कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्द्र सार्ने विवादमा झडप

बझाङ — जिल्लाको दक्षिणी भेगस्थित बुंगल नगरपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा प्रहरी निरीक्षकसहित ५ जना घाइते भएका छन् । हाल बुंगल नगरपालिका ४ बिजगडा केन्द्र, वडा नं. ५ स्थित झापा सार्ने निर्णय नगरसभाले पारित गरेपछि विवाद सुरु भएको हो ।

केन्द्र सार्ने विवादमा झडप

विवाद चर्किंदै जाँदा स्थानीयले ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको थियो । झडपमा परी प्रहरी निरीक्षक जनक धामी, स्थानीय विष्णु कुँवरलगायत ५ जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विवाद नियन्त्रणका लागि नजिकका प्रहरी कार्यालयबाट थप बल त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताए ।

नगरपालिकाको केन्द्र हाल भएकै स्थान बिजगडामा हुनुपर्छ भन्ने पक्षका व्यक्तिले नगरसभाको निर्णय पुस्तिका च्यातेपछि झडप सुरु भएको थियो । निर्णय पुस्तिका बचाउने क्रममा प्रहरीमाथि नै स्थानीयले ढुंगा प्रहार गरेका थिए ।

बुंगल नगरपालिकाको केन्द्र स्थानीय तह पुनर्संरचना आयोगले साबिक खिरातडी गाविसको बिजगडालाई तोकेको थियो । त्यसबाट असन्तुष्ट भएका बुंगलको माथिल्लो भेगमा रहेका साबिकका पीपलकोट, कफलसेरी र देउलीकोट गाविसका बासिन्दाले र तल्लो भेगमा रहेको खिरातडी र दहबगर गाविसका बासिन्दाबीच गत वर्षबाट नै विवाद सुरु भएको थियो । गत वर्ष झापामा केन्द्र हुनुपर्छ भन्दै माथिल्लो भेगका बासिन्दाले नगरपालिकाको साइनबोर्ड खोसेर पीपलकोटको झापास्थित इलाका नं. १० को भवनमा छुट्टै कार्यालय खोलेर विरोध जनाएका थिए ।

साबिकका दुई गाविसलाई मात्र पायक पर्ने ठाउँमा केन्द्र तोकेकाले त्यो निर्णय आफूहरूलाई मान्य नहुने माथिल्लो भेगका बासिन्दाको भनाइ छ । पीपलकोटका एकेन्द्र बोहराले भने, ‘कफलसेरी र देउलीकोटको ठूलो जनसंख्यालाई बाइपास गरेर तोकिएको केन्द्र हामीलाई स्विकार्य छैन । झापा पहिलादेखि पनि बुंगल क्षेत्रको केन्द्र हो । अहिले पनि यही कायम हुनुपर्छ ।’

स्थानीय तह पुनर्संरचनाको बहस सुरु भएदेखि नै साबिकका खिरातडी र दहबगरका बासिन्दाले हाल यस क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको बिजगडालाई केन्द्र कायम गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित : असार ३१, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?