कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

कृषि बिमामा आकर्षण

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाका अर्जुन जेठाराले व्यावसायिक रूपमा केरा खेती सुरु गरेको ११ वर्ष पुग्यो । ३ कट्ठाबाट केरा लगाउन सुरु गरेका उनले अहिले ५ बिघासम्म पुर्‍याएका छन् ।

कृषि बिमामा आकर्षण

सुरुमा कृषि बिमाबारे जानकारी नभएकाले प्राकृतिक विपद्बाट हुने नोक्सानका कारण उनले ठूलो क्षति बेहोरे । त्यसपछि कृषि प्राविधिकको सल्लाहमा केरा खेतीको बिमा सुरु गरे ।

वैशाख ३० मा असिना पानीसँगैको हावाहुरीले ठूलो मात्रामा केराको बोट ढलाउँदा उनी निकै चिन्तित भएका थिए । तर दुई महिनाभित्रै नोक्सान भएको बोटको बिमा रकम पाउँदा उनले राहत महसुस गरेका छन् । ‘सुरुमा जानकारी नहुँदा हामीले बिमा गरेनौं, ठूलो नोक्सानी पनि भयो’ शनिबार एनएलजी इन्स्योरेन्स कम्पनीको चेक बुझेपछि जेठाराले भने, ‘तर बिमा गरेपछि थोरै रकम मात्र तिर्नुपर्ने रहेछ, नोक्सान भए पूरै क्षतिपूर्ति पाइने रहेछ ।’ उनले अहिले केरा खेतीमा लागेका कृषक मात्र नभएर अन्य कृषक पनि बिमातर्फ आकर्षित हुन थालेको बताए ।

वैशाख ३० र जेठ १० को हावाहुरीले केरा खेती नोक्सान भएका ८ जना कृषकलाई शनिबार कम्पनीले एकमुष्ट रूपमा ८ लाख बढीको चेक हस्तान्तरण गर्दा उनीहरू निकै खुसी देखिन्थे । जिल्लाको दक्षिणी क्षेत्रमा पनि केरा खेतीमा त्यतिबेला ठूलो क्षति भएको थियो । हावाहुरीले हजारौं बोट केराका नष्ट गर्दा निकै समस्यामा परेका किसानलाई बिमाबापतको रकमले केही राहत भएको छ । ‘यसले मलखाद र अन्य लगानी उठेजस्तो भएको छ,’ लामो समयदेखि केरा खेतीमै लागेका कृषक सुरेन्द्र चौधरीले भने, ‘कृषकहरूलाई पनि बिमातर्फ आकर्षित गरेको छ ।’ चौधरी जिल्लाकै उत्कृष्ट केरा उत्पादक कृषकका रूपमा चिनिन्छन् ।

कञ्चनपुरमा हाल करिब साढे ६ सय हेक्टरमा केरा खेती गरिँदै आएको छ । जसमध्ये साढे ४ सय हेक्टरभन्दा बढीको बिमा भएको केरा खेतीको प्रवद्र्धनमा संलग्न इलम हेल्भटासका कर्मचारी टेकबहादुर सिंहले बताए । २०७२ मा आएको भीषण हावाहुरीले केरा खेतीमा ठूलो नोक्सानी गरेको थियो । त्यसपछि कृषकहरू बिमा गर्न थालेका हुन् । त्यतिबेला बिमा गरेका कृषकहरूले एक जनाले ११/१२ लाखसम्म रकम बुझेका थिए ।

२०१२ मा हेल्भटासकै पहलमा जिल्लाका १२ जना कृषकले ८ हेक्टरबाट केराको बिमा सुरु गरेका हुन् । अहिले ७० प्रतिशतभन्दा बढीले बिमा गरेका छन् । विगतमा भुक्तानी लिन असहज हुने, बिमा रकम बढी तिर्नुपर्ने लगायतका अनावश्यक हल्लाका कारण कृषकहरू यसतर्फ चासो राख्दैनथे । तर अहिले आएर क्षतिपूर्ति पाउन थालेपछि आकर्षित हुन थालेका हुन् । कृषि बिमामा ७५ प्रतिशत सरकारले र २५ प्रतिशत मात्रै कृषकले व्यहोर्नुपर्ने सहुलियत छ ।

‘कृषकहरूलाई यसबारे थाहा नभएर केही समस्या भएको हो, अब नगरपालिकाले पनि विशेष कार्यक्रम चलाएर कृषि बिमामा जोड दिनेछ,’ बिमाबापतको चेक हस्तान्तरण गर्दै कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले भने, ‘कृषकले तिर्ने २५ प्रतिशतमा पनि विपन्नहरूका लागि नगरपालिकाले केही थप गर्न सक्नेगरी हामी अगाडि बढिरहेका छौं ।’ उनले बिमाबाट केरामा मात्रै नभई धान, गहुँ, तरकारी र उखुमा समेत हुने जोखिम न्यूनीकरण गर्न सकिने र लगानी सुरक्षित हुने बताए ।

प्रकाशित : असार ३१, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?