कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोबाट विस्थापित परिवार

मनोज बडू

दार्चुला — बाढीपहिरोका कारण नौगाड गाउँपालिकाका ५३ घरपरिवार विस्थापित भएका छन् । असार २७ गते राति परेको लगातारको वर्षाका कारण नौगाडका सबै वडाका ५३ घरपरिवार विस्थापित भएको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोबाट विस्थापित केही परिवार आफन्तकहाँ आश्रय लिई बसेका छन् ।

बाढीपहिरोबाट विस्थापित परिवार

केही परिवार विद्यालय र सडकमा त्रिपाल टाँगेर बसेका नौगाड गाउँपालिका कार्यालयले जनाएको छ । नौगाड तथा होपरीगाड खोलामा आएको बाढीका कारण विभिन्न बस्तीहरू जोखिममा छन् ।

पहिरोका कारण आधा दर्जन घरहरूमा क्षति पुगेको छ भने केही घरहरू पुरिएको गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए । उक्त बाढी र पहिरोका कारण भौतिक संरचनाहरू क्षति भएको थियो । नौगाड गाउँपालिकाको धुलिगडा, सौकेबगड, होपरीगाड, सुण्डुमुण्डु इयरकोट तथा होपरी लगायतका बस्तीहरू बाढीपहिरोले क्षति गरेको उनको भनाइ छ ।

बाढीपहिरोले नौगाड गाउँपालिकाको नागुमा एक पानीघट्ट, तीन काठेपुल, खानेपानीका ट्यांकी र ५ सय मिटर खानेपानीको पाइप बगाएको इयरकोटका स्थानीय जनकराज भट्टले बताए । खानेपानी ट्यांकी र पाइप बगाउँदा उक्त बस्तीमा खानेपानीको अभाव देखिएको छ । बाढीले गाउँपालिकाका विभिन्न खोलामा लगाइएका पुलहरू बगाउँदा स्थानीयको आवतजावतमा समस्या आएको छ । होपरी, गोधानी, खार र गगने खोलामा निर्माण गरिएका ४ आरसीसी पुल उक्त बाढीले बगाएको हो । उक्त क्षेत्रमा निर्माण गरिएका पुलहरू बगाएपछि आउजाउ गर्न समस्या भएको स्थानीयको भनाइ छ ।

‘बस्ती जोड्न र नदी तर्न निर्माण गरिएका पुलहरू बाढीले बगाएपछि विद्यार्थीहरू स्कुल जानबाट वञ्चित छन्,’ खारका स्थानीय गोविन्द ठगुन्नाले भने, ‘बाढीका कारण यहाका केही विद्यालय बन्द गएका छन् ।’ त्यस्तै देथला–खार–दल्लेक सडक अन्तर्गत विभिन्न क्षेत्रमा पहिरो खस्दा यहाँका धेरै बस्ती जोड्ने पुलहरू नै बगाउँदा स्थानीयले ठूलो सास्ती खेप्नुपरेको छ । योसँगै सदरमुकाम खलंगा आउने बाटो अवरुद्ध हुँदा झन् समस्या भोग्नुपरेको ठगुन्नाको भनाइ छ ।

त्यस्तै देथला, खार दल्लेख सडकखण्डमा पहिरो खस्दा एक बस्तीबाट अर्को बस्तीमा जाने बाटो अवरुद्ध हुँदा उद्धार गर्न समस्या भएको प्रहरीले जनाएको थियो । निर्माणाधीन सडकका कारण १५ घरपरिवार जोखिममा परेका छन् । चालु आवमा निर्माणाधीन दल्लेख–सुण्डमुण्डु सडकखण्ड छेउका घरहरूमा पहिरोको जोखिममा परेका छन् ।

त्यसैगरी सोमबार राति अपीहिमाल गाउँपालिका ४ का खत्तोली, गैरी र वडा नं. ६ का धङकङ, ककनाडी र चौकीबगड बस्ती निर्माणाधीन पारिबगड–खण्डेश्वरी सडक भत्किँदा तल्लो बस्ती जोखिममा रहेको प्रहरीले जनाएको छ । भत्केको सडकले स्थानीय दानसिह कार्कीका दुई र बस्तीका करिब एक दर्जन घरहरू उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।

बाढीपहिरोबाट पीडित घरपरिवारलाई गाउँपालिकाले त्रिपाल, कम्बललगायत दैनिक उपभोग्य सामग्रीहरू वितरण गरिरहेको अध्यक्ष धामीले बताए । जिन्सी र खाद्य सामग्रीहरू वडा–वडामा गएर वितरण गरिरहेको उनको भनाइ छ । ६ नं. बाहेक अन्य सबै वडाहरूमा राहत वितरण गरिसकेको र ६ नं. मा चाँडै वितरण गरिने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?