कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुखद् बन्दै मुक्तिपछिको जीवन

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका ३ सामादैजीका ३८ वर्षीय लहान चौधरी काठ चिरानको काम गर्छन् । प्राय: उनी काठ चिरानमै व्यस्त हुन्छन् ।

सुखद् बन्दै मुक्तिपछिको जीवन

१८ वर्षअघि कमैया मुक्तिपछि उनलाई सुरुमा परिवार पाल्न गाह्रो भएको थियो । सरकारले ५ कठ्ठा जमिन दिएर पुन:स्थापना गरे पनि त्यसबाट परिवार पाल्न सकिने अवस्था थिएन । दैनिक मजदुरी गरेर पनि साँंझ बिहानको छाक टार्न निकै समस्या हुन्थ्यो । जब बिस्तारै चिरानको काम सिके त्यसपछि भने उनको दैनिकि फेरियो ।
१८ औं मुक्त कमैया दिवस बुधबार मनाइँदै छ । मुक्ति दिवसको सुरुताका र अहिले कमैयाको जीवनमा धेरै परिवर्तन आइसकेको लहान बताउँछन् । प्राय:जसो सीप सिकेर स्वरोजगार बनेका छन् । कतिपय मजदुरी गरेरै भए पनि परिवारको राम्रो व्यवस्था गर्न सफल भएका छन् ।

१४ वर्ष दैजीमै कमैया बसेका उनलाई त्यतिबेलाका दासतापूर्ण जीवन सम्भिँmदा अहिले पनि घृणा लाग्छ ।बिहान उठेदेखि सांँझ अबेरसम्मै काममा जोतिनुपर्ने पीडा सम्झिन पनि चाहन्नन् । ‘न त खाने ठेगान हुन्थ्यो, न सुत्ने’ उनले भने, ‘खेतीपातीको बेला त रातिसमेत काम गर्नुपथ्र्याे ।’ लहान चिरानका लागि साथीभाइसँगै कञ्चनपुरका गाउँगाउँ पुग्छन् । गाउँमै पनि राम्रै काम पाएका छन् । बिहान खाजा खाएर काममा जाने उनी दिउँसो खाना खान फर्किन्छन् । ‘अहिले घर परिवारसँगै बसेर आनन्दले काम गर्न पाइएको छ,’ उनी भन्छन्, ‘दिनमा हजार/बाह्र सयसम्म आम्दानी हुन्छ ।’ उनका जेठा छोरा शंकर भारत छन् । दुवै जनाको कमाइबाट उनले यसै वर्ष ८ लाख खर्चेर पक्की घर पनि बनाएका छन् ।

५५ वर्षीय जंगबहादुर चौधरी पनि ३० वर्षभन्दा बढी समय कमैया बसे । उनी त बुवाकै पालादेखि कमैया बसेका हुन् । सानोमा बाख्रा तथा गाई–भैंसी चराउने र अलि ठूलो भएपछि बुवाले गर्दै आएको हलो जोत्ने काम उनको कांँधमा आयो । उनले पनि जेनतेन कामको भार थेगेकै थिए । मुक्ति घोषणा हुँदा सुरुमा त उनलाई कहांँ जाने, के खाने र कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो । तर, बिहान जहिले पनि काममा पेलिनुपर्ने बाध्यताबाट मुक्ति पाएकोमा उनी खुसी भए ।

‘मुक्ति भएपछि हाम्रो प्रगति हुन थालेको हो, नत्र अहिलेसम्म साहुकै हलो जोत्थ्यौं,’ जंगले भने, ‘मुक्त कमैया परिवारका हरेक व्यक्ति अहिले आ–आफ्नो काममा लागेका छन्, कोही मिस्त्री छन्, कोही चिरानको काम गर्छन्, केही सीप नहुनेले मजदुरी गर्छन् ।’ सरकारले पुन:स्थापनाबापत दिएको जमिनले मात्रै खान नपुग्ने भएपछि अधिकांशले गाउँमै अँधियामा खेती गरिरहेको पनि बनाएको उनले बताए । उनको परिवारले पनि अढाई बिघा जमिन अँधिया बनाएको छ । जंगका तीन छोरा छन् । उनीहरू तीनै जना घर बनाउने मिस्त्री काम गर्छन् । जेठो छोरा सोनु १२ वर्षदेखि घर चिन्ने मिस्त्रीको काम गरिरहेको छ । उनीसँगै मजदुरी गर्ने माइलो मोहन र कान्छो राजेश पनि अहिले मिस्त्री भइसकेका छन् । तिनै भाइ बिहान सँगै घरबाट निस्कन्छन् । दिउसो खाना खान पनि साथमै आउँछन् । उनीहरू एकै ठाउँमा काम गर्छन् । ‘अहिलेसम्म कमैया नै भएको भए यस्तो कहाँ हुन्थ्यो,’ जंगले भने ।

अहिले घर निर्माण, काठको काम, साइकल तथा मोटरसाइकल मर्मत र मजदुरीलगायतका काममा मुक्त कमैयाकै बाहुल्य छ । महेन्द्रनगर तथा आसपासका क्षेत्रमा विकास निर्माणका काममा पनि यही समुदायका कामदार छन् । ‘सीप भए काम खोज्दै बाहिर जानुपर्ने अवस्था छैन,’ कमैया मुक्तिपछि मिस्त्री काम सिकेका सोनु चौधरी भन्छन्, ‘गाउँमै काम जति पनि पाइन्छ ।’
'
सामादैजीमा करिब २२ परिवार मुक्त कमैयाको बसोबास छ । उनीहरू सबैलाई २०५७ मा ५/५ कठ्ठा जमिन दिएर पुन:स्थापना गरिएको थियो । यहाँका अधिकांश युवा मिस्त्री र मजदुरीको काम गर्छन् । उनीहरू खेतीपातीका बेला घरको काम र अरू बेला मजदुरी गर्छन् । प्राय:जसो परिवारले अँधिया पनि बनाएका छन् । अधिकांशको जमिन चौधरी नदीसँग जोडिएको छ । नदीले जमिन कटान गर्न थालेको उनीहरू बताउँछन् । रोकथामका लागि तटबन्ध निर्माण गरिदिन उनीहरूले सरोकारवालासँग माग गरेका ।

अहिले पनि कतिपय ठाउँमा पुन:स्थापनाका नाममा नदी किनार र जंगल छेउमा बसाइएका परिवार भने समस्यामा छन् । नदीले बर्सेनि जमिन कटान गर्दै जाँदा पुन: विस्थापित हुने अवस्था आएको उनीहरू बताउँछन् । जंगल छेउमा वन्यजन्तुले बाली भित्र्याउने गाह्रो छ । भूमिसुधार कार्यालयले हालसम्म बाढीपीडित तथा नदी कटानले विस्थापित नभएका ३ सय ५१ परिवारलाई डेढ लाख बराबरको जमिन खरिद गरेर फेरि पुन:स्थापना गरिएको जनाएको छ ।

भूमिसुधार कार्यालय कञ्चनपुरले पुन:स्थापनासँगै सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । अहिले अधिकांश मुक्त कमैया परिवारका युवा केही न केही पेसा व्यवसायमा लागेका छन् । हालसम्म ३ हजार १ सय जनालाई विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गरिएको कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा ४ हजार ५ सय ५ परिवार मुक्त कमैया रहेको भूमिसुधार कार्यालयले जनाएको छ । उनीहरू सबैलाई पुन:स्थापना गर्ने काम २०६६ पुसभित्रै भइसकेको भूमसिुधार अधिकृत धर्मानन्द भट्टले बताए । ‘अहिले काठ दिन छुटेकालाई ३५ क्युफिट काठ वा १ लाख रुपैयाँ दिने गरेका छौं,’ उनले भने, ‘३ हजारभन्दा बढीले काठ तथा रकम पाउन बांँकी छ ।’

प्रकाशित : श्रावण २, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?