कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाणिज्य बैंक ५ दिनदेखि ठप्प

कारोबार ठप्प भएपछि बिरामीलाई पनि सास्ती

बझाङ — राष्ट्रिय वाणिज्य बैंकको बझाङ शाखाको इन्टरेनट प्रणालीमा खराबी आउँदा ५ दिनदेखि सम्पूर्ण बैंकिङ कारोबार ठप्प छ ।

वाणिज्य बैंक ५ दिनदेखि ठप्प

बैंकिङ कारोबार रोकिएपछि जिल्लाको दुर्गम भेगबाट रकम झिक्न, जम्मा गर्न र बाहिरी जिल्लामा रकम पठाउन आएका सयौं सर्वसाधारणहरूले सास्ती भोगिरहेका छन् ।

‘१५ हजारको चेक साट्नका लागि आएको हुँ । २ दिन भइसक्यो । इन्टरनेट चलेको छैन भनेर फर्कारहेका छन्,’ खप्तड छान्ना गाउँपालिकाका पुष्करबहादुर रावलले भने ‘होटलमा बस्दा खाँदा २/३ हजार खर्च भइसक्यो । कहिले बन्ने हो केही थाहा छैन’ उनले कहिले बाट कारोबार सुचारु हुन्छ भनेर बैंकका कर्मचारीहरूले जानकारीसमेत दिन नमान्ने गरेको बताए । बैंकिङ कारोबार बन्द भएका कारण कतिपय बिरामीलाई उपचारमा समस्या भएको छ । जिल्लाको दुर्गम साइपाल गाउँपालिकाबाट उपचारका लागि श्रीमतीसहित धनगढी जान हिँडेका वसन्त बोहराले भने ‘खातामा भएको रकम झिक्न पाएको छैन । धनगढी जाने गाडी भाडा नभएर यतै रोकिएका छौ ।’

जिल्लामा एक मात्र शाखा भएको राष्ट्रिय वाणिज्य बंैकको कारोबार बन्द भएपछि यहाँका सर्वसाधारणलाई मात्र नभई उद्योगी व्यापारीहरूलाई पनि समस्या भएको उद्योग बाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । उनले भने ‘पैसा जति बैंकमा थन्किएको छ । झिक्न नपाएका कारण बाहिरबाट ल्याउनुपर्ने सामानहरू पनि धनगढीमै अड्किएको छ ।’

बैंकिङ सेवा बन्द भएपछि सरकारी कार्यालय र विकास निर्माणका योजनाको काम पनि प्रभावित भएको छ । योजनाको खाताबाट रकम झिक्न नमिलेपछि ५ दिनदेखि सदरमुकाममा अध्यक्ष, सचिव र कोषाध्यक्ष होटलमा बसिरहेको बताउँदै मष्टा गाउँपालिकाको एक उपभोक्ता समितिका अध्यक्ष राजेश खड्काले भने ‘अस्तिको दिन नै पैसा झिकेर फर्किने सोचमा थियौं । बंैकको काम नभएकाले कामदारको र निर्माण सामग्रीको रकम तिर्न सकेका छैनौं । ३/३ जना होटलमा बसिरहेका छौं ।’

बैंकको आन्तरिक इन्टरनेट सर्भरमा समस्या आएको र विकल्पको रूपमा एडीएसएल सेवाबाट काम गरिरहेकोमा एडीएसएलको लाइनमा पनि खराबी आएपछि सम्पूर्ण काम ठप्प भएको निमित्त प्रबन्धक प्रकाशबहादुर सिंहले बताए । उनले भने, ‘बैंकको सर्भर त सबै ठाउँमा बिग्रिएको छ । एडीएसएलबाट काम चलाइरहेका थियौं, त्यो पनि बिग्रियो ।

कहाँनिर समस्या भएको केही थाहा हुन सकेको छैन ।’ सेवा सुचारु हुने यकिन नभएको बताउँदै उनले कारोबार सुचारु गर्न प्रयास गरिरहेका बताए । जिल्लाका सबैजसो सरकारी कार्यालयका खाता राष्ट्रिय वाणिज्य बैंकमा रहेका छन् ।

एक वर्षअघि निजी क्षेत्रका बैंकहरू खुल्न थालेकाले अधिकांश सर्वसाधारणका खाताहरू पनि यही बंैकमा रहेका छन् । निमित्त प्रबन्धक सिंहका अनुसार राष्ट्रिय वाणिज्य बैंकको बझाङ शाखामा १४ हजार भन्दा बढी सर्वसाधारणका बचत खाता रहेका छन् ।

४ हजार भन्दा बढी सरकारी कार्यालय, संस्थान, उपभोक्ता समिति, व्यापारिक कम्पनी र गैरसरकारी संस्थाका चल्ती खाता रहेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?