कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

एकतापछि उत्साह र आक्रोश

‘स्थिरताका लागि दुवै दल रूपान्तरण भएका हुन्’
अर्जुन शाह

धनगढी — पार्टी एकताको घोषणा भएलगत्तै तत्कालीन एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताले सहरबजारका चोकचोकमा भेला भएर उत्साहका साथ दीपावली मनाए । दुई मुख्य कम्युनिस्ट दलको एकताले एउटै ‘विशाल’ कम्युनिस्ट पार्टी बनेपछि नेपाली राजनीतिलाई मात्र होइन, सिंगो एसियाकै राजनीतिमा परकम्प पैदा गर्‍यो भन्ने नेताहरूको दाबी छ ।

एकतापछि उत्साह र आक्रोश

यति ठूलो कम्युनिस्ट पार्टीको सदस्य हुन पाएकोमा दुवैतर्फका अधिकांश कार्यकर्ताले विभिन्न माध्ययमद्वारा गौरव व्यक्त गरेका छन् ।


२००६ वैशाख १० गते ४ जनाले भारतको कलकत्तामा गठन गरेको नेपालको पहिलो कम्युनिस्ट पार्टीले हालसम्म ७० पटक फुटको इतिहास बेहोरेको थियो । यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ‘विशाल’ कम्युनिस्ट पार्टी बनेको छ । ‘यो एकता हालसम्मकै ठूलो एकता हो,’ कैलालीका पूर्व एमाले नेता दिनेशचन्द्र सुवेदी भन्छन् ‘यसले कम्युनिस्टहरूको टुटफुटको राजनीतिलाई निरुत्साहित गर्दै विकास र समृद्धिमा केन्द्रित हुने अवसर सिर्जना गरेकाले दुवैतर्फका कार्यकर्तामा उत्साह छ ।’


कम्युनिस्टहरू सामान्यत: सैद्धान्तिक बहसमा अल्झिने गर्छन् । तर यतिबेला दुवै दलका कार्यकर्ताहरूमाझ भने विगतदेखि अनुसरण गर्दै आएको सिद्धान्त अहिले आएर ओझेल पारिएकामा कहीं कतै असन्तुष्टिका स्वरहरू सुनिएका छैनन् । चर्चामा छ त केवल पदीय आकांक्षा र व्यवस्थापनको सवाल मात्र । माओवादी केन्द्रले माओवाद त्यागेको छ भने एमालेले जनताको बहुदलीय जनवाद ।


माओवादीले समयक्रमसँगै सशस्त्र युद्ध, एक्काइसौं शताब्दीको जनवाद र प्रचण्डपथ त्यागिसकेको थियो । एकताका लागि पूर्वएमाले पनि जनताको बहुदलीय जनवाद छाड्न तयार भयो । नयाँ पार्टी गठन भएपछि ‘जनताको जनवाद’ राजनीतिक सिद्धान्तमा उनीहरू सहमत भए ।


नवगठित नेकपा इतरका राजनीतिकर्मी र केही विश्लेषकहरूले माओवादीलाई एमालेमा विलय गराएको टिप्पणीहरू नगरेका होइनन् । तर सिन्द्धान्त र व्यवहारका दृष्टिले विलयको कुरै नभएको जिकिर गर्नेहरू धेरै भेटिन्छन् । ‘स्थिरताका लागि दुवै दल रूपान्तरण भएका हुन्,’ बाजुराका पूर्व माओवादी केन्द्रका सेक्रेटरी दीपक बुढाले भने, ‘जनस्तरमा सिद्धान्तबारे बहस छैन ।’ तत्कालीन माओवादी केन्द्रको नेतृत्वले स्थिरताका लागि अहिलेको कदम उठाएको भए पनि बिचौलियाका गतिविधिहरूले भने तमाम कार्यकर्ताहरूलाई पीडा थपेको बुढा बताउँछन् ।


पदीय आकांक्षामा रहेका तर नअटाएकाहरूमा भने निकै आक्रोश झल्किन्छ । धेरैजसोले सामाजिक सञ्जालमार्फत आफ्ना आक्रोशहरू छताछुल्ल गर्दैछन् । यसअघि केन्द्रबाट पोलिटब्युरो सदस्य रहेका सहदेव बोगटीलाई आफू नवगठित नेकपामा केन्द्रीय सदस्य पर्नेमा निश्चिन्त थिए । तर उनी अन्तिम सिफारिसमा परेनन् । अहिले बोगटी निकै आक्रोशित देखिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोख्दै उनले लेखेका छन्, ‘पार्टी नेतृत्वले यसअघि शासकीय पदमा समेत न्याय गरेन, अहिले आएर पनि उस्तै अन्यायपूर्ण व्यवहार ∕ अब कस्तो निर्णय लिनु उचित होला ?’


नवगठित नेकपामा प्रदेश ७ बाट भिम रावल र लेखराज भट्ट दुई जना स्थायी समिति सदस्यमा परेका छन् । दुवैतर्फबाट गरी ३६ जना केन्द्रीय समितिमा परेका छन् । तत्कालीन एमालेबाट केन्द्रीय सदस्यको कुल संख्या रावलसहित २२ र माओवादी केन्द्रबाट भट्टसहित १४ केन्द्रीय सदस्य भएका छन् । पदीय व्यवस्थापनकै विषयलाई लिएर पूर्वएमाले कार्यकर्ताहरूमा असन्तुष्टिका स्वारहरू बाक्लै सुनिए ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?