भीमदत्त संग्रहालय बन्दै

सरकारले पहिलो पटक विकास बजेट छुट्याएर सहिद पन्तको नामबाट संग्रहालय र आदर्श ग्राम निर्माण सुरु गरेको हो ।
डीआर पन्त

डडेलधुरा — सहिद भीमदत्त पन्तका नामबाट उनको जन्मस्थल अमरगढी नगरपालिकाको कारीगाउँमा संग्रहालय र आदर्श बस्ती निर्माण कार्य सुरु गरिएको छ । सरकारले पहिलो पटक विकास बजेट छुट्याएर सहिद पन्तको नामबाट संग्रहालय र आदर्श ग्राम निर्माण सुरु गरेको हो ।

भीमदत्त संग्रहालय बन्दै

पन्तले सात दशकअघि सुदूरपश्चिमबाट किसान, दलित र गरिबका पक्षमा सशस्त्र क्रान्ति सुरु गरेका थिए ।

यसअघि भीमदत्त प्रतिष्ठानमार्फत खर्च हुने गरी सरकारले बजेट विनियोजन गर्दै आएको थियो । अहिले अमरगढी नगरपालिका र प्रदेश सरकारको साझेदारीमा संग्रहालय र आदर्श बस्ती निर्माण कार्य सुरु गर्न लागिएको छ । पन्तको जन्मस्थल कारीगाउँमा १६ कोठे भवन भाडामा लिएर काम सुरु गरिएको छ । निर्माणको सबै रेखदेख र जिम्मेवारी अमरगढी नगरपालिकाले लिने गरी प्रदेश सरकारले उक्त योजनामा बजेट छुट्याएको छ ।

‘उनको जन्मस्थल अमरगढी कारीगाउँमा संग्रहालय र आदर्श बस्ती निर्माण कार्य सुरु गरिएको हो,’ अमगरगढी नगरपालिका प्रमुख विश्वेश्वर ओझाले भने, ‘संग्रहालय निर्माणको प्रारम्भिक काम सुरु भइसकेको छ ।’ सहिद पन्तको घरलाई नै संग्रहालयमा परिणत गर्न आवश्यक पूर्वाधार र गुरुयोजना निर्माणका लागि विज्ञहरूको टोलीलाई जिम्मा दिइएको प्रमुख ओझाले जानकारी दिए । उनले भने, ‘संग्रहालयसँगै आदर्श बस्ती निर्माण कार्य पनि सुरु भएको छ ।’

दुवै योजनाको विस्तृत अध्ययनपछि प्रदेश सरकार र अमगरगढी नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने जानकारी ओझाले दिए । विज्ञहरूको अध्ययनपछि मात्र ठूलो बजेट विनियोजन गरेर निर्माण कार्य सुरु गर्ने प्रमुख ओझाले बताए । संग्रहालय निर्माणका लागि प्रदेश सरकारले १५ लाख र अमरगढी नगरपालिकाले ८ लाख खर्च गर्ने भएका छन् ।

संग्रहालयमा ७ सालको क्रान्ति, भीमदत्त पन्तले गरेको किसान आन्दोलन, नुन आन्दोलन र जातीय छुवाछूत विरुद्धको आन्दोलनमा प्रयोग भएका सामग्री र जानकारी राखिनेछ । उनले कञ्चनपुरको बेलौरी र ब्रह्मदेवमा गरेको सशस्त्र आन्दोलनमा प्रयोग भएका हतियारको पनि खोजी गरी संग्रहालयमा ल्याउन आवश्यक अनुसन्धान गरिने भएको छ ।

उनको हत्या भएको स्थल डडेलधुरा र डोटी सिमानाको गलेकमा रहेका भीमदत्त पन्तसँग सम्बन्धित वस्तु पनि संग्रह गरिने जानकारी अमरगढी नगरपालिकाले दिएको छ । ‘यो ठूलो परियोजना हो,’ अमरगढी नगरपालिका प्रमुख ओझाले भने, ‘तत्काल नगरपालिकाले विस्तृत अध्ययन गरी संग्रहालय र आदर्श बस्ती निर्माणका लागि स्रोत जुटाउनेछ ।’ डडेलधुरा सदरमुकामसँगै जोडिएको सहिद भीमदत्त पन्तको जन्मस्थल कारिगाउँमा संग्रहालयसँगै होमस्टे पनि सुरु गरिने भएको छ ।

होमस्टे निर्माणका लागि अमरगढी नगरपालिकाले स्थानीय बासिन्दासँग आवश्यक परामर्श सुरु गरिसकेको छ । नगरपालिकाले नै सञ्चालन गर्ने गरी होमस्टे सुरु हुने जानकारी अमरगढी नगरपालिकाले दिएको छ । सुरुमा स्थानीयका घर भाडामा लिएर होमस्टे सुरु गर्न लागिएको बताउँदै ओझाले भने, ‘मापदण्ड अनुसार स्थानीयले पनि होमस्टे सञ्चालन गर्न सक्नेछन् ।’

सहिद भीमदत्त पन्तले क्रान्ति सुरु गरेको ६० वर्षपछि नेपाल सरकारले उनलाई ७ वर्षअघि सहिद घोषणा गरेको थियो । राजा, राणा र कांग्रेसबीच भएको दिल्ली सम्झौताले जनताको हात सदैव तल परेको बताउँदै उनले ७ सालको क्रान्तिपछि सामाजिक क्रान्ति सुरु गरेका थिए ।

भीमदत्त संग्रहालयले जिल्लाको पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास स्थानीय व्यवसायीहरूले गरेका छन् । प्रचार–प्रसारको अभावमा नेपाल एकीकरणको ऐतिहासिक किल्ला ओझेलमा परेको बताउँदै स्थानीय व्यावसायीहरूले भीमदत्त संग्रहालय, अमरगढी किल्ला, घटाल बाबा क्षेत्र, उग्रतारा दर्शन र प्राचीन डोटी राज्यको राजधानी अजयमेरु कोटलाई जोडेर एकीकृत विकास गर्न नगरपालिकासँग माग गरेका छन् ।

भीमदत्त संग्रहालय तथा आदर्श बस्तीसँग जिल्लाका प्रमुख पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई जोडेर एकीकृत विकास गर्न सके जिल्लाको विकासमा महत्त्वपूर्ण उपलब्धि हुन सक्छ’ डडेलधुराका अगुवा पर्यटन व्यवसायी दानबहादुर भण्डारीले भने, ‘नगरपालिकाले सुरु गरेको कार्यले जिल्लाको पर्यटन विकासको ढोका खुल्नेछ ।’

प्रकाशित : श्रावण २४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?