एनजीओ फर्के, संक्रमित भोकै

राहत सकिएपछि बिचल्लीमा
६ महिना अवधिमा ४ को मृत्यु
गोदावरीमा १ सय ७४ संक्रमित
मोहन बुढाऐर

धनगढी — कैलाली गोदावरी नगरपालिका–१२ ओलानीकी जानकी चुनाराले केही वर्षअघि छोरालाई एचआईभी संक्रमित भए/नभएको पत्ता लगाउन रगत जाँच गराइन् । संक्रमण नभएकाले रिपोर्ट नेगेटिभ देखियो । उनले छोरा संक्रमित भएकाले रगतको रिपोर्ट पोजिटिभ नै देखा परेको बताउन थालिन् ।

कैलालीको गोदावरी नगरपालिका–११ को ओलानी गाउँका एचआईभी संक्रमित परिवार । तस्बिर : मोहन

जानकीले हुँदै नभएको संक्रमण छोरालाई देखा परेको बताउनुको कारण एचआईभी/एड्स संक्रमितहरूले सरकारी र गैरसरकारी निकायबाट पाउने राहत सहयोगका लागि मात्रै थियो । लामो समयदेखि एचआईभी/एड्ससँगै अन्य बिरामीले थला परेकी जानकीको भने गत वैसाख १९ मा मृत्यु भएको हो ।

‘एचआईभी/एड्ससँग जुझिरहँदा जानकीको पाठेघरमा क्यान्सर भइसकेको थियो,’ एचआईभी/एड्स संक्रमितहरूको संस्था गोदावरी प्लसका अध्यक्ष दिलबहादुर वडले भने, ‘उपचार गर्न नमानेर उनले मृत्युलाई रोजिन् ।’ उनका अनुसार एआरटी सेन्टर धनगढीले उनको पाठेघरको उपचार गराउन काठमाडौंसम्म पुर्‍यायो । ‘त्यहाँ उनी आफैंले उपचार गर्न मानिनन्,’ धनगढीको सेती अञ्चल अस्पातल स्थित एआरटी सेन्टरका प्रमुख लोकराज पनेरूले भने, ‘उपचार गर्न मानेकी भए, जानकी निको हुन सक्थिन् ।’ जानकीले एआरटी औषधि सेवन गर्न समेत छोडेकी थिइन् । संक्रमितले केही वर्ष थप बाँच्न नियमित रूपमा एआरटी औषधि र पोषणयुक्त खाना खानैपर्छ ।

Yamaha

जबसम्म गैरसरकारी संस्थाबाट उनले राहत सहयोग पाइरहिन्, त्यतिबेलासम्म रोग र भोकले उनलाई समस्या पारेन । गोदावरी प्लसका उपाध्यक्ष पार्वती विक भन्छिन्, ‘जब संस्थाहरूको राहतमुखी कार्यक्रम सकियो, जानकी लगायत कैलाली गोदावरीका संक्रमितहरू बिचल्लीमा परे ।’ उनका अनुसार कैलालीको गोदावरी लगायतका ठाउँमा सन् २००७ देखि २०१६ सम्म एक दर्जनबढी एनजीओहरूले एचआईभी/एड्स रोकथामको क्षेत्रमा काम गरे ।

‘त्यसबेला संस्थाहरूको कार्यक्रममा जान भ्यानभ्याइ थियो,’ स्थानीय संक्रमित बिन्द्रा विकले भनिन्, ‘कार्यक्रमको भत्ताबाटै महिनामा १५/२० हजार आम्दानी हुन्थ्यो ।’ उनका अनुसार घरको खेतीपाती र अरू व्यवसाय गर्नु भन्दा एनजीओहरूका कार्यक्रम पुग्ने र राहत बुटल्नमै संक्रमितहरूलाई फुर्सद हुँदैनथ्यो ।

थरीथरीका संस्थाहरू संक्रमितहरूको खोजी गर्दै आउने–जाने क्रम निरन्तर चलिरह्यो ।

यहाँसम्म कि, कतिपय संस्थाले संक्रमितका घरमै पुगेर चामल, दाल, हरियो सागपात, कुखुराका अण्डा बाँड्ने गर्थे ।

त्यस्तै केही संस्थाले संक्रमितका बालबालिकाको पढाइशुल्क लगायत पाठ्य पुस्तक र स्टेसनरी, चिसोमा कम्बल, गर्मीमा लामखुट्टेबाट जोगिन झुलसमेत बाँड्ने गरेका थिए । एआरटी औषधि लिन सेती अञ्चल अस्पताल पुग्नेलाई एएचएफ नेपाल नामक संस्थाले उहिल्यैदेखि हालसम्म पनि यातायात खर्च अहिले दिँदै आएको छ । ‘संक्रमितहरूलाई सधैंभरि यस्तै दिन रहने हुन् भन्ने लाग्थ्यो,’ उनले भने, ‘संघ/संस्था फर्केपछि थाहा भयो, रोग र भोकमा बाँच्नुको पीडा । उतिबेला संस्थाहरूले गर्ने सहयोगको फाइदा लिन संक्रमितहरू भटाभट समाजमा खुलेका थिए । अहिले सार्वजनिक भएको पीडा भोग्नुपरेको उनीहरू बताउँछन् । ‘रोगलाई लुकाउनुभन्दा खोल्दा बढी फाइदाको देखियो,’ संक्रमित शान्ता विकले भनिन्, ‘सबैले आफूहरू संक्रमित भएको खुला रूपमा भन्न थाल्यौं, अहिले खुलेकै कारण घरेलु काम पाउन समेत समस्या भएको छ ।’

एनजीओहरू कार्यक्रम सकिएर फर्किएपछि शान्ताको मनमा ‘रोग लुकाएर राखेको भए, संक्रमितले अहिले भोकै मर्नुपर्ने अवस्था आउँदैनथ्यो कि भन्ने प्रश्न उव्जेको छ । ‘रोग लुकाउने बेला सम्म, संक्रमितले घरेलु काम पाउने गरेका थिए’ उनले भनिन्, ‘रोगबारे सार्वजनिक भएपछि स्थानीयले घरेलु काममा लगाउन छोडेका छन् ।’ उनले सडकमा बेल्चा चलाउने जस्ता गहु्रँगो लेबर काम शारीरिक कमजोरीले गर्न नसकिने बताइन् ।

धेरै वर्षसम्म रोग लुकाएर स्थानीयको घरेलु काम गरी चुपचाप जीवन धानिरहेका संक्रमितलाई सार्वजनिक गरेर गैरसरकारी संस्थाले अलपत्र अवस्थामा छोडेकोमा गोदावरी प्लसका अध्यक्ष दिलबहादुर वडको पनि आक्रोश छ । ‘खुलेपछि सहयोगी संस्थाले भनेअनुसार गोदावरी प्लसका नाममा संगठन पनि बनायौं,’ उनले भने, ‘उनीहरूको कार्यक्रम सकियो, हाम्रो संस्थामा पनि दानापानी भएन, ती संस्थाकै दानापानीमा मोटाएका हामी संक्रमित पनि सुक्यौं ।’ संक्रमितहरूको साझा संस्थाको रूपमा गोदावरी प्लस २०६४ मा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको हो ।

अध्यक्ष वडका अनुसार अहिले गोदावरी प्लससँग एउटा कार्यक्रम पनि छैन । यहाँका संक्रमितहरूलाई कहिलेकाहीं सेभ द चिल्ड्रेनले उपचारमा सहयोग गर्दै आएको छ । उनले गोदावरी प्लससँग पैसा भएको अवस्थामा संक्रमित पनि बलिया भएको बताए । ‘हामीसँग संक्रमितका मागबारे आवाज उठाउन कोष थियो, हाम्रा कुरा सबैले सुन्थे, एनजीओ, आईएनजीओले पनि सुन्थे। त्यसैले संक्रमित बलिया थिए,’ अध्यक्ष वड भन्छन्, ‘आफ्नै जीवन धान्न नसक्ने अवस्थामा पुगेपछि फेरि समाजमा संक्रमित हेपिए। हाम्रो अवस्था पहिलेझैं दयनीय बन्दै गएको छ ।’

उनका अनुसार संगठन बलियो भएको समयमा साबिकको गोदावरी गाविसबाट बजेट समेत विनियोजन हुन्थ्यो । सरकारी स्कुलमा संक्रमितका बच्चाले नि:शुल्क पढ्न पाउँथे । गाउँको स्रोतमा समान हक मागिन्थ्यो । संक्रमित कमजोर भएको यो समयमा गोदावरी नगरपालिकाले गाविसबाट पाएको सुविधा समेत कटौती गरेको छ । संक्रमितहरूको क्षमता विकासमा बजेट छुट्याएको छैन ।

‘दाताहरू फर्केपछि हामी अलपत्र परेका छौं,’ अध्यक्ष वडले भने, ‘यस्तो अवस्थामा हामी पनि यही देशका नागरिक भएकाले कम से कम सरकारले त हाम्रो पीडा हेर्नुपर्ने हो ।’ उनले संक्रमितहरूलाई सरकारले गाँस–बासको व्यवस्थासँगै शिक्षा, स्वास्थ्यको सुविधा दिएर उचित संरक्षण गर्नुपर्ने सबै संक्रमितहरूको माग रहेको बताए ।

जनस्वास्थ्य कार्यालय कैलालीका एचआईभी/एड्स फाँटका महेश चन्दले जिल्लामा एचआईभी/एड्समा क्षेत्रमा गैरसरकारी संस्थाहरूको बजेट थोरै भएकाले क्रियाकलापहरू घटेको बताए ।

उनका अनुसार स्वास्थ्यकर्मीलाई तालिम, संक्रमितको उपचार, एआरटी औषधिका लागि यातायात खर्च, रगत जाँच, जस्ता केही कार्यक्रम मात्रै एचएफ नेपाल र सेभ द चिल्ड्रेनले सञ्चालन गरेको छ ।

गोदावरी प्लसका अध्यक्ष वडले कैलाली गोदावरीका एचआईभी संक्रमितको अवस्था अत्यन्त कमजोर रहेको बताए । गरिबीका कारण संक्रमित एक महिला मीना विकले आत्महत्या नै गरिन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ १०:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कैलाश गुफा हेर्ने बढ्दै

वसन्तप्रताप सिंह

बझाङ — जयपृथ्वी नगरपालिकाको १ स्थित रहस्यमय कैलाश गुफा बझाङमा चर्चामा छ । गुफाको बनावट मात्र नभएर यहाँको रहस्यमय पानी हेर्न जोखिमपूर्ण यात्रा गरेर गुफा पुग्नेहरूको संख्या पछिल्लो समय बढेको छ ।

कैलाश गुफा र त्यहाँ रहेका कुवाका दृश्यहरू । तस्बिर : वसन्तप्रताप

साबिकको कैलाश गाविसमा पर्ने साग्रे पाटन नजिकैको यो गुफा समुद्री सतहबाट ३ हजार ५४५ को उचाइमा छ । परापूर्वकालमा मानिसहरूले बस्नका लागि प्रयोग गरेको जस्तो देखिने गुफाको बनावट पनि अनौठो छ ।

गुफाको मुखमा दुईवटा प्रवेशद्वार छन् । प्रवेशद्वारबाट ५ मिटरजति भित्र गएपछि ४ वटा अरू ढोका देखिन्छन् ।

४ मध्ये बायाँ तर्फको एक ढोकाबाट बाहिर निस्कन मिल्छ । ढोकाको बाहिर बार्दली जस्तै बस्न मिल्ने ठाउँ छ । बार्दली पस्ने ढोकासँगै जोडिएको अर्काे ढोकाबाट भित्र छिरेपछि २ वटा पानीका कुवा भेटिन्छन् । मानिस उभिएर सजिलै हिँडडुल गर्न सकिने कोठामा एक मिटरको फरकमा रहेका कुवाको पानी रहस्यमय छ ।


सुरुमा मान्छे प्रवेश गर्दा सुक्खा जस्ता देखिने कुवामा धूप बालेर पूजा गरे पछि पानी रसाउन थाल्छ । हेर्दाहेर्दै १०/१५ मिनेटमा दुवै कुवामा करिब २० लिटर जति पानी जम्मा हुन्छ । अचम्म त के छ भने एक पटक रसाइसकेपछि जति भरे पनि कुवामा पानीको सतह घटबढ हुँदैन । लामो समयसम्म नभरे पनि कुवाको सतहभन्दा बाहिर पानी आउँदैन । कुवा रहेको कोठाको सिलिङमा गौंथलीका गुँडहरू लहरै देखिन्छन् । यही रहस्यमय कुवा हेर्नका लागि विभिन्न ठाउँका मानिसहरू कैलाश गुफासम्म आउने गरेको स्थानीयहरू बताउँछन् । यहाँका स्थानीय बासिन्दाहरूमा यो गुफामा परावपूर्वकालमा शिवपार्वती बसेको विश्वास रही आएको छ ।


कुवा रहेको कोठाबाट दाहिनेतर्फ माथिल्लो तलामा जाने ढोका छ । यो सुरुङ निकै लामो र अँध्यारो भएकाले यस भित्र मानिसहरू पस्न डराउने गर्छन् । ‘२०/२५ मिटर भित्रसम्म त हामीहरू पुगेका छौं,’ कैलाशका अजय सिंहले भने, ‘त्यो भन्दा उता निकै अँंध्यारो छ । विभिन्न खालका आवाजहरू पनि सुनिन्छ । त्यसैले कोही जान आँट गरेका छैनन्,’। माथिल्लो तला उक्लने ढोकाबाट ३ मिटर जति दायाँतर्फ हिँडेपछि अर्काे २ वटा ढोका भेटिन्छ । बायाँ तर्फको ढोका अत्यन्तै साँधुरो छ । टाउको मात्र छिराएर हेर्दा त्यस भित्र दुईवटा प्वाल देखिन्छन् ।


एउटा प्वालबाट बाहिरको प्रकाश आउछ भने अर्काे अँध्यारो छ । गुफाबाट बाहिर निस्केर १० मिटर जति दायाँतर्फ हिँडेपछि अर्काे ठूलो गुफा छ । करिब २ सय जति मान्छे अटाउने कोठा रहेको यो गुफा शिव पार्वतीको सभाहल भएको स्थानीयको विश्वास छ । सभाहलको दायाँतर्फ पनि दुईवटा साँघुरा प्वाल देख्न सकिन्छ । भुलभुलैया जस्तो लाग्ने यो गुफामा कतिवटा ढोका छन् र कहाँ के छ भनेर कसैले पनि अध्ययन गरेको छैन ।


प्रकाशित : जेष्ठ ३, २०७५ १०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT