कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अखाद्य वस्तुको बिगबिगी

भवानी भट्ट

कञ्चनपुर — बजारमा अखाद्य र गुणस्तरहीन वस्तुको बिक्री बढी हुने गरेको पाइएको छ । खास गरी चिसो पेय पदार्थ र फलफूलमा बढी समस्या हुने गरेको उपभोक्ता तथा खाद्य अधिकारका क्षेत्रमा लागेकाहरू बताउँछन् ।

अखाद्य वस्तुको बिगबिगी

यतिबेला चिसो पेय पदार्थको माग निकै बढी हुन्छ । तर बजारमा भारतबाट अवैध रूपमा आयात गरिएका विभिन्न कम्पनीको म्याद नाघेका र लेबल समेत नभएका पेय पदार्थहरू बिक्री भइरहेका छन् । यसैगरी अत्यधिक विषादी प्रयोग गरेर पकाइएका आँप, मेवा र अंगुर लगायतका फलफूलहरू बिनारोकतोक बिक्री भइरहेको नेपाल उपभोक्ता हकहित संरक्षण संस्थाका केन्द्रीय सदस्य प्रभुनिधि पन्तले बताए ।

पन्तले बजारमा सस्तोका नाममा कुहिएका र खानै नहुने फलफूल बिक्री भइरहे पनि उपभोक्ताले त्यही खाइरहेको बताए । अनुगमन गर्ने निकायले यसतर्फ खासै चासो नदिएको उनको गुनासो छ । ‘बजारमा अनुगमन तथा निगरानीको अभाव कारण जहिले पनि गर्मीयाममा यस्तै समस्या देखिन्छ,’ उनले भने ।

पछिल्लो ४ महिनादेखि महेन्द्रनगर तथा आसपासको बजारमा अनुगमन हुन सकेको छैन । यसका कराण पनि अखाद्य तथा गुणस्तरहीन वस्तुको बिक्री बढेको स्थानीय बताउँछन् । दसैं तिहारका बेला मात्रै तात्ने अनुगमन समिति अन्य बेला जिल्लामा छ कि छैन भने जस्तै हुने गरेको उनीहरू बताउँछन् । गत वर्ष दसैंअगाडि आपूर्ति राज्य मन्त्री नै अनुगमनमा उत्रिँदा यहाँका व्यापारीहरू त्रसित भएका थिए । उनीहरूले मन्त्रीले अनुगमन गर्दा बजार नै बन्द गरेर त्यसको विरोध समेत गरेका थिए ।

‘यतिबेला चिसो पेय पदार्थ र फलफूलहरूमा बढी समस्या देखिएको छ,’ खाद्य क्वारेन्टाइन कार्यालय गड्डाचौकीका खाद्य निरीक्षक नारायणसिंह रावतले भने, ‘फलफूलमा प्रतिबन्धित बढीजसो कार्वाइड र इथाइलिन ग्यास उत्पादन गर्ने विषादी प्रयोग हुने गरेको छ ।’ उनका अनुसार आँप, मेवा, अंगुर र केरामा यस्तो विषादी प्रयोग गरिएको पाइन्छ । तर फलफूलमा विषादी भए/नभएको जाँच गर्न काठमान्डौंको कालीमाटी नै पठाउनुपर्ने भएका कारण समस्या हुने गरेको छ ।

यस्तै, पेय पदार्थमा लेबल नभएको र म्याद नाघेको तथा प्याकेजिङमा समेत समस्या देखिएको उनले बताए । खाद्य निरीक्षक रावतका अनुसार संयुक्त बजार अनुगमन नभएको धेरै भइसक्यो । तर उनले गुणस्तरहीन र दूषित खाद्यवस्तुको नमुना संकलन गरेर नियमित रूपमा परीक्षणका लागि पठाउने काम भइरहेको बताए । उनका अनुसार तेल, दाल चामल र फास्टफुडहरू पनि म्याद नाघेका र लेवल नभएको अवस्थामा भेटिएका छन् ।

‘संयुक्त अनुगमन हुन नसके पनि बजारबाट नमुना संकलन गरेर परीक्षणका लागि पठाउने काम भइरहेको छ’ उनले भने, ‘यस वर्ष पनि १ सय बढी नमुना संकलन भएका छन् ।’ संकलन गरिएका नमुनामध्ये २ वटामा न्यून गुणस्तर र ४ वटामा दूषित खाद्य पदार्थ अन्तर्गत मुद्दा चलिरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?