कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीयको पहलमा विद्यालय

प्रत्येक परिवारले गरे २५ दिन श्रमदान
शिक्षकहरूले दिए २/२ महिनाको तलब
वसन्तप्रताप सिंह

बझाङ — पहिरोले स्कुलका भवनहरू बगाउँदा झन्डै एक वर्षसम्म ७ सय विद्यार्थीको पढाइ र विद्यालयको प्रशासनिक काम प्रभावित भयो । बझाङको दुर्गम गाउँको त्यो विद्यालय स्थानीय अभिभावकको मेहनत र दाताको सहयोगमा फेरि पुरानै अवस्थामा फर्किन थालेको छ ।

स्थानीयको पहलमा विद्यालय

असार २५ गते राति बुंगल नगरपालिका ६ सिमालीमा रहेको दुर्गा भवानी उच्च माध्यमिक विद्यालयको २२ वटा कोठा रहेको २ वटा भवन पहिरोले बगाएको थियो । भवनहरू बगेपछि कार्यालयमा रहेका विद्यालयका दस्तावेज, कम्प्युटर ल्याब, फर्निचर, सौर्य ऊर्जा प्रणाली, छात्राबास, शौचालयसहित २ करोड ७२ लाख बराबरको क्षति भएको थियो ।

२०३३ सालमा स्थापित यो स्कुलमा पहिरो गएपछि यहाँका शिक्षक, अभिभावक र विद्यार्थीहरूले झन्डै एक वर्ष सम्म ठूलै हैरानी व्यहोर्नुपर्‍यो । पहिरोपश्चात् बचेको एक भवनको बरन्डा, ग्यालरी र पालमा १ देखि १२ कक्षा सम्मको पढाइ सञ्चालन गरिएको थियो । ‘पहिरो गएपछि एक ढेड महिना त स्कुल नै बन्द भयो,’ कक्षा १० की छात्रा इन्दिरा धामीले भनिन्, ‘पछि पाल टाँगेर कक्षा चलाइयो । कुनै कक्षाको पढाइ बरन्डामा हुन्थ्यो । निकै दु:ख भयो ।

विद्यालयमा शौचालय नभएका कारण छात्राहरू करिब २० मिनेट हिँडेर तल खोलामा गएर शौच गर्नुपर्ने अवस्था थियो ।’ उनले विद्यालयमा शौचालय नभएका कारण महिनावारी भएका बेला छात्राहरू स्कुल नै नआउने गरेको बताइन् ।

वर्षात् र हिउँदको समयमा चिसो पालमा चप्पल ओच्छ्याएर पढ्नुपरेकाले थुप्रै विद्यार्थीहरू बिरामी हुने गरेको बताउँदै कक्षा ९ का विद्यार्थी जगतलाल देवारले भने, ‘कुनै कुनै दिन त कक्षामा ४/५ जना विद्यार्थी मात्र उपस्थित हुन्थे । चिसो लागेर कसैको पेट दुख्थ्यो । पखाला, रुघाखोकी लागेर बिरामी नभएको त सायद कोही विद्यार्थी पनि थिएन होला ।’

विद्यालय पहिरोले बगाएपछि विद्यार्थी मात्र होइन, यहाँका शिक्षक र अभिभावकहरूले पनि पाउनु दु:ख पाए । करिब २ सय ५० परिवारको प्रत्येक घरको १ जनाले १० दिन लगाएर पहिरोमा पुरिएका विद्यालयमा दस्ताबेज खोजे । काम लाग्ने खालका काठ र ढुंगाहरू तह लगाए । ‘प्रत्येक परिवारले २/२ हजार नगद समेत संकलन गरे,’ शिक्षक अभिभावक संघका अध्यक्ष पठान धामीले भने, ‘विद्यालय बगाएदेखि अहिलेसम्म एक परिवारले २५ दिनभन्दा बढी श्रमदान गरेका छन् । अभिभावकको यत्रो साथ नपाएको भए यति छिट्टै विद्यालय तंग्रिने थिएन ।’

यता विद्यालयका प्राचार्य र व्यवस्थापन समितिका केही पदाधिकारीहरू सहयोग संकलनका लागि जुटे । उनीहरूले सहयोगको याचना गर्दै सदरमुकामका होटल, पसलदेखि सिंहदरबारका मन्त्रालय र गैरसरकारी संस्थाहरू धाए । ‘कसैसँग कुर्सी माग्यौं, कसैले रजिस्टर दिए । कसैले नगद सहयोग गरे,’ विद्यालयका प्राचार्य हिक्मत ऐडीले भने, ‘अभिभावकहरूले विदेशमा रहेका आफ्ना छोराछोरीलाई सहयोग जुटाउन अपिल गर्नु भयो । कोरियामा रहेका बझांगीहरूले पनि १ लाख ९० हजार सहयोग गरे ।’

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले २ लाख ५० हजार रकम विद्यालय भवनका लागि दियो । उनीहरूले कोरियाबाट उठेको सहयोग समेत त्यसैमा लगानी गरे । बाँकी श्रमदान गरेर १२ लाख बराबरको पक्की भवन बनाए । यसले केही राहत भयो । पहिरोबाट बचेको भवनमा तला थप्नका लागि स्कुलमा कार्यरत शिक्षकले २/२ महिनाको तलब उठाए । त्यसबाट निर्माण सामग्री खरिद गरियो । बाँकी काम स्थानीयले श्रमदान गरे । जिल्ला समन्वय समितिको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले छात्र/छात्रा मैत्री शौचालय निर्माणका लागि केही रकम दियो । बाँकी स्थानीयले नै श्रमदान गरे ।

त्यसपछि प्राचार्यसहितको टोली ग्रामीण पुन:स्थापना तथा पुनर्निर्माण नेपाल (आरआरएन) को केन्द्रीय कार्यालय काठमाडौंमा सहयोग माग्न पुग्यो । आरआरएनले ३५ लाख १० हजार रकम विद्यालय भवनका लागि दियो । अभिभावकहरूले यसमा पनि आफ्नो श्रम थपेर २ वटा भवन निर्माण थाले । यी दुई भवन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । आरआरएनका कार्यक्रम संयोजक गोपीसिंह नेपाली भन्छन्, ‘सिमालीका अभिभावकको मेहनत देखेर प्रभावित नहुने कमै होलान् ।’

अहिले बनेका सबै भवनहरू भूकम्प प्रतिरोधी भएको र पहिरोबाट विद्यालयलाई जोगाउन सम्भावित पहिरो जाने ठाउँमा ग्याबिन जाली सहितको पर्खाल बनाइएको आरआरएनका सबइन्जिनियर सुशील बोहराले बताए । शिक्षक, अभिभावकले यति धेरै मेहनत गरेर पनि विद्यालय पूर्णरूपमा तंग्रिन भने अझै सकेको छैन ।

प्राचार्य हिक्मत ऐडी भन्छन्, ‘छात्रावासको अझै पनि समस्या छ । एउटै कोठामा १५ जनासम्म विद्यार्थी सुताउनुपरेको छ ।’ तर विद्यालय निर्माण समितिका अध्यक्ष हरसिंह देवारले भने हरेस खाएका छैनन् । उनी भन्छन्, ‘कतैबाट निर्माण सामग्री किन्ने र दक्ष मिस्त्रीको ज्यालासम्म दिने रकम सहयोग पायो भने बाँकी काम श्रमदानमै गर्न हामी तयार छौं । यो वर्षभित्रै विद्यालयलाई पहिलाको भन्दा राम्रो र सुरक्षित विद्यालय बनाउन लागिरहेका छौं ।’

प्रकाशित : जेष्ठ ८, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?