कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औद्योगिक क्षेत्रका लागि जग्गाको खोजी तीव्र

गणेश चौधरी

टीकापुर — तत्कालीन टीकापुर विकास समितिले उद्योग सञ्चालन गर्न जग्गा वितरण गरिसकेको भए पनि औद्योगिक क्षेत्रका लागि फेरी जग्गाको खोजी हुन थालेको छ । औद्योगिक क्षेत्र भनेर उद्योग स्थापनाका लागि दिइएका जग्गा घर घडेरीमा परिणत भएपछि पुन औद्योगिक क्षेत्रका लागि जग्गाको खोजी हुन थालेको हो ।

औद्योगिक क्षेत्रका लागि जग्गाको खोजी तीव्र

औद्योगिक क्षेत्रका लागि कम्तीमा सय बिघा जग्गा आवस्यक हुने टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशुराम चपाइले बताए । उनले भने, ‘धेरै ठुला उद्योगभन्दा पनि मझौला खालका करिब ४०/५० वटा जति उद्योगका लागि सय बिघा जग्गा आवश्यक हुने अनुमान गरेका हौं ।’

टीकापुरको खक्रौलालाई मुख्य भन्सार नाका बनाउने सरकारी निर्णयले कच्चा पदार्थ आयात निर्यात सहज भइ उद्योग स्थापनाको संभावना बढी भएकोले जग्गाको खोजी हुन थालेको अध्यक्ष परशुराम चपाइले बताए ।

विगतमा टीकापुरमा औद्योगिक क्षेत्र बनाउन विभिन्न उद्योगका नाममा स्वामित्व हस्तान्तरण गरेर जग्गा वितरण गरिएकाले सबै जग्गा घरघडेरीमा परिणत भएको उनले बताए । ‘जग्गा सरकारी स्वामित्वमा रहने गरी उद्योग स्थापनाका लागि लिजमा दिने व्यवस्था गरिनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष चपाईले भने ।

टीकापुरमा उद्योगका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि अध्यक्ष परशुराम चपाईको संयोजकत्वमा एक कमिटी गठन गरिएको छ । कमिटीले स्थानीय तहसित समन्वय र सहकार्य गरेर जग्गाको माग गर्नेछ । औद्योगिक र पर्यटन सूचनाका बारेमा परामर्श दिने गरी योजना आयोगका पूर्वसदस्य जनकराज शाहको संयोजकत्वमा ७ नम्बर प्रदेशका लागि बनाइएको समितिले औद्योगिक क्षेत्रका लागि अध्ययन गरिरहेको छ ।

संयोजक शाहले टीकापुरमा आयोजित कार्यक्रममा मझौला खालका उद्योग स्थापनाका लागि टीकापुर उपयुक्त स्थान रहेको बताए । उनले भने, ‘वनजंगल मासेर औद्योगिक क्षेत्र स्थापना गर्न सम्भव छैन । अरू नगर तथा गाउँपालिकामा टीकापुरको जस्तो स्थानीय तहसित जग्गा पनि छैन, त्यसैले टीकापुरमा औद्योगिक क्षेत्र स्थापना सम्भव छ ।’

प्रकाशित : असार ३२, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?