कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली भूमि भारतीयद्वारा भोगचलन

मोहन बुढाऐर

भजनी (कैलाली) — कैलालीको सीमा क्षेत्रमा भारतीय नागरिकहरूले करिब ७० बिघा नेपाली भूभागमा अतिक्रमण गरी वर्षौंदेखि भोगचलन गरेको पाइएको छ ।

नेपाली भूमि भारतीयद्वारा भोगचलन

कैलालीको पूर्वोत्तर क्षेत्रमा पर्ने नेपाल–भारत सीमाक्षेत्रमा रहेको मुख्य सीमास्तम्भ ७०५ देखि त्यसैको सहायक स्तम्भ ४ सम्म ५० बिघा र मुख्य स्तम्भ ७१३ र त्यसैका सहायक स्तम्भ २ र ३ को क्षेत्रमा २० बिघा गरी ७० बिघा नेपालतर्फको भूभाग अतिक्रमण गरेका हुन् । भारतीय नागरिकले जग्गा अतिक्रमण गरेर गहुँ र मसुरोलगायत बाली लगाएर चलनभोग गरिरहेका हुन् ।


भारतीय नागरिकले साढे ४ दशकअघिदेखि नेपाली भूमि अतिक्रमण गरी उपभोग गरिरहेको स्थानीयले बताए । ‘२०४० मा आएको भीषण बाढीले सीमा नदी मोहना नेपालभित्र पस्यो,’ स्थानीय भोजराज ढुंगानाले भने, ‘त्यसपछि नदीपारि परेको नेपालको जग्गा भारतीयहरूले कब्जा गरी खेती गर्दै आएका छन् ।’ यसअघि त्यो भूमिमा नेपालीहरूकै बसोबास थियो । उक्त जग्गा अहिले भारतको सीमावर्ती रत्नानगरका बासिन्दाले चलनभोग गरिरहेको र केही क्षेत्रमा वृक्षरोपण गरी नर्सरीसमेत स्थापना गरेको ढुंगानाले बताए ।


यस्तै, भजनी नगरपालिका ५ लालीगुराँस सामुदायिक वन क्षेत्रमा पर्ने झुठाघाटमा पनि भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमणमा परेको छ । भारतको नौबस्ती लखनाई गाउँका बासिन्दाले करिब २० बिघा नेपाली जग्गा मिचेर खेती गरेको स्थानीय देशबहादुर चौधरीले बताए । उक्त अतिक्रमित क्षेत्रसँग जोडिएको सामुदायिक वनभित्र भारतीयहरूले हक–अधिकारको दाबी गर्दै जबर्जस्ती काठ, दाउरा लिएर जाने गरेको उपभोक्ता समिति अध्यक्षसमेत रहेका चौधरीले बताए ।

उक्त ठाउँमा नेपाल–भारतको ७१३ नम्बर स्तम्भ र त्यसैका २ र ३ सहायक स्तम्भ छन् । सीमा नदीवारि आएर भारतीय नागरिकले नेपाली भूमि मिचेको विषयलाई सरकारले गम्भीर रूपमा नलिएको स्थानीयको गुनासो छ । ‘भारतीय पक्षबाट नेपाली जमिन मात्रै कब्जा भएको छैन, सीमावर्ती नेपालीलाई त्रासमा राखेर सीमासँग जोडिएको प्राकृतिक सम्पदा जंगल, ताल र चरिचरन क्षेत्रको समेत दोहन भइरहेको छ,’ संरक्षणका क्षेत्रमा कार्यरत स्थानीय विजयराज श्रेष्ठले भने । उनका अनुसार झुठाघाट क्षेत्रमा भारतीयहरूले ०५५ मा अतिक्रमण गरेका हुन् । त्यसबेला दुवै देशका नागरिकका बीचमा सीमाबारे द्वन्द्व नै भएको थियो । विवादका बीच भारतीय पक्षले गोली चलाउँदा एक नेपालीको मृत्युसमेत भएको थियो । सरकारले समयमै तदारुकता नदेखाउँदा अहिले त्यो जमिन गुमेको श्रेष्ठले बताए ।


सीमा सर्वेक्षणमा पनि नेपाली भूमि अतिक्रमण भएको देखिन्छ नेपाल–भारतको फिल्ड सर्भे टिमको ४ नम्बर टोली प्रमुख सुदर्शनसिंह धामीले कैलालीसित जोडिएको सीमा लाइन ‘फिक्स’ गर्दा उक्त क्षेत्र ‘क्रस बोर्डर अकुपेसन म्याप’ मा परेको बताए । ‘कैलालीमा मुख्य सीमास्तम्भ ७०५ देखि ७०५ को सहायक स्तम्भ ४ को सीमा लाइन फिक्स गर्दा नेपालको अन्दाजी ५०/५५ बिघा जग्गा भारतीय नागरिकहरूले कब्जा गरेको देखिन्छ,’ धामीले भने, ‘यस्तै ७१३ को सहायक सीमास्तम्भ २ र ३ मा पनि नेपाली भूमि भारतीय नागरिकबाट चलनभोग भएको पाइएको छ ।’ धामीले फूलबारी र मौरियामा नेपालीले चलन भोग गरेको क्षेत्र अहिले भइरहेको ‘बाउन्ड्री लाइन फिक्स’ ले भारततर्फ परेको बताए ।


धामीले नेपाल–भारत सीमा सर्वेक्षणको काम मंसिरदेखि सुरु भएको र कैलालीको खक्रौलाको ७ सयदेखि कञ्चनपुरको ब्रह्मदेवसम्मको ८११ स्तम्भसम्मको सर्वेक्षणको काम सकिएको जनाए ।

प्रकाशित : वैशाख १२, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?