कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघको बास विस्तार

डीआर पन्त

जोगबुढा (डडेलधुरा) — वन्यजन्तु र वनस्पतिको रेफ्युजी सेन्टर (शरणार्थी केन्द्र ) मानिने डडेलधुराको चुरे क्षेत्रमा दुई वर्षयता पाटेबाघले बासस्थान विस्तार गर्न थालेको छ । पाटेबाघले बासस्थान विस्तार गर्न थालेपछि वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी क्षेत्रबाट विशेष कार्यक्रम सुरु गरिएका छन् ।

बाघको बास विस्तार

‘गत वर्ष पहिलो पटक चुरे क्षेत्रको पञ्चकन्या सामुदायिक वनमा पाटेबाघ फेला परेको हो,’ तराई भूपरिधि कार्यक्रमका प्रबन्धक वन्यजन्तुविज्ञ बुद्धि रिजालले भने, ‘वातावरणीय प्रतिकूलताले तराई क्षेत्रबाट गएको पाटेबाघ चुरेमा बस्न थालेको हुन सक्ने अनुमान गरिएको छ ।’ बाघ हुन सक्ने सम्भावित क्षेत्रमा क्यामेरा ट्रयापिङ गर्दै जाँदा चुरेको उक्त सामुदायिक वनमा पाटेबाघ बस्न थालेको रिजालले बताए ।


कञ्चनपुर र कैलाली सीमासँग जोडिएको चुरेमा पुगेको पाटेबाघ तराई क्षेत्रबाट गएको हो वा महाकाली पारीको भारतको संरक्षित जडियाखाल भावरको बाघ हो भन्ने छुट्टयाउन नसकिएको उनले बताए ।


‘क्यामेरा ट्रयापिङमा मात्र होइन, जोगबुढाको परीगाउंँ क्षेत्रमा ७ महिनाअघि वन्यजन्तुलाई लक्षित गरी थापिएको पासोमा पनि बाघ परेको थियो,’ चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिका संयोजक कैलाशकुमार पाण्डेयले भने, ‘पासोमा परेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको थियो ।’ दुई साताअघि मात्र जोगबुढाको बेलडाँगी क्षेत्रमा पनि पाटेबाघ देखिएको स्थानीय बासिन्दाले इलाका वन कार्यालय जोगबुढालाई जानकारी गराएका थिए । पाण्डेयले भने, ‘जोगबुढा र आलीतालको माथिल्लो चुरे क्षेत्रमा पटक पटक पाटेबाघ देखिन थालेको हो ।’


शुक्लाफाँटा वन्यजन्तु निकुञ्जलाई चुरे फेदीमा रहेको परम्परागत जैविक मार्गसँग जोडिएपछि चुरेमा पाटेबाघ ओहोरदोहोर गर्न थालेको संरक्षण क्षेत्रमा क्रियाशील विज्ञहरूले वताएका छन् । ‘भारतको दुदवा नेसनल पार्क र शुक्लाफाँटा वन्यजन्तु निकुञ्जसग परम्परागत जैविक मार्ग जोडिएको छोटो अवधिमा नै चुरे क्षेत्रलाई पाटेवाघले बासस्थान बनाउन सुरु गरेको हो,’ तराई भूपरिधि कार्यक्रमअन्तर्गत जैविक मार्ग पुन:स्थापना कार्यक्रमका प्रमुख प्रह्लाद खड्काले भने, ‘जलवायु परिवर्तनका कारण तराईबाट चुरे क्षेत्रमा बाघ आउन थालेको हो भन्न सकिन्छ ।’ अत्यधिक तापक्रम, पानीको गम्भीर समस्या, चारैतिर अतिक्रमणका कारण पातलिँदै गएको जंगल क्षेत्रका कारण बाघ चुरे क्षेत्रमा आउन थालेको अनुमान गरिएको उनले बताए ।


‘चुरेको तल्लो क्षेत्र कुनै समय बाघको परम्परागत बासस्थान मानिन्थ्यो’ भूपरिधि कार्यक्रमका प्रबन्धक रिजालले पनि पछिल्लो समय १३ सय मिटरको उचाइसम्ममा पाटेबाघ भेटिन थालेको बताए । उनले भने, ‘शुक्लाफाँटा र भारतको दुदवा नेसनल पार्कसँग जोडेर जैविक मार्ग पुन:स्थापना भएका कारण बाघको ओहोरदोहोर बढेको देखिएको छ ।’

शुक्लाफांँटालाई मोहना लालझाडी जैविक मार्ग, ब्रह्मदेव जैविक मार्ग र नदी करिडोर मार्गले चुरेसँग जोडेपछि वन्यजन्तुको गतिविधि पछिल्लो समय निकै बढेको देखिएको रिजालले बताए ।


चार वर्षदेखि चुरे क्षेत्रको वन्यजन्तुका विषयमा अध्ययन र निगरानी गरिरहेका सहायक वन अधिकृत चिरञ्जीवी थापा मगर भन्छन, ‘चुरे वन्यजन्तु र वनस्पतिको (रिफ्युजी सेन्टर) शरणार्थी केन्द्र हो । दुदवा नेसनल पार्क, शुक्लाफाँटा वन्यजन्तु निकुञ्ज, भारतीय राज्य उत्तराखण्डको जडियाखाल संरक्षित भावर क्षेत्र एक आपसमा जोडिएपछि चुरे यसको ट्रान्जिट प्वाइन्टका रूपमा विकसित भएको हो ।’ थापाले भने, ‘३ वर्षयता एउटा बाघ मात्र होइन पटकपटक पाटेबाघको ओहोरदोहोर भएको देखिन्छ ।’


‘चुरे फँडानी पछि वनमा हुने गतिविधि ठप्प जस्तै भएका छन्,’ सहायक अधिकृत थापा भन्छन्, ‘वनको नयाँ पुस्ताले हुर्कन पाएपछि पाँच वर्षमै चुरेभित्र वन्यजन्तुको गतिविधि पनि ह्वात्तै बढेको हो ।’ पछिल्लो समय नीलगाईको संख्या पनि चुरेमा बढेको छ । गत वर्षदेखि नीलगाई मानव बस्तीमा समेत आउने गरेका छन् ।


पाटेबाघ ओहोरदोहोर गर्न थालेपछि स्थानीय समुदाय, तराई भूपरिधि कार्यक्रम, चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समिति, स्थानीय तह र वन विभागले विशेष कार्यक्रम सञ्चालन गरिरहेका छन् । गाउँगाउँमा चोरी सिकार नियन्त्रण इकाई गठन गरिएका छन् । समवन्य समितिका संयोजक कैलाशकुमार पाण्डेयले भने, ‘सामुदायिक वनभित्र रहेका खुला क्षेत्रलाई घाँसे मैदानका रूपमा विकसित गरिएको छ र चरिचरन क्षेत्रको संरक्षण गर्न थालिएको छ ।’ उनले वन्यजन्तुका लागि सामुदायिक वनहरूमा ताल निर्माण कार्य सुरु भएको र जंगलमा निर्भरता घटाउन प्रभावित क्षेत्रका बासिन्दाका लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गरिएको बताए ।

प्रकाशित : असार ८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?