कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेड महिनादेखि नेटवर्क समस्या

कान्तिपुर संवाददाता

बझाङ — बझाङमा भएका मोवाइल सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या हुन थालेको छ । असारको दोस्रो साता देखी दैनिक १८ घण्टा सम्म मोबाइल र ल्यान्डलाइन सेवा अवरुद्ध हुन थालेपछि सिंगो जिल्ला नै सञ्चार सम्पर्क विच्छेद हुन थालेको हो ।

डेड महिनादेखि नेटवर्क समस्या

‘मोबाइल भएका कारण धेरै सजिलो भएको थियाे,’ तल्कोट गाउँपालिकाका उत्तमराज जोशीले भने, ‘डेढ महिना भैसक्यो कुनै दिन पनि ५/६ घण्टा भन्दा बढी नेटवर्कले काम गरेको छैन ।’ साँझ ६ बजेपछि नियमितजसो नेटवर्क अवरुद्ध हुने भएकाले रातको समयमा आपतविपतको बेला खबर गर्न पनि समस्या हुने गरेको उनले बताए । नेटवर्कले नियमित काम नगर्दा इन्टरनेट सेवा पनि अवरुद्ध हुने गरेको छ ।

यसको सबैभन्दा बढी असर बैंक र कार्यालयहरूमा हुने गरेको सेवाग्राहीहरू बताउँछन् । ४ दिन हिँडेर चेक साट्नका लागि सदरमुकाम पुगेका साइपाल गाउँपालिकाका मानबहादुर बोहराले भने, ‘दुई दिन भइसक्यो, बैंकमा नेट नभएकाले चेक साटिँदैन भनेर फर्काउँछन् । ३० हजारको चेक साट्न कति दिन कुर्नुपर्ने हो ?’ उनले ३० हजारको चेक साट्ने काम समयमा नहुँदा आधा जति रकम होटलबासमै खर्च भएको बताए ।

इन्टरनेट सेवा नियमित नभएका कारण कार्यालयका चिठीपत्र आदानप्रदान गर्न पनि समस्या भइरहेको एक संस्थाका कर्मचारी लोकेन्द्र गिरीले बताए । धेरै जसो नेटवर्क नै नहुने र इन्टरनेट चलेको बेलामा पनि सुस्त गतिमा चल्ने गरेको बताउँदै उनले भने, ‘चलेको बेला पनि एकदम स्लो हुन्छ । सारा काम अस्तव्यस्त भएको छ ।’

यता नेपाल टेलिकमको बझाङ शाखाका प्रमुख शिवकुमार केसीले घाम नलागेका कारण टेलिफोन सेवा दैनिक जसो अवरुद्ध हुने गरेको बताए । खप्तड छान्ना गाउँपालिकाको बातालेक स्थित रिपिटर स्टेसन पूर्ण रूपमा सौर्य ऊर्जामा निर्भर रहेको बताउँदै उनले भने, ‘बर्खा लागेपछि घाम लाग्दैन । रिपिटर स्टेसन नचलेपछि सबै तिरको सिस्टम डाउन हुन्छ ।’

प्रकाशित : श्रावण २४, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?