कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रमुख र उपप्रमुखबीच दूरी बढ्दै

भवानी भट्ट

कञ्चनपुर — लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक जेठ अन्तिम साता कामविशेषले काठमाडाैं गए । त्यतिबेला गाउँपालिकाकी उपाध्यक्ष सत्यदेवी महरा गाउँपालिकामै थिइन् । तर अध्यक्षले कार्यवाहक उनलाई नदिएर वडाध्यक्षलाई दिए ।

प्रमुख र उपप्रमुखबीच दूरी बढ्दै

अध्यक्ष बडायकले वडा नं. ६ का वडाध्यक्ष फुलाराम चौधरीलाई पत्र लेखेरै कार्यवाहक दिएका थिए । उपाध्यक्षलाई एक औपचारिक कार्यक्रममा जां‘दा दुई दिनपछि मात्र उक्त विषय थाहा भयो । ‘कार्यक्रममा जाँदा वडाध्यक्षलाई कार्यवाहक दिएको थाहा पाएँ,’ उपाध्यक्ष महराले भनिन्, ‘यस विषयमा अध्यक्षज्यूसँग पनि कुरा गरें, उहाँले माफी माग्नुभयो ।’ पछि काठमाडौंबाट मौखिक रूपमा उपाध्यक्षलाई नै कार्यवाहकको जिम्मेवारी दिए ।

यो कञ्चनपुरको एक स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच प्रस्टरूपमा बाहिरिएको विवाद हो । तर यहाँका अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूबीच समेत समन्वयात्मक सम्बन्ध त्यति राम्रो देखिएको छैन । उपप्रमुखहरूले आफ्ना गुनासा खुलेरै सार्वजनिक स्थलमा नपोखे पनि केही आन्तरिक कार्यक्रममा भने यस्ता गुनासा राख्न सुरु गरिसकेका छन् ।

सेवा सुविधा र अधिकारको प्रयोगसँगै कर्मचारी खटनपटनका विषयमा जिल्लाका स्थानीय तहहरूमा प्रमुख र उपप्रमुखबीच मतभेद चलेको छ । उनीहरूबीच सवारीसाधनको प्रयोग, कर्मचारी परिचालनका विषयमा मतभेद रहेको जनप्रतिनिधिहरू बताउँछन् । कतिपय ठाउँमा कर्मचारीले समेत उपप्रमुखलाई नटेर्ने समस्याले झन् दूरी बढाएको छ । उक्त दूरी घटाउन प्रमुखहरूले समन्वयात्मक भूमिका नखेल्दा उपप्रमुखहरू रुष्ट हुन थालेका छन् ।

‘हामीहरूबीच विवाद त केही थिएन, तर किन यस्तो गरे केही थाहा भएन,’ लालझाडी गाउँपालिकाकी उपाध्यक्ष महराले भनिन्, ‘यस विषयमा पार्टीमा पनि कुरा गरिसकें, अध्यक्षले माफी मागेकाले अहिले यो घटनालाई धेरै अगाडि बढाइनँ ।’ उनले फेरि यस्ता घटना दोहोर्‍याए ठीक नहुने भन्दै खुलेरै चेतावनी दिइन् । यस विषयले जनप्रतिनिधिहरूबीच नै आपसी समन्वयको अभाव रहेको देखिने उनले बताइन् ।

गाउँपालिकाका अध्यक्ष बडायकले भने आफूले वडाध्यक्षलाई कार्यवाहक नदिएको बताए । उनले वडाध्यक्षलाई सहयोग गर्न मात्रै भनेको बताए । जेठ तेस्रो साता जिल्ला समन्वय समितिको आयोजनामा भीमदत्त नगरपालिकामा जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखको बैठकमा समेत आपसी मतभेदका कुरा देखिएका थिए ।

प्रमुख र उपप्रमुखबीचको समन्वयात्मक प्रभावकारी भूमिका नभएको गुनासाहरू उपप्रमुखहरूले नै धेरै राखेका थिए । उनीहरूले प्रमुख र उपप्रमुखबीच समन्वयको अभावले अन्य जनप्रतिनिधिलाई समेत समस्या परेको बताएका थिए । प्रमुखले उपप्रमुखलाई सम्मानजनक दृष्टिले हेर्नुपर्ने उनीहरूको माग थियो । ‘सबै उपप्रमुखहरूले सम्मानित भएर काम गर्न पाउनुपर्छ,’ बैठकमा पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा विष्ट शर्माले भनिन्, ‘प्रमुखहरूले उपप्रमुखलाई सम्मानजनक दृष्टिले हेर्नुपर्छ, सबैको आत्मसम्मान हुन्छ, त्यसलाई ख्याल गर्नुपर्छ ।’ बैठकमा उनले प्रमुखहरूले उपप्रमुखलाई हेर्ने दृष्टिकोण नै फरक रहेको गुनासो गरेकी थिइन् ।

यसले अभिभावकबीचको विवादले बालबालिकामा समस्या परेजस्तै प्रमुख र उपप्रमुखबीचको विवाद तथा मनमुटावले अन्य वडाध्यक्ष र सदस्यहरू पनि अलमल र प्रभावित हुने बताइन् । ‘यसले हामीले गर्न खोजेको विकास निर्माणमा पनि प्रभाव पर्छ,’ उनले भनिन् । उनले आपसी समन्वयमै विकास निर्माणको अनुगमन र अन्य कार्य हुनुपर्ने बताइन् ।

प्रकाशित : असार ७, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?