कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षामा पनि खानेपानीको चरम संकट

डीआर पन्त

खोडपे (बैतडी) — हिउंँद र गर्मियाममा खानेपानीको संकट भोगिरहेका बैतडीको पाटन नगरपालिका खोड्पे बजारका वासिन्दाले वर्षातमा पनि खानेपानीका लागि निकै सास्ती भोग्नु परेको छ ।

वर्षामा पनि खानेपानीको चरम संकट

१० बर्ष अघि खानेपानीका सवै मूल सुकेपछि २०६४ मा निर्माण सुरु भएको लिफ्ट खानेपानी योजना सम्पन्न भएपनि बिद्युत आपुर्तिको अनियमितताका कारण २ सय वढी परिवारले खानेपानीको संकट भोगीरहनु परेको हो । ‘झण्डै १० हजार जनसंख्याले खानेपानीका लागि सास्ती भोग्नु परेको छ’ स्थानीय गगन वहादुर ऐरले भने, ‘खोड्पे बजारका २ सय परिवार मात्र होइन दैनिक खोडपे बजारमा आउने ४ हजार वढी सर्वसाधारण र यात्रीले खानेपानीका लागि निकै सास्ती भोग्नु परेको छ ।’

खानेपानीको हाहाकार भएपछि १० बर्ष अघि निर्माण सुरु भएको लिफ्ट खानेपानी योजना निर्माण सम्पन्न भइसक्दा पनि बिद्युत अनियमितता हुंँदा उपभोक्ताले पानीको समस्या भोग्नु परेको उनले वताए ।‘खोड्पे बजार देखि अढाइ किमी टाढाको भट्टीखोलावाट लिफ्ट मार्फत पानी तानेर बितरण हुने गरेको छ’ सिद्धेश्वर खोड्पे खानेपानी योजनाका सचिव मोहन बिष्टले भने, ‘हप्तामा ३ दिन पनि बिद्युत सप्लाइ नियमित हुन नसक्दा लिफ्ट खानेपानी योजनावाट आउने पानी वन्द हुने गरेको छ ।’ खानेपानी डिभिजन कार्यालय बैतडीको ६० लाख र उपभोक्ताको ४० लाख गरि एक करोडमा सम्पन्न उक्त खानेपानी योजना संचालन पछि पनि पानीका लागि सर्वसाधारणले सास्ती पाउनु परेको सचिव बिष्टले वताए ।

उनले भने, हिमपात हुने उँचाइमा रहेको खोडेपे बजारमा सामान्य हावा चल्दा पनि बिद्युत सेवा दिनहुंँ अवरुद्ध हुने गरेकाले खानेपानीवाट बंञ्चित हुनु परेको हो ।’

‘सोलार सिस्टमबाट पानी तान्ने योजना नबन्दासम्म यस क्षेत्रका वासिन्दाले खानेपानीको संकट भोगिरहनु पर्ने देखिएको छ’ योजनाका सचिव बिष्टले भने, ‘१ सय ३ परिवार बजार क्षेत्रका बासिन्दा र सालभाडी, मल्लो खोड्पे र पनाली लगायतका गाउंँका वासिन्दा पनि पानीवाट वंञ्चित भएका छन ।’ बिद्युत समस्यालाइ लिएर पटक पटक खानेपानी डिभिजन कार्यालय र बिद्युत प्राधिकरणलाइ जानकारी गराउंँदा पनि समस्या समाधान हुन नसकेको सर्व साधारणले गुनासो गरेका छन ।

लिफ्ट खानेपानी योजना सुरु भएपछि हरेक परिवारले ६ युनिट पानीका लागि महिनाको ३ सय रुपैयाँ भुक्तानी गर्दै आएका छन । ६ युनिट माथी प्रत्येक युनिटको सय रुपैंया उपभोक्ताले भुक्तानी गरिरहेका छन । स्थानीय उपभोक्ता धर्म रोकायाले भने, ‘कम्तिमा ५० हजार लिटरको रिजर्व टंकी निर्माण हुन सक्यो भने बिद्युत नियमित भएका समय पानी रिजर्व हुन सक्थ्यो ।’ खानेपानी योजनामा सोलार जडान गर्ने या ५० हजार लिटरको टंकी निर्माणको अर्को विकल्प नभएको पनि उनले वताए ।

आकासवाट पानी वर्षिरहेको छ तर हामीले एक जर्किन खानेपानीका लागि आउँंदा जांँदा ८ किलोमिटर दैनिक पैदल हिंडनु पर्ने बाध्यता रहेको छ । खोड्पे बजारका उपभोक्ताले दैनिक गाडी भाडामा लिएर पानी नवोके होटल ब्यबसाय नै संचालन गर्न सक्ने स्थिति नरहेको गुनासो गरेका छन । डडेलधुरा, बैतडी, बझांग र दार्चुला जाने दर्जनौं यात्रुवाहक सवारी साधनले खोड्पे बजारमा खाना खाने गरेका छन । ‘पानी संकटले ब्यबसाय नै चौपट भएको छ’ स्थानीय होटल ब्यबसायी जयबहादुर वोहराले भने, ‘लिफ्ट खानेपानी योजनावाट पनि नियमित पानी आपूर्ति हुन नसक्दा ब्यबसाय नै छोड्न पर्ने वाध्यता भएको छ ।’

बिद्युत आपूर्ति नियमित गर्ने बिषयमा बिद्युत प्राधिकरण बैतडीले भने सकेसम्म आपूर्तिको ब्यबस्था मिलाएका दावी गरेको छ । उंँचो डांँडामा चल्ने निरन्तर हवाहुरीले गर्दा बिद्युत सेवा ठाउंँ ठाउँंमा फल्ट हुने गरेको प्राधिकरणले जनाएको छ । खोड्पे क्षेत्रमा बिद्युत लाइन बितरण गर्दा गुणस्तरहीन काम भएकाले सामान्य बर्षा र हावाले पनि बिद्युत सेवा अवरुद्ध हुने गरेको प्राधिकरणका कर्मचारीले जनाएका छन ।

प्रकाशित : असार २६, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?