कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो देउडा

महेन्द्रनगरमा रामलीलाको तयारी
कान्तिपुर संवाददाता

कञ्चनपुर — गौरापर्व प्रदेश ७ मा मनाइने मुख्य चाड हो । गौरा नजिकिँदै गर्दा गाउँघरमा चहलपहल पनि बढ्न थालेको छ । यस पर्वमा खेलिने मुख्य खेल डेउडा सुरु भइसकेको छ । खेतीपाती गरेर फुर्सदिला भएका किसान यतिबेला डेउडामै थकान मार्न थालेका छन् ।

सुरु भयो देउडा

डेउडासँगै अन्य खेल पनि हुन थालेका छन् । गौरा पर्वबाट सुरु हुने डेउडा करिब एक महिनासम्म चल्छ । यसमा दु:खसुखका कथासँगै ख्यालठट्टा पनि गरिन्छ । राजनीतिका कुरादेखि घर व्यवहारका कुरासम्म डेउडाबाटै गरिन्छ । ‘अब गाउँमा डेउडाको रौनक सुरु हुन थालेको छ,’ संस्कृति जगेर्नामा लागेको समर जंगबहादुर चन्दले भने, ‘यसले गाउँको माहोल नै बदलेको छ ।’

डेउडा सकिएलगत्तै दसैंतिहारमा रामलीलाको मौसम सुरु हुन्छ । शान्ति स्थापनापछि यतिबेला गाउँगाउँमा रामलीला सुरु हुन थालेको छ । कञ्चनपुरमा मात्रै ५ ठाउँमा बर्सेनि नियमित रामलीला लाग्न थालेको छ । सबैभन्दा ठूलो रामलीला सदरमुकाम महेन्द्रनगरमै लाग्ने गरेको छ ।

बुधबार बसेको रामलीला समिति कञ्चनपुरको बैठकले दसैंलगत्तै महेन्द्रनगरमा रामलीला सुरु गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष दान सिंह ठकुराठीका अनुसार यसपटकको रामलीला विगतको भन्दा झन् आकर्षक र उत्साहजनक हुनेछ । महेन्द्रनगरवासीसँगै सीमावर्ती भारतीय बजारबाट समेत ठूलो संख्यामा दर्शकहरू आउने उनले बताए । विगतमा पुरुष मात्रै कलाकार हुने गरे पनि गत वर्षदेखि महिला कलाकारहरू पनि समावेश हुन थालेका छन् ।

हालसम्म तीनवटा संस्करण हिन्दी भाषामै भए पनि अबको संस्करण नेपालीमा हुने अध्यक्ष ठकुराठीले बताए । ‘यसपटक हामीले काठमाडौंमा पनि रामलीला सुरु गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘त्यसकै अध्ययनका लागि एक टोली काठमाडौं जाने तयारीमा छ ।’ उनका अनुसार यहाँ सञ्चालन भइरहेको सबै रामलीलामा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग छ । पर्यटन बोर्डले उत्कृष्ट कलाकार र व्यवस्थापन देखेर देशभरि सहकार्य गरेर रामलीला आयोजना गराउन तयार रहेको प्रतिबद्धता समेत जनाएको छ ।

द्वन्द्वका समयमा सुस्ताएका रामलीला र नाटक लगायतका गतिविधिहरू सुरु हुन थालेपछि धार्मिकसँगै नैतिक ज्ञान आर्जन गर्न समेत सहज भएको छ । ग्रामीण तथा बजार क्षेत्रमा रामलीलामा दर्शकहरूको उपस्थिति निकै उत्साजनक हुने गरेको छ । ‘अब हामीले महेन्द्रनगरमा मात्र होइन, देशका अन्य ठाउँमा पनि रामलीला आयोजना गर्ने तयारी गरेका छौं,’ रामलिला समितिका सदस्य डम्बरदत्त भट्टले भने ।

प्रकाशित : श्रावण १७, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?