कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिकाले गर्‍यो सरसफाइ सम्मेलन

वसन्तप्रताप सिंह

बझाङ — स्थानीय तहलाई पूर्ण सरसफाइयुक्त बनाउने योजना निर्माण गर्न तल्कोट गाउँपालिकाले पूर्ण सरसफाइ सम्मेलनको आयोजना गरेको छ । ‘पूर्ण सरसफाइ र महिनावारी स्वच्छता तथा पोषण सम्मेलन’ नाम दिइएको यो कार्यक्रम गाउँपालिकाले आयोजना गरेको सबैभन्दा ठूलो कार्यक्रम हो । 

गाउँपालिकाले गर्‍यो सरसफाइ सम्मेलन

‘बालबालिका, युवा, महिला, शिक्षक विद्यार्थी सबै मिलेर गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त कसरी बनाउन सकिन्छ भनेर दुई दिनसम्म व्यापक छलफल गरिएको छ,’ तल्कोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सिद्धराज भण्डारीले भने, ‘सबै क्षेत्रको सहभागितामा यति धेरै मानिस जम्मा भएर योजना निर्माण गरिएको यो पहिलो पटक हो ।’ उनले सबै क्षेत्रको सहभागिता सुनिश्चित गरेर गाउँपालिकालाई सरसफाइमा नमुना बनाउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।


बझाङ जिल्ला खुला दिशामुक्त घोषणा भएको ३ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म कुनै पनि गाउँपालिका पूर्ण सरसरफाइयुक्त हुन नसकेको उल्लेख गर्दै सम्मेलनले बनाएका योजना आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने तल्कोट गाउँपालिकाले जनाएको छ । अबको ३ वर्षभित्र गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त, छाउपडी प्रथामुक्त र कुपोषणमुक्त बनाउन विभिन्न खालका कार्यक्रम र अभियानहरू तय गरिएको सम्मेलनको प्राविधिक सहयोगी जिल्ला समन्वय समिति ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहकार विष्णु पोखरेलले बताए ।


शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, जन प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र गाउँपालिकामा सक्रिय विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्मेलन उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर खड्काले सरसफाइ सम्बन्धी बानी व्यवहार, छाउपडी प्रथा जस्ता अन्धविश्वासहरू सामाजिक तथा मानवीय विकासको बाधकको रूपमा रहेकोले यसलाई हटाउनका लागि स्थानीय तहले गरेको प्रयास प्रशंसनीय रहेको बताएका थिए ।


शुक्रबारदेखि दुई दिनसम्म चलेको दुवै स्थानीय तहको सम्मेलनले गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन, छाउपडी प्रथालाई हटाउन र पोषणको अवस्थालाई सुधार गर्नका लागि लक्ष्य समेत तोकेर घोषणापत्र जारी गरेको छ ।


सम्मेलनले जारी गरेको घोषणा पत्रमा पोषण र पूर्ण सरसफाइयुक्त गाउँघर अभियान सञ्चालन गर्ने, प्रत्येक वडाको एउटा बस्तीलाई यसै वर्षभित्र पूर्ण सरसफाइयुक्त र छाउपडीमुक्त बस्तीका रूपमा विकास गर्ने, आगामी आर्थिक वर्षभित्र विद्यालय लगायतका कार्यालय र सबै सार्वजनिक स्थलमा सुरक्षित खानेपानी र सफा शौचालयको सुविधा पुर्‍याउने जस्ता कुराहरू उल्लेख गरिएका छन् ।


जारी घोषणापत्रमा एक घर एक धारा निर्माण गर्ने, पानीको गुणस्तर परीक्षण गर्ने प्रणाली गाउँपालिकामा स्थापना गर्ने, पानीका मुहानको संरक्षण र सरसफाइको नियमित व्यवस्था गर्ने जस्ता बुँदाहरू पनि उल्लेख गरिएका छन् । यस्तै, महिनावारी भएका बेला गरिने विभेद उन्मूलनका लागि विद्यालयमार्फत समुदायमा चेतना जागरण गर्ने, गाउँपालिका क्षेत्रबाट उत्र्सजन हुने फोहोरको पुन: प्रयोग र व्यवस्थापनका लागि विशेष व्यवस्था गर्ने र ३ वर्षभित्र पूर्ण सरसफाइ युक्त, छाउपडी मुक्त र कुपोषण मुक्त स्थानीय तहको घोषणा गर्ने कुराहरू पनि घोषणा पत्रमा उल्लेख गरिएका छन् ।


सम्मलेनको उद्घाटनका क्रममा सरसफाइ र महिनावारी स्वच्छता सम्बन्धी विभिन्न जनचेतनामूलक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।


घोषणापत्रमा उल्लेख भएका योजनाका आधारमा गाउँपालिकाले आगामी कार्यक्रम र बजेट तय गर्ने बताउँदै गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले भने, ‘यो सम्मेलन कुनै औपचारिकताका लागि गरिएको होइन । सम्मेलनले बनाएको कार्ययोजना अनुसार गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त पहिलो स्थानीय तह बनाएर देखाउनेछौं ।’

प्रकाशित : असार १०, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?