कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झोताबजारमा पहिरो

पहिरोले विद्युत्को नहर र ५० रोपनी जग्गा बगायो
२० भन्दा बढी घर पनि पहिरोको जोखिममा
वैशाखयता बाढी र पहिरोमा १७ को मृत्यु
वसन्तप्रताप सिंह

बझाङ — सदरमुकाम चैनपुर पछिको दोस्रो ठूलो व्यापारिक केन्द्र केदारस्युँ गाउँपालिकाको झोताबजारमा पहिरो खसेको छ । पहिरोले विद्युत्को नहर बगाएको छ । ५० रोपनी जमिन र त्यसमा लगाएको धानबाली पुरिएको छ । आसपासका २० भन्दा बढी घर पनि पहिरोको जोखिममा परेका छन् ।

झोताबजारमा पहिरो

लगातारको वर्षापछि बुधबार साँझ झोता रकैल सडकको मुनिबाट पहिरो खसेको थियो । पहिरोले जुइलगाड लघुजलविद्युत् आयोजनाको करिब ३५ मिटरजति पक्की नहर बगाएपछि विद्युत् सेवा बन्द भएको छ । विद्युत् बन्द हुँदा यहाँका करिब ३ सय परिवार मर्कामा परेका छन् ।

यस्तै वर्षापछि गएको पहिरोले स्थानीय ईश्वर पार्की र चेतराज मिश्रको परिवार विस्थापित भएको छ । पहिरोले बगाएर ल्याएको लेदोले घर पुरिन थालेपछि उनीहरू विस्थापित भएका हुन् । पहिरो निरन्तर खसिरहेका कारण आसपासका अन्य २० घरमा पनि जोखिम बढेको स्थानीय कविराज धामीले बताए ।

पहिरोले ५० रोपनीभन्दा बढी जमिन र त्यसमा लगाएको धानबाली पुरेको छ । कतिपयको सम्पूर्ण जग्गा र धानबाली पुरिएको र अझै पहिरो बग्ने क्रम जारी रहेको स्थानीय कृष्ण विष्टले बताए । ‘भएभरको सबै जग्गा पहिरोले लग्यो,’ उनले भने, ‘घर पनि जोखिममा परेको छ ।’ पहिरोले अझै क्षति गर्ने सम्भावना भएकाले आसपासका घरका मानिस राति सुत्न नसकेको उनले बताए ।

जयपृथ्वी राजमार्गमा पर्ने झोताबजार थलारा, दुर्गाथली र केदारस्युँ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र हो । कृषि सेवा केन्द्र, मालपोत, प्रहरीचौकीलगायत सरकारी कार्यालयसमेत रहेको यस क्षेत्रमा पछिल्लो समय विभिन्न ठाउँबाट बसाइँसराइ गर्ने क्रम तीव्र भएको थियो ।

१७ ले ज्यान गुमाए
वैशाखयता बझाङमा बाढी र पहिरोमा परेर १७ जनाले ज्यान गुमाएका छन् । यस्तै बाढीपहिरोमा परेर १ जना हालसम्म पनि बेपत्ता रहेको र ४ जना घाइते भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै, बाढीपहिरोमा परी १ सय ३५ वटा घर भत्किएका छन् । घर भत्किएपछि घरका परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार ४ महिनाको अवधिमा ३२ वटा पशुवस्तु मरेको र १९ वटा गाईगोठ भत्किएका छन् ।

वर्षा हुने क्रम जारी रहेकाले क्षतिको विवरण आउने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताए । यो वर्ष बाढीपहिरोका कारणले गत वर्षभन्दा बढी मानवीय र भौतिक क्षति भएको बताउँदै उनले वर्खा बाँकी नै भएकाले यस्ता प्रकोपबाट बच्नका लागि सचेत रहन आग्रह गरे ।

यता जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार ४ महिनाको अवधिमा ३ हजारभन्दा बढी रोपनी जमिन र त्यसमा लगाइएको बालीनालीमा क्षति पुगेको छ । अव्यवथित तवरले निर्माण गरिएका सडकबाट खसेको पहिरोले क्षति पुर्‍याएको छ ।

बाढी र पहिरोले यहाँका खानेपानी, सिँचाइ, विद्युत्लगायत संरचनामा पनि क्षति भएको छ । यद्यपि जिल्लाभर कति क्षति भयो भन्ने यकिन विवरण संकलनकै क्रममा रहेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : भाद्र १, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?