कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अटो व्यवसायी आन्दोलित

कञ्चनपुर — महेन्द्रनगरमा तीनपांग्रे अटो चलाउने व्यवसायीहरूले पटके कर वृद्धि गरेको भन्दै आन्दोलन गरे । उनीहरूले दोहोरो र कर वृद्धि भएको भन्दै गत साता आन्दोलन गरेका हुन् । व्यवसायीहरूले अटो सेवा बन्दसँगै बिहीबार आधा दिन यातायात सेवा पनि बन्द गराए ।

अटो व्यवसायी आन्दोलित

भीमदत्त नगरपालिकाले भने अटो व्यवसायीहरूले भनेअनुसार कर नबढेको दाबी गरेको छ । गत वर्ष पटके करका रूपमा महेन्द्रनगर–झोलुंगे रुटमा प्रतिट्रिपको भ्याटबाहेक १५ रुपैयाँ तोकिएको थियो । यो वर्ष ५ रुपैयाँ बढेर पटके कर २० निर्धारण गरिएको छ । तर, व्यवसायीहरू भने यसरी एकै दिनमा सय/डेढ सय कर तिर्नुपर्ने भएकाले दिनमा एक पटक कर लिने व्यवस्था हुनुपर्ने बताउँछन् । व्यवसायीहरू गत वर्ष एकमुष्ठ रूपमा वार्षिक १५ सय तिरेको बताउँदै आएका छन् ।

‘हामीले कर तिर्दैनौं भनेका होइनौं, पटके कर खारेज गरेर एक पटक लिनुपर्ने माग राखेका हौं,’ कञ्चनपुर अटो व्यवसायी समितिका उपाध्यक्ष सन्तोष पोखरेलले भने, ‘पटके कर तिर्दा वर्षमा एउटै अटोचालकले ६०/६५ हजार तिर्नुपर्छ ।’ उनले सानोतिनो लगानी गरेर व्यवसाय गरिरहेकाहरूलाई यसले निकै मर्का पर्ने भन्दै दिनमा एकपटक मात्र कर तिर्नुपर्ने व्यवस्था मिलाउन आग्रह गरे । तर, नगरपालिकाले भने पटके कर एकमुष्ठ रूपमा लिन नपाउने बताउँदै आएको छ ।

यसैगरी, एकीकृत सम्पत्ति कर, घटना दर्ता, व्यवसाय दर्ता तथा नवीकरण र सिफारिसलगायतमा व्यापक कर वृद्धि गरिएको विषयमा पनि सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा चर्चा भइरहेको छ । स्थानीय तहदेखि, प्रदेश र संघीय सरकारले समेत दोहोरो तेहोरो कर लिएको विषयमा समेत व्यापक आलोचना भएको छ ।

कञ्चनपुरका केही स्थानीय तहले एकीकृत सम्पत्ति करमा भने वैज्ञानिक तरिका अपनाएका छन् । विगतमा निश्चित सीमा निर्धारण गरेर कर संकलन हुँदै आएकोमा अहिले प्रतिहजारका आधारमा कर तोकिएको छ । सबैभन्दा कम वेदकोट नगरपालिकाले प्रतिहजारमा १२ पैसा निर्धारण गरेको छ । भीमदत्तले प्रतिहजारमा १५ पैसा निर्धारण गरेको छ । कतिपय स्थानीय तहले यसै वर्षदेखि एकीकृत सम्पत्ति कर संकलन गर्न थालेका हुन् ।

‘हामीले खासै कर वृद्धि गरेका छैनौं, यो वास्तविकता नबुझी हल्लै हल्लाको भरमा विरोध भइरहेको हो, कुन शीर्षकमा कति कर छ र कति बढेको हो भनेर बुझ्न कोही पनि आउँदैनन्,’ भीमदत्त नगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकृत केशव भट्टले भने, ‘केही शीर्षकमा कर यथावत् राखिएको छ, केहीमा थोरै प्रतिशत बढेको छ ।’ उनका अनुसार नाता प्रमाणित गत वर्षको भन्दा ५५ रुपैयाँ घटेको छ । यसैगरी घटना दर्ता पनि ३५ दिन नाघेपछि गत वर्षकै यथावत् ५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस वर्ष नाता प्रमाणित सर्जमिन मुचुल्कासहितमा २ सय ५० निर्धारण गरिएको छ । यसैगरी नागरिकता सिफारिसमा १० रुपैयाँ वृद्धि गरेर ७०, प्रतिलिपि सिफारिसको गत वर्षकै १ सय, चारकिल्ला प्रमाणित गत वर्षकै ८ सय यथावत् राखिएको आलेप अधिकृत भट्टले बताए । व्यवसाय दर्ता तथा नवीकरणमा सामान्य हेरफेर भएको उनले जानकारी दिए । ठेला र फुटपाथमा व्यवसाय गर्नेमा पनि ५/१० रुपैयाँ घटबढ भएको छ । बहाल कर २ प्रतिशत घटेको छ ।

प्रकाशित : श्रावण ७, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?