कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी फार्मेसीको रकम हिनामिना

रकम अनियमितता भएको हल्लाखल्लापछि फार्मेसीका दुवै कर्मचारी स्वयंले जागिर छोडे ।
वसन्तप्रताप सिंह

बझाङ — जिल्ला अस्पतालले सर्वसाधारणलाई सस्तो मूल्यमा औषधी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको फार्मेसीमा रकम हिनामिना भएको छ । हिनामिनापछि एक महिनादेखि फार्मेसी बन्द छ ।

सरकारी फार्मेसीको रकम हिनामिना

जिल्ला अस्पतालले सञ्चालन गरेको फार्मेसीमा ३ लाख हिनामिना भएको हुँदा छानविन गर्न फार्मेसी बन्द भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अनुप रेग्मीले बताएका छन् ।

अनियमितता छानबिन गर्न हेल्थ असिस्टेन्ट दीपकबहादुर ऐडीको संयोकत्वमा दुई सदस्यीय छानबिन टोली गठन गरिएको थियो । टोलीले फार्मेसीको ३ लाख हिनामिना भएको प्रतिवेदन अस्पताल विकास समितिलाई बुझाएको छ ।

फार्मेसीको रकम हिनामिना गर्नेमा फार्मेसीका कर्मचारी विकास भण्डारी र धर्मराज जप्रेल रहेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिको प्रतिवेदनले दोषी औंल्याएका कर्मचारीलाई रकम तिर्नका लागि पत्राचार गरेपछि धर्मराजले केही रकम फिर्ता बुझाएको डा. रेग्मीले बताए ।

औषधि बिक्री गरेको रकम फार्मेसीका कर्मचारीले तोकिएको बैंकमा जम्मा नगरी आफैं खर्च गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । औषधि सकिँदै गएको तर रकम अभावका कारण नयाँ औषधि खरिद गर्न नसक्दा फार्मेसी नै बन्द भएपछि अनियमितता भएको सार्वजनिक भएको हो ।

फार्मेसीमा औषधि बिक्रीबाट प्राप्त भएको रकम सदरमुकाम चैनपुरमा रहेको सिटिजन बैंकमा जम्मा गर्नुपर्ने समितिको र्निणय भए पनि लामो समय औषधि बिक्रीको रकम खातामा जम्मा भएको थिएन । फार्मेसीमा रकम अनियमितता भएको हल्लाखल्लापछि फार्मेसीका दुवै कर्मचारी स्वयंले जागिर छोडेका छन् । उनीहरूले छोडे पनि अन्य कर्मचारी भर्नाको प्रक्रिया अगाडि बढाइएको र केही दिनभित्र फार्मेसी सञ्चालनमा आउने डाक्टर रेग्मीले बताए । ‘नयाँ कर्मचारी भर्नाको लागि विज्ञापन गर्ने काम भइसकेको छ,’ रेग्मीले भने, ‘केही दिनभित्र फार्मेसी सञ्चालन गर्छौं ।’

जिल्ला अस्पतालभित्रै रहेको सुपथ मूल्यको फार्मेसी बन्द भएपछि बिरामीहरू निजी मेडिकलबाट महँगोमा औषधि किन्न बाध्य भएका छन् । सरकारले ५ लाख बीउपुँजीबापत उपलब्ध गराएपछि ०७३ सालमा जिल्ला अस्पतालको फार्मेसी सञ्चालनमा आएको थियो । सुपथ मूल्य भनिए पनि व्यक्तिको मुख हेरेर तोकिएको भन्दा कैयौं गुणा बढी मूल्य असुल्ने गरेको सेवाग्राहीको गुनासो छ । मेडिकलहरूको नियमित अनुगमन र नियमन नहँुदा तोकिएकोभन्दा बढी मूल्य लिने र प्रतिबन्धित औषधिको समेत व्यापार गर्ने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरू नै बताउँछन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?