कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिचल्लीमा एचआईभी संक्रमित

लक्षित कार्यक्रमहरू न्यून भएपछि संक्रमितहरू कष्टकर जीवन जिउन बाध्य छन् । खाद्यान्न, पोषण तथा औषधिमा समस्या भइरहेको उनीहरूको दुखेसो छ ।

डोटी/कञ्चनपुर — दिपायल सिलगढी नगरपालिकाका ४५ वर्षीय रामबहादुर कोली (नाम परिवर्तन) एचआईभी संक्रमितत हुन् । ६ बर्ष अघि उनी संक्रमित भएका थिए । घरमा उनी एक्ला छन् । स्याहार सुसारमा सहयोग गरिरहेकी आमाको मृत्यू भएपछि उनको दैनिकी कष्टकर बनेको छ ।

बिचल्लीमा एचआईभी संक्रमित

खनजोत गरी खाने जमिन उनको छैन । ज्यालामा काम उनी पाउन सकिरहेका छैनन् । आयआर्जन केही नभएपछि साँझ बिहानको छाक टार्नसमेत उनलाई समस्या भइरहेको छ । ‘सानो झुपडीमा कहिले भोकै सुत्छु, औषधि पनि खाली पेटमा खानुपर्ने बाध्यता छ’ कोलीले भने, ‘औषधि खान आवश्यक पोषण समेत पाउन सकिरहेको छैन ।’

५ वर्षअघि पेट पाल्न आश्रय खोज्दै संक्रमित सुरेश लुहार (परिवर्तित नाम) सायल गाउँपालिकाबाट श्रीमती र तीन सन्तानको पेट पाल्न सदरमुकाम सिलगढी आए । जिल्ला स्वास्थ्य कार्यालय अगाडि एक जीर्ण घरमा उनीहरू आश्रय लिएर बास बसे । त्यही उनीहरूले पुख्र्यौली पेसा सुरु गरे । सिलगढीवासीका फलामका भाँडाकुडा कार्दै परिवार पालिरहेका थिए । तर ०७३ साउन २१ गते आएको अबिरल बर्षाले त्यही आश्रय लिएको घर पनि भत्काएपछि उनको परिवार विचल्लीमा पर्‍यो । घरभित्रै उनका लुगाकपडा, भाँडाकँुडाहरू, अन्नपात पुरिएका छन् ।

सबैभन्दा दुखको कुरा पेट पाल्ने आरनका सामग्रीहरू पनि त्यही पुरिए । त्यसपछि भने उनको परिवार बिचल्लीमा छ । औषधि, खाद्यान्न लत्ताकपडा नभएर सिलगढीमा सो परिवार अलपत्र छ । शिखर नगरपालिका १० वनलेककी रमा देवी (नाम परिवर्तन) ४० वर्षकि भईन् । २० वर्षअघि एचआईभी संक्रमणले श्रीमानको मृत्युपछि दैनिक छाक टार्न उनलाई समस्या हुन थालेको छ । उनी आफैपनि संक्रमित छन् ।

१३ वर्षकै उमेरमा विवाह भएपनि रमाका श्रीमान परिवारको गुजारा चलाउन भनेर भारत पसेका थिए । घर परिवार राम्रै चलेको थियो । ६ महिना वर्षदिनमा घर आउथे । कहिलेकांही ढिलो भएमा साथीभाईसंगै खर्च पठाउथे । जब संक्रमण भएर उनी घर आए त्यहिबेलादेखि उनको परिवार ओरालो लाग्यो । ‘बिरामी भएर घर आएपछि धेरै ठाउ उपचार गर्‍यौं’ रमाले भनिन्, ‘अन्तिममा काठमाण्डौ गएर चेक गर्दा एचआईभी देखियो, त्यसपछि हामीले आस मार्‍यांै ।’ त्यसपछि भने रमाको परिवार बिचल्लीमा छ ।

यी केही उदाहरण मात्र हुन् । एचआईभी संक्रमित भएपछि बिचल्लीमा परेका परिवार जिल्लामा थुप्रै छन् । जिल्लामा एचआईभी संक्रमितलाई लक्षित कार्यक्रमहरू न्युन भएपछि संक्रमितहरू कष्टकर जीवन जीउन बाध्य छन् । खाद्यान्न, पोषण तथा औषधिमा समस्या भइरहेको संक्रमितहरूको दुखेसो छ ।

पोषण र कोष छैन
बिगतमा औषधि लिनका लागि एआरटी सेन्टरसम्म आउने संक्रमितलाई जिल्ला स्वास्थ्यले यातायात खर्चका लागि कोष बनाएर बितरण गर्ने गरेको भएपनि पछिल्लो समय त्यस्तो छैन । बिपन्न तथा गरिबीको रेखामुनि रहेका संक्रमित पछिल्लो समय औषधि लिनका लागि एआरटी सेन्टरसम्म लाग्ने खर्च आफै ब्यहोर्न बाध्य छन् । संक्रमित शंकर भुल(नाम परिवर्तन) ले क्रृण झिकेर औषधि लिन जानु पर्ने बाध्यताले समस्या भइरहेको बताउछन् ।

‘अधिकांस संक्रमितको अवस्था दयनिय छ, आयआर्जन सबैको छैन’, भुलले भने, ‘केही नभएपनि डेढ दुई सय महिनामा त लाग्छ नै , त्यति पनि जुटाउन हम्मे हम्मे हुन्छ ।’जिल्लाका तीन ठाउमा एआरटी सेन्टर छ । जिल्लाको उत्तर पूर्वी क्षेत्रका संक्रमितका लागि पूर्वीचौकी गाउपालिकाको सानागाउँ, उत्तर पश्चिम क्षेत्रकालागि आदर्श गाउपालिकाको मौवा र जिल्ला अस्पताल सिलगढीमा एआरटी सेन्टर छ । जिल्लामा ९ सय ३६ संक्रमित रहेका छन् ।

बिगतमा औषधि लिन आउने संक्रमितका लागि जिल्ला स्वास्थ्यले संघसंस्थाको सहयोगमा कोष खडा गरेको तर पुर्नसंरचनामा गइसकेपछि सो कोष नरहेको जिल्ला स्वास्थ्यका एचआईभी फोकल पर्सन कपीलदेव जोशीले जानकारी दिए । राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले ०७२ सालसम्म संक्रमितहरूलागि पोषणयुक्त खानेकुराहरू उपलब्ध गराउदै आएको थियो । एआरटी सेन्टरमा औषधि लिन आउने संक्रमितलाई उपलब्ध गराउदै आएको पोषण अहिले हटाइएको छ । औषधि खाइरहेका संक्रमितहरूलाई त्यसले राहत दिएको एचआईभी संक्रमित महिला कमला मल्ल बताउछिन् ।

तर सो कार्यक्रम हटाएपछि संक्रमितहरूले सुख्खा खानासंग औषधि खानु पर्ने बाध्यता आएको मल्लको दुखेसो छ । ‘हामीलाई स्वस्थ मानिस भन्दा बढी पोषिलो खाने कुरा आवश्यक हुन्छ, नियमीत औषधि खानु पर्ने भएकाले स्वास्थ्यमा बिशेष हेरचाह गर्नु पर्छ’, उनले भनिन्, ‘तर जिल्लाबाट सरकारी तवरबाट उपलब्ध गराउदै आएका कार्यक्रम हटेपछि थुप्रै संक्रमित समस्यामा पर्न थालेका छन् ।’ जिबिकोपार्जनमा काम गर्दै आएका संघसंस्थाकाले पनि कार्यक्रमहरू हटाएपछि झन् बिजोग भएको छ । जिल्लामा अहिले रोजीरोटीका लागि भारतमा काम गर्नेहरूको परिवारको आयआर्जनका लागि निड्स नेपाल र संक्रमितहरूको संस्था लालीगुरास एकता समाजले मात्र एचआईभीको क्षेत्रमा काम गरिरहेका छन् ।

तालिमप्राप्त स्वास्थ्यकर्मी छैनन्
जिल्लाको उत्तर पूर्वी क्षेत्रका संक्रमितहरूका लागि सानागाउ स्वास्थ्य चौकीमा दुई बर्ष अघि स्थापना गरिएको एआरटी सेन्टरमा तालिम प्राप्त नपाएका स्वास्थ्यकर्मीले संक्रमितहरूलाई औषधि बितरण गरिरहेका छन् । संक्रमितहरूलाई औषधि दिनु अघि उनीहरूको स्वास्थ्य अवस्था अनुसार फरक फरक औषधि दिन सक्ने तालिम प्राप्त स्वास्थ्यकर्मी आवश्यक भएपनि त्यस्तो जनशत्ति सानागाउ एआरटी सेन्टरमा नरहेको जिल्ला स्वास्थ्यका एचआईभी फोकल पर्सन कपीलदेव जोशीले बताए । ‘परामर्शदाता पनि त्यहा खटाउन सकेका छैनौं’ , जोशीले भने, ‘केन्द्रबाट परामर्शदाताका लागि तालिमको बजेट पनि आउन नसकेकाले समस्या भएको हो ।’

संक्रमितहरूले भने सानागाउ एआरटी सेन्टरबाट अनुमानका भरमा स्वास्थ्यकर्मीले दिदै आएको औषधि आफुहरू खान बाध्य रहेको दुखेसो गर्छन् । चिकित्सकहरू भने अनुमानका भरमा औषधि बितरण गर्दा संक्रमितहरूको ज्यान समेत जोखिममा पर्न सक्ने खतराको संकेत गर्छन् । ‘औषधि उल्टो पर्‍यो भने रियाक्सन पनि हुन सक्छ’, जिल्ला अस्पतालका डा. घनश्याम भट्टले भने, ‘संक्रमितलाई तीन प्रकारका औषधि दिइन्छ । ती औषधि बिचको समन्वयका आधारमा औषधि दिइने हो , यदि त्यसमा तलमाथि भयो भने संक्रमितहरूको अवस्था नाजुक हुने , पछि गएर औषधिले काम नगर्ने समस्या आउन सक्छ ।’ सानागाउ एआरटी सेन्टरबाट एक सय ७५ संक्रमितले नियमित औषधि खाने गरेका छन् । संक्रमितहरूको तालिम प्राप्त स्वास्थ्यकर्मी हुनुपर्ने माग बढेपछि पूर्वीचौकी गाउपालिकाले बजेट बिनियोजीत गरेको छ ।


संक्रमण दर घट्दै
प्रदेश नं. ७ का चार जिल्लामा एचआईभीको संक्रमण घटै गएको छ । राष्ट्रिय एचआईभी/एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुको सहयोगमा नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रा.लि. नामक संस्थाले बिभिन्न चार जिल्लाहरूमा गरेको एकिकृत जैबिक तथा ब्यबहारिक सर्बेक्षणका क्रममा उक्त तथ्य फेला परेको हो ।

प्रदेश सातका कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्लाहरूमा उक्त सर्बेक्षण गरिएको हो ।

नेशनल ईन्सिच्युट फर डेभलपमेन्ट एण्ड रिचर्स प्रा.लि. का अध्यक्ष तर्कराज भट्टका अनुसार कामको शिलसिलामा भारत जाने ब्यक्तिका श्रीमतीमा सर्बेक्षण गरिएको हो । सर्बेक्षणमा सहभागी कामदारका श्रीमतीहरूमा एचआईभी र यौन रोग भएको नभएको जांच गरिनुका साथै एचआईभी / एड्स र यौनरोगका सम्बन्धमा ज्ञान चेतना कस्तो छ भनेर अध्यायन गरिएको थियो । अध्यक्ष भट्टले भन्नु भयो – “यस क्षेत्रमा अत्याधिक एचआईभी/एड्स छ भनेर हल्ला गरिए पनि पछिल्लो अवधीमा घटै गएको देखिएको छ । सर्बेक्षणका क्रममा एचआईभीको जांच गरिनुका साथै यौन ब्यबहार एचआईभी संक्रमणको अवस्थाको बारेमा समेत बिस्तृत रुपमा अध्यायन गरिएको ।”

यस क्षेत्रका बिभिन्न चार जिल्लाहरू मध्ये डोटीमा ८० कैलालीमा १ सय २० कञ्चनपुरमा १ सय ४० र अछाम ६० जना गरी जम्मा चारसय जना कामका लागी भारत जाने कामदारका १६ बर्ष भन्दा माथीका श्रीमतिहरूलाई सर्बेक्षणमा सहभागी गराईएको थियो । अध्यायनका क्रममा जांच गरिएका महिलाहरू मध्ये कसैमा पनि एचआईभीको संक्रमण फेला नपरेको बताईएको छ । यौन रोग भने अधिकांशमा देखा परेको थियो । अध्ययनका क्रममा यौन ब्यबहार, कण्डमको प्रयोग, नियमित एचआईभी जांचको लगायतका अवस्थाको अध्यायन भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख भुषण मिश्रका अनुसार जिल्लामा लामो समय देखि एआरभी औषधि सेवन गरिरहेका एचआईभीको संक्रमितहरूको संख्या ठुलो भए पनि नयां एआईभी संक्रमितहरू पत्ता लाग्ने क्रम भने अघिल्ला बर्षहरूको तुलनामा न्यून छ । निमित्त प्रमुख मिश्रले भने –‘सरकारी तथा गैरसकारी क्षेत्रवाट संचालन भएका जनचेतना मुलक कृयाकलापहरूका कारण पनि नयां संक्रमण दर कम भएको हो ।’

प्रकाशित : असार २६, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?