । यो समुदाय सदरमुकाम खलंगाबाट ब्याँस सरेपछि तिब्बतको तांक्लाकोट पुगेर व्यापार गर्ने गर्छन् । उनीहरू ताक्ंलाकोटमा व्यापार गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट बहुयात्रा अनुमतिपत्र बनाउने गर्छन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालयमा सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेशपत्र बनाउने क्रम सुरु भएको छ । प्रशासनले ब्याँस र तिब्बत जानका लागि बहुयात्रा अनुमतिपत्र लिने गर्छन् । ब्याँसका स्थानीयले आफ्नै भूमिमा जान गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिनुपर्ने प्रावधान छ । यहाँका सरकारी निकायको सिफारिसका आधारमा भारतीय एसडीएमबाट अनुमतिपत्र स्वीकृत भएपछि स्थानीय सौका समुदाय भारतीय बाटो हुँदै कुञ्चा सार्न पाउँछन् ।

प्रकाशित : वैशाख ११, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?