कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोप हुँदै महाशिर

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पाइने माछामध्ये महाशिर सबैभन्दा ठूलो र आकर्षक प्रजाति हो । यो खानामा समेत स्वादिलो हुन्छ । तर हालका वर्षमा अवैध रूपमा माछा मार्ने, अनियन्त्रित उत्खनन कारण महाशिर लोप हुने अवस्थामा पुगेको छ ।

लोप हुँदै महाशिर

वर्षाैंदेखि माछा मारिरहेका माझी र स्थानीयका अनुसार १०/१५ वर्षअघिको तुलनामा अहिले महाशिर ६० प्रतिशतभन्दा बढीले घटेको छ ।

विगतमा दैनिक १०/१५ किलोसम्म महाशिर मार्न सकिने भए पनि अहिले कहिलेकाहीँ त भेट्टाउनै नसकिने माझीहरू बताउँछन् । १५/२० वर्षदेखि महाकालीमा माछा मारिरहेका भारतीय नागरिक मिलन दासका अनुसार महाशिर निकै कम भेटिने गरेको छ । विगतमा ८०/९० किलो माछा मार्दा १०/१५ प्रतिशत महाशिर हुने गरेको उनी बताउँछन् । तर अहिले भेट्नै मुस्किल भएको छ ।

मत्स्य विकास कार्यालय गेटाका वरिष्ठ मत्स्य विकास अधिकृत दीपक भुसालका अनुसार महाकालीसँगै नेपालका अन्य मुख्य नदीहरूमा समेत महाशिर घट्दै गएको छ । त्यही भएर सरकारले पनि यसलाई लोपोन्मुख प्रजातिमा राखेको छ । उनले यसको अवस्थाबारे बेग्लै अध्ययन अनुसन्धान हुन नसकेको बताए ।

‘हामीले अहिले माछा घटे, बढेको अनुमान गर्ने नै माछा मार्नेहरूबाटै हो,’ हालै सीमा नदीको सामुदायिक सदुपयोग (ट्रोसा) कार्यक्रमले आयोजना गरेको महाशिर संरक्षणसम्बन्धी कार्यशालामा वरिष्ठ मत्स्य विकास अधिकृत भुसालले भने, ‘नेपालका प्रमुख नदीहरूमा अहिले महाशिर घट्दै गएको छ ।’ उनका अनुसार महाशिर महाकालीसँगै कोसी, गण्डकी र कर्णालीमा पाइन्छ ।

खासगरी सिँचाइ आयोजना, हाइड्रोपावर आदिको निर्माणले माछाको प्रजनन प्रणाली अवरुद्ध हुन पुग्दा केही वर्षयता महाशिरको संख्या घट्दै गएको भुसालले बताए । महाशिर हिउँदमा तराईमा र गर्मीमा पहाडमा बस्ने गर्छ । तर प्रजननका लागि भने पहाडतिरै उक्लिने गरेको भुसालले बताए । ‘नदीमा बनेका विभिन्न आयोजनाका कारण माछा माथि उक्लिन सकेन,’ उनले भने, ‘यसकारण प्रजनन प्रक्रिया नै खल्बलियो ।’

बर्सेनि कम उत्पादन हुने र मर्ने क्रम बढी भएका कारण यो जातको माछा लोप हुने अवस्थामा पुगेको हो । महाकालीमा माछाको अवस्था र विविधताबारे खोज गरेका विज्ञानका विद्यार्थी केशव पन्तका अनुसार अवैध जालहरूको प्रयोग, विषादीको प्रयोग र भुराहरू मार्ने गरेका कारण महाशिर लोप हुने अवस्थामा पुगेको हो । प्रजनन प्रक्रिया सुरु गर्ने बेला माछा मार्न प्रतिबन्ध भए पनि खुलेआम मारिरहेको उनले बताए ।

‘महाशिरले बर्खामा प्रजनन प्रक्रिया सुरु गर्छ,’ पन्तले भने, ‘यतिबेला माछा मार्नु हँुदैन, तर अहिले सानो आँखा भएको जालले भुराहरूसमेत मार्ने काम भइरहेको छ ।’ पन्तले अध्ययनका क्रममा ३६ प्रजातिका माछा भेट्टाएका छन् । महाकालीमा ६० प्रजातिभन्दा बढी माछा छन् ।

प्रकाशित : असार २९, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?