कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नहरले फेरिँदै रतिपुर

करिब ४ करोड रुपैयाँ लागतमा रतिपुर सिंँचाइ उप–आयोजना सम्पन्न
मोहन बुढाऐर

धनगढी — कैलालीको घोडाघोडी नगरपालिका –९ रतिपुरका कमल चौधरीलाई रोपाइँ गर्न आकासे पानी पर्खनुपरेको छैन । रतिपुर सिँचाइ योजनाको नहरमा पानी सञ्चालन हुन थालेपछि उनले समयमै धान खेती लगाउन पाएका छन् । यो वर्ष धानको उत्पादन समेत बढ्नेमा उनी ढुक्क छन् ।

नहरले फेरिँदै रतिपुर

सिजनमा बीउबिजन र सहुलियतको मलखाद पाउन त समस्या थियो नै व्यवस्थित सिंँचाइ सुविधा नहुँदा कमल चौधरीलगायत रतिपुरका किसानको रोपाइँ बेलैमा सुरु हुँदैनथ्यो । छेउमै कान्द्रा नदी बगिरहे पनि त्यो नदीले सुविधा भन्दा बढी दु:ख र पीडा दिइरहेको थियो । नदीको कटानले किसानको मलिलो खेत बर्सेनि बगरमा परिणत हुन्थ्यो । सयौं परिवारको बसोबास रहेको सिंगो गाउँ नै बाढीको उच्च जोखिममा थियो । रतिपुरबासी बर्खामा रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा थिए ।


कमलका अनुसार थारू समुदायको बाक्लो बसोबास रहेको यो गाउँमा बर्खामा परम्परागत कुलोबाट पानी ल्याउँदा जहिल्यै पनि पानी अपुग हुन्थ्यो । पानीको मारामार हुने भएकाले अधिकांब किसानले धानको बेर्नासम्म लगाउन पाउँदैनथे । कुलोको पानीले थोरै जमिन सिञ्चित गर्ने भएकाले गाउँमा रोपाइँ भने आकासे पानी पर्न थालेपछि मात्रै सुरु हुन्थ्यो । त्यही माथि कच्ची कुलो ठाउँठाउँमा भत्किँदा खेतसम्म पानी पुर्‍याउनै हम्मेहम्मे हुन्थ्यो । कुलोको व्यवस्थापनमै धेरै श्रम र समय खर्चिनुपर्ने बाध्यतामा थिए, रतिपुरवासी ।


‘त्यो हिजोको दु:ख र पीडाको अवस्था अहिले थामिएको छ,’ कमल चौधरीले भने, ‘कान्द्रा नदीको त्यही पानीले रतिपुरवासीको रोपाइँ सुरु भइसकेको हो ।’ यहाँका किसानहरूले जेठ दोस्रो साता तिर खेतमा धानको ब्याड थापिसकेका थिए । नहरको पानीले करेसाबारीमा फर्सी, लौका, बोडी, चिचिन्डा, भिन्डी खुर्सानी लगायतका तरकारी फलाउन पाइरहेका थिए ।


नहर निर्माणले सिंँचाइ सुविधा प्राप्त भएपछि रतिपुरका किसानले परम्परागत र निर्वाहमुखी बालीको सट्टा मौसमी तथा बेमौसमी तरकारी र फलफूल खेती लगाउन पाएको अर्का किसान पार्वती चौधरी बताउँछिन् । विश्व बैंकको अनुदान सहयोगमा सिँचाइ र कृषि विभागद्वारा सञ्चालित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत रतिपुर सिंँचाइ योजनाको काम सम्पन्न भएपछि यहाँका किसानको जीवनमा परिवर्तन सम्भव भएको हो । करिब ४ करोड रुपैयाँ लागतमा रतिपुर सिँचाइ उप–आयोजना सम्पन्न भएपछि वर्षौंदेखि सिंँचाइ सुविधाको अभावमा दु:ख खेपिरहेका किसान निकै खुसी छन् । जल उपभोक्ता समिति सचिव लालुराम चौधरी भन्छन्, ‘श्रमदानमार्फत आफैं पनि निर्माण कार्यमा खटिएकाले किसानहरूको यो उपआयोजनासँग भावनात्मक सम्बन्ध जोडिएको छ ।’


रतिपुर जलउपभोक्ता समिति अध्यक्ष हर्कबहादुर बुढा भन्छन्, ‘पछिल्ला दिनमा विकास निर्माणका काम समयमै नटुंगिएका उदाहरणमाझ यो उपआयोजनालाई समयमै पूरा गर्नुपर्ने चुनौती थियो ।’ एकपटक पनि म्याद थप नगरी बिनाअवरोध ठेकेदार कम्पनीले समयमै काम सकेपछि त्यसको प्रतिफल किसानले पाउन थालेको उनको कथन छ । नहरले खेत सिञ्चित भयो नै कान्द्रा नदीको कटान हुने ठाउँमा बाँध बाँधेर आयोजनाले नहरलाई सुरक्षित पार्दा बस्ती आफैं सुरक्षित बन्यो । अध्यक्ष बुढाले भने, ‘निर्माण भएपछि अहिले किसानले सिँचाइ सुविधा त पाएका छन् नै सिंगो रतिपुर गाउँ पनि सुरक्षित भएको छ ।’ उनका अनुसार नहरको मुल बाँधको सुरक्षार्थ तटबन्ध निर्माण गर्दा नदी कटान समेत नियन्त्रण भएको हो ।
कैलाली सिँचाइ डिभिजनका प्रमुख गणेश मरासनीका अनुसार उक्त उप आयोजनाको नहरले रतिपुरको ३ सय ६७ हेक्टर जग्गामा सिंँचाइ सुविधा पुगेको छ । त्यसबाट २ सय २५ परिवारका १ हजार ५८० जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन ।


यो सिंँचाइ योजना आर्थिक वर्ष २०७१/०७२ मा सुरु भई ०७३/०७४मा सम्पन्न भएको हो । तर किसानले नहरको पानीबाट धान रोपाइँ सुरु गरेको भने यो वर्षबाट हो । मरासिनीले सिंँचाइ र कृषि क्षेत्रलाई सँगसँगै जोडेर लैजान विश्व बैंकको सहयोगमा नेपाल सरकारले सिंँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत सतह सिँंचाइ योजनाको पुनरोत्थान, सुधार एवं व्यवस्थापन र भूमिगत जलस्रोतको विकासमा जोड दिएको बताए ।


कैलालीमा कुल खेती हुने गरेको ७२ हजार हेक्टर जमिनमध्ये ४४ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । जसमध्ये सतहगत स्रोतबाट सञ्चालित नहरद्वारा कैलाली जिल्लामा १२ हजार हेक्टर मात्रै खेत सिञ्चित रहेको छ । जसमध्ये हालै योजना सम्पन्न भई नहरमा पानी सञ्चालन भएको यो रतिपुर र टुडी नहर योजना हुन् ।

प्रकाशित : असार ८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?