कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीले तटबन्ध बगायो

भवानी भट्ट

कञ्चनपुर — महाकालीको बाढीले भीमदत्त नगरपालिका–११, महाकाली टोलमा तटबन्ध कटान गरेको छ । उक्त क्षेत्रमा ३/४ दिनदेखि नै तटबन्ध कटान भइरहे पनि बिहीबारको बाढीले २५/३० मिटर कटानसहित केही जालीसमेत बगाएको छ ।

महाकालीले तटबन्ध बगायो

बाढीले बिहीबार राति र शुक्रबार बिहान तटबन्धमा धेरै क्षति पुर्‍याएको स्थानीयको भनाइ छ । तटबन्ध कटानसँगै बाढी बस्तीमा पस्ने हो कि भन्ने चिन्ताले स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । यसअघि असार तेस्रो साता भीमदत्त नगरपालिका–१२, ओदालीमा पनि बाढीले तटबन्धको एउटा स्पर बगाएको थियो ।

भारतीय पक्षले बिहीबार धार्चुलामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा बाढी आएको हो । बाढीका कारण वनबसा पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बिहीबार साँझ महाकालीमा पानीको बहाव १ लाख ४० हजार क्युसेक पुगेको थियो । बहाव कम भएपछि शुक्रबार बिहान मात्रै पुलमा चारपांग्रे सवारीसाधन चल्न थालेका हुन् । पुल जीर्ण भएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाउने गर्छ ।

जनताको तटबन्ध कार्यालयका अनुसार उक्त तटबन्ध ४ वर्षअघि बनेको हो । पुरानो भएकाले गत वर्षदेखि मर्मतको काम चलिरहेको थियो । ‘तटबन्धसँगै रिबेटमेन्टका ४/५ जाली पनि बगाएको छ,’ जनताको तटबन्ध कार्यालयका इन्जिनियर महादेव विष्टले भने, ‘हामीले ठेकेदारलाई मर्मत गर्न भनिसकेका छौं, त्यहीअनुसार जालीमा ढुंगा भरेर कटान क्षेत्रमा राख्ने काम भइरहेको छ ।’ इन्जिनियर विष्टका अनुसार तटबन्ध पुरानो हुनुका साथै महाकाली बहाव एकैतर्फ भएका कारण कटान भएको हो ।

बाढी कम हुनेबित्तिकै मर्मतको काम थाल्ने उनले बताए । उक्त क्षेत्रमा जाली र ढुंगाहरू तयारी अवस्थामा राखिएको जनताको तटबन्ध कार्यालयले जनाएको छ । महाकालीमा यस वर्ष ३ ठाउँमा जोखिम रहेको इन्जिनियर विष्टले बताए । उनका अनुसार भीमदत्त नगरपालिका ११ को जिरो प्वाइन्ट रहेको चौकीसोता, सोही वडाको महाकाली टोल र महाकाली नगरपालिका ४ को झोलुंगे पुलनजिकै बढी जोखिम छ ।

०७० मा यहींबाट तटबन्ध भत्काएर नदी बस्तीमा पसेको थियो । ‘अहिले निर्माण भएको तटबन्धले नदीको बहाव समान भयो भने ४/५ लाख क्युसेकसम्मको बहाव धान्न सक्छ,’ उनले भने, ‘तर पूरै नदीको बहाव एकैतर्फ भयो भने डेढ/दुई लाखमा पनि जोखिम हुन सक्छ ।’ नदीको बीचमा अग्लो र दुवै किनारतर्फ गहिरो भएका कारण पनि तटबन्ध कटान हुने जोखिम रहेको प्राविधिकहरू बताउँछन् ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?